• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

साहसी ओली , ५ जनासंग एक्लै भिड्दै !

  • खबरदाता

साहसी ओली , ५ जनासंग एक्लै भिड्दै !

 

सत्ता राजनीति निर्णायक मोडमा
बैशाख ८, २०७८

बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्न अहिले पाँच पूर्वप्रधानमन्त्री सामूहिक कसरतमा लागेका छन् । सत्ता राजनीतिको संघर्ष चरमोत्कर्षमा पुग्दा एकातर्फको मैदानमा ओली एक्लैजस्ता देखिन्छन् भने उनलाई चुनौती दिइरहेका छन्, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई ।

सुरुमा प्रचण्ड र माधव नेपालले पार्टीभित्रैबाट ओलीलाई चुनौती दिएका थिए । ओलीले ती दुवैलाई एकसाथ सडकमा पुर्याइदिए । र, हामी यहाँ छौँ भन्दै छातीमा टाँसेर माइतीघरको चौरमा पलेँटी कसेर बस्नुपर्यो । त्यसले नपुगेर सर्वोच्च अदालतले समेत प्रचण्ड र माधव नेपालको लगनगाँठोमा आरा चलाइदियो । अहिले प्रचण्ड उही बाजेको पुरानो पेडा पसल भन्ने शैलीमा माओवादी सञ्चालन गर्न पुगेका छन् । यसबीचमा उनले प्रतिनिधि सभाका चार सांसद गुमाइसकेका छन् भने प्रदेशमा पनि ठूलो संख्याका सभासद उनको साथ छाडेर ओलीतिर लागिसकेका छन् ।
माधव नेपाल र झलनाथ खनाल अहिले करिब निर्दलीय हैसियतमा छन् । एमालेकै ब्यानर र झण्डामुनि बसेर उनी ओलीविरुद्धका गतिविधि केन्द्रित गरिरहेका छन् । ढिलोचाँडो उनलाई प्रचण्डकै धुरीमा पुर्याउने निश्चित छ । यो कुरा माधव नेपालले भन्न संकोच मानिरहे पनि प्रचण्डलाई कुनै संकोच छैन । सार्वजनिक कार्यक्रममै धेरैपटक उनले दोहोर्याइसकेका छन् ।

बाबुराम भट्टराई पनि ओलीलाई विस्थापित गर्ने अभियानमा सक्रिय छन् । उनले स्वदेशमा मात्र होइन, विदेशमा समेत यही अभियानअन्तर्गत धेरै भेटघाट र गोप्य मन्त्रणा चलाइसकेका छन् । तर, यसको लामो समय बितिसक्दा पनि उनको प्रयासले साकार रुप लिन सकिरहेको छैन ।

यी चार बाम प्रधानमन्त्रीहरुको माझमा कांग्रेस सभापति शेरबहादुर देउवा समेत मिसिन पुगेका छन् । यद्यपि उनको दोहोरो भूमिकाका कारण विपक्षी मोर्चा ढुक्क हुन सकिरहेको छैन । देउवाकै भूमिकाप्रति सशंकित माओवादीले एमाले सरकारको समर्थन समेत फिर्ता लिन सकेको छैन ।

माओवादी एक्लैले न अविश्वासको प्रस्ताव ल्याउन सक्छ, न त अर्को घटकलाई मनाउन सक्छ । माधव नेपालसहित २७ जना उनका समर्थक सांसदहरु अबको २४ घण्टाभित्र गैरसांसद करार भइसक्नेछन् । सांसद नै नरहेपछि बहालवाला प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्रीको स्थापना गर्ने कुरा कति हैसियतअनुकूल हुन्छ, बेग्लै प्रश्न छ ।
तर, रोचक यो छ कि एउटा बहालावाला प्रधानमन्त्रीलाई हटाउन पाँच पूर्वप्रधानमन्त्री न्वारानदेखिको बल लगाएर मैदानमा उत्रिएका छन् । अबको केही घण्टाभित्र धेरै नयाँ परिदृश्य र घटनाक्रमहरु राजनीतिमा देखिनेछन् । कतिपय दृश्य स्पष्ट हुँदै पनि गएका छन् । यसकारण सत्ता संघर्ष अब निर्णायक घडीमा पुग्नै लागेको अड्कल काट्न सकिन्छ ।

  • प्रकाशित मिति : वैशाख ८, २०७८, बुधवार ०१:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८