• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

उकालो लाग्दै कोरोना संक्रमितको ग्राफ

  • खबरदाता

उकालो लाग्दै कोरोना संक्रमितको ग्राफ

चैत्र २४,२०७७
कोरोना महामरीको दोस्रो लहरले भयाबह बन्दै गएको भारतबाट स्वदेस फर्कने नेपालीहरुको संख्या बढ्दै जादा संक्रमण जोखिमको ग्राफ पनि उच भएको छ । खुला सिमाना र निर्बाध रुपमा आवतजावत भइरहदा संक्रमणको जोखिम बढेको हो।कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३६ जनामा कोरोना देखिएको छ।

सोमबार देशभर दुई सय ६६ जनामा संक्रमण देखिएको छ, जुन १४ माघयताकै सर्वाधिक संख्या हो।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई सय ६६ संक्रमित देखिएका छन् । यो संख्या गत १४ माघयताकै सर्वाधिक हो । १४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ नमुना परीक्षण गर्दा दुई सय १३ जनामा संक्रमण देखिएको थियो ।

त्यसयता दैनिक एक सयको हाराहारीमा देखिँदै आएका संक्रमितको संख्या फागुनबाट दुई अंकमा झरेको थियो । तर, सोमबार देखिएको संक्रमितको संख्याले सबैलाई झस्काएको छ । यही अढाई महिनाको बीचमा संक्रमणबाट चारजनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा पनि अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । गत १४ माघमा उपत्यकामा एक सय ४५ र १५ माघमा एक सय २३ संक्रमित देखिएका थिए । सोमबार देशभर देखिएका दुई सय ६६ संक्रमितमध्ये उपत्यकाका एक सय २७ जना छन् । यही अनुपातमा संक्रमण बढ्दै गए दुई महिनामा भयावह रूप लिने चिकित्सकहरूले बताएका छन् ।

‘अस्पतालमा सिरियस बिरामीहरू बढ्न थालेका छन् । पछिल्लो दुई हप्तामा मात्रै टेकु अस्पतालको आइसियूमा ११ जना संक्रमित भर्ना भएका छन् । सिकिस्त भएर बिरामी आउने क्रम बढेकाले संक्रमण समुदायस्तरमा बढ्दो अवस्थामा भएको बुझ्न सकिन्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा। अनुप बास्तोलाले भने, ‘यही अवस्था रहे आगामी जेठको पहिलो हप्तामा कोरोना संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ ।’

युके भेरिएन्ट समुदायमा , १६ जनामा पुष्टि

नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरूको सम्पर्कमा आएका अन्य १३ जनामा पनि युके भेरिएन्ट पुष्टि भइसकेको छ ।

‘एस जिन’ नेगेटिभ आएका एक सयभन्दा बढी नमुना छन् । यी सबैमा युके भेरिएन्टको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले १५ वटा नमुना भाइरसको प्रजाति पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको हङकङस्थित ल्याबमा पठाएको छ ।  त्यसको रिपोर्ट आइसकेको छैन ।

राष्ट्रिय प्रयोगशालाले परीक्षणका लागि आएका नमुनाहरूको हप्तामा एकपटक ‘एस जिन’ नेगेटिभ वा पजिटिभ के हो भनेर हेर्ने गरेको छ । ‘एस जिन’ नेगेटिभ आएको नमुना भए नयाँ प्रजातिको भाइरस भएको अनुमान गरिन्छ ।  ‘युके भेरिएन्ट समुदायमा गइसकेकाले कोरोनाको सबै नमुनाको प्रजाति हेर्नुपर्छ भन्ने हुँदैन ।’

  • प्रकाशित मिति : चैत २४, २०७७, मंगलवार ०२:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८