• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

ऐन बनेको २९ बर्षपछि लागू

  • खबरदाता

ऐन बनेको २९ बर्षपछि लागू

बैशाख ७,२०७८

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको छ ।

जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स वितरण गरिने विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । ‘ऐनले नै परीक्षा पास गरेलगत्तै लाइसेन्स दिन नमिल्ने व्यवस्था गरेकोमा हालसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरिएको छैन,’ उनले भने, ‘चालकको सहजताका लागि परीक्षा पास गरेपछि यस्तो लाइसेन्स दिने व्यवस्था गर्न लागेका हौं ।’

सवारी तथा यातायात व्यवस्था ऐन, चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा उत्तीर्ण भएकालाई लाइसेन्स दिने व्यवस्था गरेको छ । परीक्षा पास गरेपछि १ वर्षसम्म परीक्षणकाल राखेर परीक्षणकालीन लाइसेन्स दिइने व्यवस्था ऐनले गरेको छ ।

ऐनको दफा ५० मा परीक्षा पास गरेका चालकलाई लाइसेन्स उपलब्ध गराउने व्यवस्था छ । ऐनको दफा ५१ मा शुरूको १ वर्ष लाइसेन्सको परीक्षण काल रहने बताइएको छ । दफा ५१ मा लेखिएको छ, ‘दफा ५० बमोजिम दिइने चालक अनुमतिपत्र शुरूमा १ वर्षका लागि परीक्षणकालमा रहने गरी दिइनेछ ।’ उक्त अवधिभित्र पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा लाइसेन्स नदिइने उल्लेख गरिएको छ ।

हालसम्म परीक्षणकालीन लाइसेन्सको व्यवस्था विभागले गर्न सकेको थिएन । विभागले २०४९ यता लाइसेन्सको परीक्षा उत्तीर्ण गर्ने चालकलाई सीधै लाइसेन्स दिने गरेको छ । विभागले २०७४ देखि कागजी लाइसेन्सको सट्टा डिजिटल स्मार्ट लाइसेन्स वितरण शुरू गरेको थियो ।

नक्कली लाइसेन्स प्रिन्ट हुनबाट रोक्न कार्डमा क्यूआर कोड राखिने भएको छ । प्रवक्ता भुसालका अनुसार परीक्षणकालीन अवधिमा पाँचपटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गरेमा ऐनअनुसार लाइसेन्स कार्डका लागि पुनः शुरूदेखि नै प्रक्रिया शुरू गर्नुपर्नेछ । उक्त अवधिमा ट्राफिक नियम उल्लंघन पाँच पटकभन्दा कम भएमा परीक्षणकालीन लाइसेन्सलाई स्थायी बनाइने जानकारी उनले दिए ।

  • प्रकाशित मिति : वैशाख ७, २०७८, मंगलवार ००:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८