• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

चिनी उत्पादनमा कमी

  • खबरदाता

चिनी उत्पादनमा कमी

 

चैत्र २५,२०७७

चालू आर्थिक वर्षमा नेपालमा करीब १ लाख मेट्रिकटन चिनी उत्पादन भएको अनुमान गरिएको छ । यस वर्षका लागि उखु क्रशिङ गर्ने काम १ साताअघि सकिएको थियो ।

क्रशिङको काम सकिएसँगै चिनी उत्पादक संघले करीब १ लाख मेट्रिक टन चिनी उत्पादन भएको अनुमान गरिएको बताएको छ ।

चिनी उद्योगीहरूबाट संघले प्राप्त गरेको तथ्यांकअनुसार हाल सम्म ७२ हजार मेट्रिक टन उत्पादन भएको छ भने तीनओटा उद्योगको तथ्यांक आउन बाँकी छ । ‘तथ्यांक आउन बाँकी रहेको उद्योगको उत्पादन समेत जोड्ने हो भने करीब १ लाख मेट्रिक टनसम्म पुग्ने अनुमान छ,’ संघका अध्यक्ष शशिकान्त अग्रवालले भने ।

विगत वर्षको तुलनामा यस वर्ष उपादन केही घटेको संघले बताएको छ । संघका अनुसार गतवर्ष १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । उखु किसानले समयमा भुक्तानी नपाउने समस्याले यस वर्ष धेरै किसानले उखु रोप्ने जमीनमा धान, गहुँखेती गरेकाले उखु उत्पादनमा नकारात्मक असर परेको हो ।

उत्पादन घट्नुमा यति मात्र कारण नरहेको संघका अध्यक्ष अग्रवाल बताउँछन् । उखु उत्पादनको चक्रअनुसार हरेक ३ वर्षको अन्तरालमा उत्पादन घट्ने उनको भनाइ छ ।

उही क्षेत्रफलमा त्यति नै मात्रामा मल, बीउ राखेर खेती गर्दा पनि उत्पादन पहिलो वर्षको तुलनामा दोस्रो वर्ष २० देखि २५ प्रतिशतसम्म घट्ने उनले बताए । उखु उत्पादन घट्ने वर्ष परेकाले त्यसको असर चिनीको उत्पादनमा पनि परेको उनको भनाइ छ ।

अग्रवालका अनुसार १० वर्ष अघिसम्म नेपालमा २ लाख ६० हजार मेट्रिक टनसम्म चिनी उत्पादन हुने गर्दथ्यो । अहिले उखु किसानले समयमा भुक्तानी नपाउने, तस्करीको चिनी भित्रिनेलगायत समस्याले आन्तरिक उत्पादन प्रभावित भएको बताइएको छ ।

गतवर्षसम्म १२ ओटा चिनी उद्योग सञ्चालनमा रहेकोमा यस वर्ष आवश्यकता अनुसार उखु नपाएपछि १० ओटा उद्योगले मात्रै चिनी उत्पादन गरेका छन् । नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको सरकारी तथ्यांक छ ।

उखु किसानले अझै पाएनन् पूरा भुक्तानी
उखु किसानले उद्योगीहरूबाट पाउनुपर्ने पूरा भुक्तानी अझैसम्म पाएका छैनन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश अग्रवालले किसानले अझै पूर्णरूपमा भुक्तानी नपाएको दाबी गरे ।

किसानहरू बक्यौता रकम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा चाँडोभन्दा चाँडो भुक्तानी हुने आशामा बसेको भन्दै उनले वैशाखसम्म पनि भुक्तानी नभए आन्दोलनका लागि पुनः काठमाडौं आउने बताए । किसानले अभैm करीब २० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : चैत २५, २०७७, बुधवार ००:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८