• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

राष्ट्रपतिसँग कुरा भइरह्यो , उनले झोलाको चिठी सम्झिरहे…


राष्ट्रपतिसँग कुरा भइरह्यो , उनले झोलाको चिठी सम्झिरहे…

आफूले बिर्सिसकेको कुरालाई सम्झना गराइदिएकोमा राष्ट्रपतिले थापालाई धन्यवाद समेत दिइन् ।

केपी शर्मा

चितवन,बैशाख ३,२०७८ ।

कल्पना बाहिरको कुरा, विना सोचाई र अप्रत्यासित भेटघाटले उनका मनमा धेरै कुराहरु खेलिरहेका थिए । कुरा २०७७ चैत्र ३० गतेको हो । दिउँसोतिर भरतपुर महानगरपालिका १७ गाँजीपुरका हेम बहादुर थापा मगरको मोबाइल घण्टी बज्यो । उनले फोन उठाए । महिलाको स्वरमा मोबाइलमै सोधियो, तपाई हेम बहादुर थापा हो… हजुर म हेमबहादुर थापा मगर, उनले सहज उत्तर दिए ।

हेम बहादुरलाई फोन गरेकी थिइन्, राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष दिलकुमारी रावल (पार्वती)ले । हेम बहादुरलाई उनले फोनमा राष्ट्रपतिले भेट्न खोजेको कुरा बताइन् । उनी एकछिन अक्क न बक्क भए । राष्ट्रकै प्रमुख राष्ट्रपतिले एउटा सामान्य किसानलाई भेट्नुपर्ने कारणबारे उनले एकछिन चिन्तन गरे । यो फोनले उनलाई विगत २७ वर्ष अगाडिको घटनाको याद दिलायो । जुन दिन थियो २०५० सालको जेठ ४ गते ।

नारायणी किनारमा रहेको गाँजीपुरका थापाको दिनचर्या पनि माछा मार्नु शिवाय त्यो वेला के नै थियो र । माछा मार्नका लागि जल्दो वल्दो उनको टिम नै थियो । त्यसदिन नारायणी धमिलो भएर बगिरहेको थियो । उनलाई के थाहा थियो भने धमिलो पानीमा प्रसस्त माछा समेत पाइन्छ । थापा सहित सोही ठाउँका श्याम बहादुर थापा, कृष्णराज ठकुरी र टेक बहादुर आले बल्छि बोकेर नारायणी तिर हुँइकिए । माछा मार्दै जाँदा एउटा भंगालो तरेपछि उनीहरुले एउटा रुखकको जरामा अल्झिएको अवस्थामा मान्छेको शव देखे । पानीमै बग्न लाग्ने अवस्थामै रहेको शवलाई उनीहरुले ओल्टाई पोल्टाई थोरै पाखा सम्म निकाले । निकुञ्ज हेर्ने सेनाको गस्ती टोली पनि त्यहि पुग्यो र त्यो शवलाइ हेरे । थापाले विगत सम्झदै भने,“हेयया… यो त तराईमूलको मान्छेको शव हो कहाँबाट बगाएर ल्याएको खोलमै फालिदिए पनि हुन्छ । ” उनले सेनाले झण्डै शवलाई खोलामै बगाइदिएको कुरालाई पनि सम्झिए ।

साँझ नारायणीबाट फर्किएपछि घरमा आएर थापाले बुवालाई यो कुरा सुनाए । प्रायजसो रेडियोमा समाचार सुनिरहने उनका बुवाले अघिल्लो दिन अर्थात २०५० साल जेठ ३ गते दासढुँगामा भएको जीप दुर्घटना सम्झिए । जहाँ तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र अर्का नेता जीवराज आश्रीत सवार जीप त्रिशुली नदीमा खस्दा उनीहरु वेपत्ता भएको खबरले संचारमाध्यम रेडियो र टिभिीबाट सनसनी फैलिसकेको थियो ।

नभन्दै जेठ ५ गते प्रहरीले स्वर्गिय नेता भण्डारीको आफन्तको सहयोगमा उक्त शव मदन भण्डारीकै रहेको पहिचान गर्यो । केही दिन थापा लगायत चारै जनाको गाउँमा मात्रै नभई देशभरीनै चर्चै चल्यो । समयक्रम वितिरह्यो । यतिकैमा २०५२ साल असोजमा खाडी मुलूक भाषिए ।

गरिवी जसले उनलाई साउदीको गर्मिमा धकेलिदियो । गाउँमा पर्याप्त जग्गा जमिन नभएपछि परिवार पाल्न विदेशीनुको विकल्प बाहेक थापासँग अरु केही थिएन । करिव ११ बर्ष खाडी बसाई पछि उनी स्वदेश फर्किए । गाँजीपुर फर्किएका उनी त्यतिका वर्षसम्म पनि यहाँको विकास र समृद्धि नभएको देखेर दुखी भए । अन्तत उनले फेरि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्झिए ।

त्यो २७ वर्षको याद झलझली सम्झिएका उनी पार्वती रावलसँगको टेलिफोन संवाद टुग्याउँदै भोली विहानै घरबाट काठमाण्डौ हिँड्ने बताए र फोन राखे ।

अव छटपटी सुरु भयो थापालाई । भोलि राष्ट्रपतिसँग भेट होला के भन्ने? के सौध्ने ? कसरी कुरा गर्ने? के माग्ने ? यावत कुराले उनलाई राती अवेर सम्म निन्द्रा परेन । त्यही वेलामा उनले कपिमा केही कुराहरु टिपोट गरे । उनले टिपोट गरेका कुराहरुमा गाँजीपुरको समृद्धि र अहिले निर्माण भइरहेको मदनभण्डारी स्मृति पार्कलाई अझै कसरी व्यवस्थित गर्नुपर्ला लगायतका यावत कुराहरु समेटेका थिए । एउटा सानो चिठी समेत बनाएर उनी सुते ।

भोलिपल्ट चैत्र ३१ गते विहान सवेरै शव भेट्टाउने मध्येका थापा र कृष्णराज ठकुरी सहित परिवारका ५ जना जीप रिजर्भ गरी काठमाण्डौको बाटो लागे । उच्च ओहोदाका व्यक्तिले व्यक्तिगत रुपमा यसरी भेट्न बोलाएको थापाका लागि यो नै पहिलो थियो । त्यो पनि राष्ट्रपतिले । उनले यात्रामा आफूसँगैका बालसाखा टेकबहादुर आले र श्याम बहादुर थापालाई धेरै पटक सम्झिए । जो लास भेट्टाउँदा सँगै थिए । तर उनीहरु अहिले मलेसिया र साउदीमा छन् । सँगै सबै मिलेर व्यक्तिगत सहित गाँजीपुरको समग्र विकासका लागि माग गर्ने योजना उनले मनमनै बुने ।

तर दुई जना साथीहरु अझै खाडीमा भएकाले उनले आफ्नो व्यक्तिगत केही माग र समग्र गाँजीपुरको विकासका लागि राष्ट्रपतिले पहल गरिदिनुपर्ने कुराहरु लेखेको चिठी क्यामेराको सानो गोजीमा राखेका थिए ।

राष्ट्रपतिको भेटपछि खिचिएको सामुहिक तस्बिर, बायातर्फ थापा

काठमाण्डौ पुगेपछि सुरुमै सिँहदरवार पुगेर पार्वती रावलसँग उनीहरुको भेट भयो । त्यसपछि उनीहरु राष्ट्रपतिले दिएको दिउसो २ बजेको समयमा भेट्न शितल निवास पुगे । पहिला नै नाम टिपाएको हुँदा भित्र प्रवेशमा कुनै समस्या भएन तर आफूसँगै गएका नाम नटिपाएका परिवारका अन्य सदस्यहरु भने वाहिर नै पर्खिएर बस्नुपर्यो । आफूले लगेको क्यामेरा पनि भित्र लैजान नपाएपछि उनले छोरालाई त्यसको जिम्मा लगाए र आफू भित्र पसे ।

अप्रत्यासित फोनमा भेट्न जाने अवसर पाएका थापाले हतारहतारमै आफूले माग गरेको चिठि त्यहि क्यामेराको गोजीमै भुलेर गए । राष्ट्रपतिलाई भेट्न गएका धेरैमध्ये थापाको समूह पुगेको खवरले राष्ट्रपतिलाई पनि खुशी मिल्यो र उनले तत्कालनै भेट्न भित्र बोलाउन लगाइन् । दिबंगत आफ्नो श्रीमान्को लास भेट्ने व्यक्तिलाई प्रत्यक्ष भेट्न पाउनु राष्ट्रपतिका लागि पनि नसोचेको कुरा हुन सक्थ्यो । आफू राष्ट्रपति बनेपछि कुनै पनि वर्ष गाँजीपुर नआएकी उनलाई पनि यहाँको कुरा सुन्न हतारो नै थियो पक्कै । थापाका अनुसार भेट हुनासाथ राष्ट्रपतिले आफूले विर्सिराखेको कुरा याद दिलाइदिएकोमा धन्यवाद भनेकी थिइन् ।

गाँजीपुरको विकासको लागि राष्ट्रपति पनि सकारात्मक रहेको थापाको बुझाई रह्यो । उनले भेटमा गाँजीपुरको कसरी विकास गर्न सकिन्छ भनेर आफूले राखेको बताए । सोही क्रममा राष्ट्रपतिले नारायणीमा तटवन्धन लगायत पानी जहाज चलाउन पाए पर्यटनसँगै आयात निर्यातमा समेत सहयोग पुग्ने योजना सुनाएकी थिइन् ।

उनले सरकार परिवर्तनको कुरा भइरहदा विकासमा सोचे अनुसार काम गर्न नसक्ने हो की भन्ने आशंका व्यक्त गरेको पनि भेटपछिको कुरा बताउँदै थापाले भने । राष्ट्रपतिले सानो रकमले गाँजीपुरलाई ठूलो विकास गर्न नसकिने भएकाले यसको लागि ठूलो बजेट सहित ठूलै योजना ल्याउनुपर्नेमा जोड रहेको थापाले बताए । थापाका अनुसार भेटमा राष्ट्रपतिले गाँजीपुरलाई मात्रै नभइ दासढुङ्गा देखिकै विकास चाहेको र छिट्टै नै प्राविधिक सहितको टोली गाँजीपुर पठाउने आश्वासन दिइएकी थिइन् । सो टोलीमा राष्ट्रपतिसँग भेट गराउने मुख्य भूमिका खेलेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ पनि आउने भएका छन् ।

सहजै एउटा नागरिकसँग यसरी भेट गरेकोमा थापा सहित सवै जना खुशी भए र करिव पौने एक घण्टा भित्र छलफल भयो । छलफलमा गाँजीपुरको विकासवारे धेरै चर्चा भइरहदा हेमवहावदुर आफूले रातभरी लगाएर तयार पारेको चिठी जुन क्यामेरा सँगै बाहिर छोडिएको थियो । त्यसैलाई उनले वारम्वार सम्झिरहे । पत्र बाहिरै छोडिएकोमा उनलाई धेरै दुख लागेको थियो ।

सामान्य ठाउँ भएको भए वाहिर गएर चिठी ल्याउने सोच थियो उनको । राष्ट्रपतिको अगाडि धेरै कुराहरु उनले सम्झन सकेनन् । राष्ट्रपतिले आफूलाई तपाईका व्यक्तिगत मागहरु केहि छन् कि भनेर सोधेको समेत उनले सम्झिए । तर उनले पारिवारीक रुपमा कुनै मागहरु अगाडि सारेनन् । यसरी राष्ट्रपतिले सोधिरहदा उनी बारम्वार वाहिर क्यामेराको गोजीमा छोडिएको चिठी सम्झि मात्र रहे । माग पत्रमा छोरा र छोरीको उच्च शिक्षामा छात्रवृत्ति सहितको विशेष पहल,कृषिमा अनुदान र सन्तानको रोगजारीमा राष्ट्रपतिको सहयोग भइदिए हुने अपेक्षा थापाको रहेको थियो ।शव भेटेपछि उनी लगायत टिमलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । यो वाहेक अन्य कुनैपनि सहयोग नपाएको उनको भनाई थियो ।

गाँजीपुर लगायत निर्माणाधीन मदन भण्डारी स्मृति पार्कमा वेलावखत आइरहने विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि उनले एक पटक पनि सो क्षेत्रलाई स्मरण गरिएको पाइएन । उनको प्रत्यक्ष उपस्थिती नहुँदा गाँजीपुरका स्थानीय सन्तुष्ट छैनन् । पार्कमा भ्युटावर, गोल घर लगायत निर्माण भइरहदा उक्त क्षेत्रको संरक्षणका लागि नारायणी नदीमा तटवन्धन नहुँदा स्थानीयको जोड व्यस्थित बाँध र तटबन्धन गरिदिनुपर्नेमा छ ।

त्यति मात्र होइन मदन भण्डारीको पार्टीले नै सरकार वाहिर रहदा सरकारमा जानासाथ भण्डारीको मृत्युको कारण पत्ता लगाउने बताउँदै आएको थियो । तर अहिले देशमा सरकार पनि एमाले र राष्ट्रपतिमा पनि भण्डारीकै श्रीमती पुग्दा समेत भण्डारीको मृत्यु वारे रहस्यमय नै रहेको छ । जेठ ३ गते आइरहदा धेरैका मनमा मदन भण्डारीको मृत्यु कसरी भयो भन्ने प्रश्न उब्जिरहने गरेको पाइन्छ ।

  • प्रकाशित मिति : वैशाख ३, २०७८, शुक्रवार ०७:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८