• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

मृत्यु भइसकेका व्यक्तिविरुद्ध मुद्दा !


मृत्यु भइसकेका व्यक्तिविरुद्ध मुद्दा !

बैशाख १०,२०७८

मृत्यु भइसकेका व्यक्तिविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोग दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले फाकफोकथुम गाउँपालिका–४ का मृतक -४३ वर्षे गणेशकुमार बलम्पाकी मगरविरुद्ध अभियोग दर्ता गरेको हो ।

मगरले स्थानीय १३ वर्षीया बालिकामाथि गत फागुन १३ गते जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । त्यस दिन बिहानको समयमा आफ्नै घरमा एक्लै रहेकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोप मगरमाथि छ । जबर्जस्ती करणी गरेकै विषयलाई लिएर बालिकाका आफन्तले आरोपी मगरलाई गत फागुन १९ मा कुटपिट गरेका थिए । कुटपिटपछि घाइते मगरको चैत १२ मा घरमै शव भेटिएको प्रहरीले जनाएको छ ।

मृत्यु भइसकेका मगरविरुद्ध सरकारी वकिल कार्यालयले अदालतमा अभियोग दर्ता गराएको जिल्ला न्यायाधीवक्ता युवराज महतले बताए । ‘अभियोग लागेको प्रतिवादीको मृत्यु भइसकेपनि निजको जायजेथाबाट जरिमाना र क्षतिपूर्त माग गरिएको छ,’ न्यायाधीवक्ता महतले भने, ‘गम्भीर अपराधमा कानुनले मृत्युपछि पनि छाड्दैन भन्ने प्रमाण हो यो ।’ ‘अपराधीको मृत्युसँगै अपराध मर्छ’ भन्ने कानुनी सिद्धान्त रहेपनि कसुरदारको जायजेथाबाट जरिमाना र क्षतिपूर्तिको मागदाबी गर्न सकिने अवस्था यो अभियोगपत्रले देखाएको छ ।

१३ वर्षीयामाथि जबर्जस्ती करणी भएको उल्लेख गर्दै अभियोगपत्रमा मुलुकी अपराध संहिता–२०७४ को व्यवस्थाअनुसार प्रतिवादी मगरको जायजेथाबाट ६ लाख रुपैयाँ जरिमाना भराइपाउन मागदाबी गरिएको छ । कसुरदारबाट पीडितलाई मनासिव क्षतिपूर्ति उपलब्ध गराउन र पीडित राहत कोषमा रकम जम्मा गराइपाउन पनि अभियोगमा मागदाबी गरिएको न्यायाधीवक्ता महतले बताए । ‘प्रतिवादीको मृत्यु भइसकेकाले उसलाई हुनुपर्ने कैद सजाय माग गरिएको छैन,’ उनले भने, ‘प्रतिवादीको जायजेथाबाट जरिमाना र क्षतिपूर्ति मागिएको छ ।’

जबर्जस्ती करणीका आरोपी मगरमाथि बालिकाका आफन्तहरू ६७ वर्षे गञ्जबहादुर राना, ३२ वर्षे मनिकुमार रानामगर र ५५ वर्षे पूर्णबहादुर रानामगरले हातपात गरेको आरोप छ । उनीहरूले फागुन १९ मा स्थानीय रामबहादुर रानामगरको घरको आँगनमा गणेशलाई कुटपिट गरेको भन्दै गणेशकी दिदी तारा मगरले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले कुटपिटका आरोपी तीनैजनालाई पक्राउ गरिसकेको छ ।

पक्राउमध्ये पूर्णबहादुर चाहिँ छुटेको जिल्ला प्रहरी प्रमुख एसपी नवीनराज राईले बताए । ‘कुटपिटकै कारण गणेशको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ,’ एसपी राईले भने ।नागरिकबाट

  • प्रकाशित मिति : वैशाख १०, २०७८, शुक्रवार ००:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८