• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

जसपाको मौनताभित्र ओली र देउवाको एकै दाउ


जसपाको मौनताभित्र ओली र देउवाको एकै दाउ

चैत्र २९,२०७७

नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी निर्णायक देखिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपालाई हात लिएर सत्ता हत्याउने दाउमा छन् । तर, निर्णायक शक्ति जसपाले नयाँ सरकार गठनको विषयमा निर्णय लिन सकेको छैन । प्रधानमन्त्री एवं एमालेका अध्यक्षका केपी शर्मा ओलीसँग संघन छलफलमा रहेको जसपासँग प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि छलफल गरेको छ ।

पार्टीले गरेको निर्णयअनुसार कांग्रेसले माओवादी केन्द्र र जसपासँग छलफल थालेको हो । माओवादीले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफ्नो साथ रहने जवाफ दिए पनि जसपाले अहिलेसम्म कुनै पनि जवाफ नदिएकोले देउवाको नेतृत्वमा सरकार गठनको प्रक्रिया तत्काल अगाडि नबढ्ने कांग्रेसका एक नेताले बताए । ती नेताका अनुसार सरकारको नेतृत्व गर्न जसपाको साथ अनिवार्य रहेको र जसपाले साथ नदिने बित्तिकै सरकार गठनको काम अगाडि बढ्न सक्दैन ।कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ओली सरकार विस्थापित गरेर पार्टीको नेतृत्वमा सरकार गठन गर्नुपर्ने दबाब दिएपछि एक साताअघि बसेको केन्द्रीय कार्य समितिको बैठकले सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन नभएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएपछि शुक्रबार सभापति देउवाले माओवादी केन्द्र र जसपासँग सरकार गठनको लागि छलफल गर्नुभएको थियो । उक्त छलफलमा नयाँ सरकार गठनको विषयलाई लिएर सभापति देउवा र पौडेलबीच भनाभन नै भएको थियो ।

यति मात्र होइन, सरकार गठनको विषयलाई लिएर देउवा र पौडेलबीच सार्वजनिक मञ्चमै समेत एक–अर्काले आरोप–प्रत्यारोप लगाउँदै आएका छन्। पौडेल पक्षले देउवाको नेतृत्वमा सरकार गठन गरेर आगामी महाधिवेशनबाट पार्टी सभापति आफ्नो पक्षमा पार्न चाहेको छ । तर, सभापति देउवा आगामी महाधिवेशनबाट पुनः पार्टी सभापति भई आगामी निर्वाचनबाट प्रधानमन्त्री बन्ने योजनामा रहनुभएको छ । पौडेल पक्षका एक नेता भन्छन्–‘हामीले ओली सरकारलाई विस्थापित गरेर पार्टी सभापतिकै नेतृत्वमा सरकार गठन गनुपर्छ भनिरहेका छौं तर सभापति सरकारको नेतृत्व लिन तयार भएका छैन्न् ।’पौडेल पक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा पनि संवैधानिक निकायको नियुक्तिमा भागवण्डा लिएर देउवाले उक्त कदमको समर्थन गरेको आरोप लगाउँदै आएको छ । ती नेताका अनुसार सभापति देउवा र प्रधानमन्त्री ओलीको चाहना छिटोभन्दा छिटो निर्वाचन नै गराउने रहेको देखिन्छ । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी केन्द्रले मात्र साथ दिएर पुग्ने अवस्था छैन, यसका लागि जसपाको साथ अनिवार्य छ । तर, जसपाले भने सरकार गठनका बारेमा अहिले नै निर्णय गर्ने बेला नै आइनसकेको बताइरहेको छ । जसपाका नेता राजेन्द्र महतोले अहिले आफ्नो पार्टीको प्राथमिकता सरकार नभएको बताउँछन् ।

अहिले बहुमतकै सरकार छ, सरकारमा कुनै संकट देखिँदैन । जसपाको अहिलेको एजेन्डा आफ्नो नेता तथा कार्यकर्ताको रिहाइ हो, सरकारको विषयमा हामी प्रवेश नै गरेका छैनौं ।’ उनका अनुसार आफ्नो पार्टीका २ सय ८ जना नेता कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ताको लागि सरकारलाई फाइल बुझाएर सरकारले प्रक्रिया समेत अगाडि बढाएको छ ।प्रमुख प्रतिपक्ष दलबीच नयाँ सरकार गठनमा कुरा नमिल्दा प्रधानमन्त्री केपी शर्मा ओली ढुक्क देखिएका हुन । माग सम्बोधन गर्न प्रधानमन्त्री सकारात्मक भएपछि जसपा थप लचक बनेको छ । जसको कारण जसपाले तत्काल कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने निर्णय नगर्ने भएको छ ।उता नयाँ सरकारको गठनको गृहकार्यमा माओवादी केन्द्र जुटे पनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । माओवादीले नयाँ सरकार गठन गर्ने सुनिश्चिता नभएसम्मको अवस्थामा सरकारलाई दिएको समर्थन कायमै राख्ने नीति लिएको कारण प्रधानमन्त्री ओलीलाई ढुक्क छ । नयाँ सत्ता समीकरणका लागि गृहकार्य भइरहेको जानकारी दिंदै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय प्राविधिक भएको बताउँछन् । यो समाचार नेपाल समाचार पत्रबाट ।

  • प्रकाशित मिति : चैत २९, २०७७, आइतवार ०१:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८