• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

अबको चुनाव ओलीले गराउलान् कि देउवाले ?

  • खबरदाता

अबको चुनाव ओलीले गराउलान् कि देउवाले ?

चैत्र २३, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीको विस्थापन, नयाँ सत्ता समीकरण र दुई वर्ष संसद सञ्चालनको माओवादी मार्गचित्र असफल भएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पछिल्लो समय उनकै कित्तामा रहेका एमाले नेता माधव नेपालले जति नै जोडबल गरे पनि ओलीलाई सत्ताच्युत गराउन नसक्दा अन्ततः शीघ्र निर्वाचनमै देश होमिने लगभग पक्का भएको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ मै संसद विघटन गरी वैशाखमा चुनाव घोषणा गरिसकेका हुन् । अहिले पनि उनको ध्यान चुनावमै छ । उनका हरेक गधिविधि चुनाव लक्षित हुँदै गएका छन् । जति चुनाव पर धकेलिँदै छ, त्यति नै उनले चुनावकेन्द्रित कार्यक्रम सत्तामै रहेर बढी गर्न पाएका छन् । राज्यको स्रोतसाधनमा लोकप्रियतामुखी कदम चाल्न पाएका छन् । मेलम्ची आयोजनादेखि देशभर सडक उद्घाटन गर्नेसम्मका काम गरेर उनले भोट मागरिरहेका छन् । वृद्धभत्ता बढाउने घोषणा उनले बजेट नआउँदै गरिसकेका छन् ।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुखैमा आएको प्रधानमन्त्री पद जाओस् तर चुनाव नटरोस् भन्नेमा छन् । अहिले गठबन्धनको कमजोर प्रधानमन्त्री हुनुभन्दा बलियो संसदीय शक्तिसहितको प्रधानमन्त्री बनेर पार्टी र सरकारका पूरै पाँच वर्ष प्रभाव जमाउने एक मात्र ध्याउन्नमा देउवा रहेका छन् । जनता समाजवादी पार्टी पनि चुनावमै बढी ध्यान केन्द्रित गरिरहेको छ । ओलीसँग हरेक दिन वार्ता गरेर उसले आफ्ना राजनीतिक मागको प्रचार मात्र गराइरहेको छ । यो सबै उसले चुनावका निम्ति गरिरहेको छ ।

एमाले, कांग्रेस र जसपाले चुनाव चाहेपछि अब प्रचण्ड र माधव नेपालले मात्र हुटिट्याउँ शैलीमा यो संसद थेगेर थेगिनेवाला छैन । यद्यपि, चुनाव ओलीमार्फत् नै गराउने कि चुनावी सरकार अर्को बनाउने भन्ने खेल भने दृश्यमा आइसकेको छैन । भित्रभित्रै ओलीलाई फालेर देउवा वा जसपाको कुनै नेतालाई अघि सारेर चुनावी सरकार बनाउने कसरत पनि चलिरहेको छ । यो कसरत सफल भएमा ओली एक्लिनेछन् ।

तर, कांग्रेसले कसैसँग चुनावी सहकार्य वा गठबन्धन नगर्ने भनेको छ । एमाले विभाजित भएको र माओवादी बदनाम भएको मौका पारी देशभरिबाट कांग्रेसले एकछत्र उम्मेदवार जिताउने सपना देखाएको छ । तर, कांग्रेस र एमालेजस्ता ठूला दलको एकछत्र भएको हेर्न नचाहने शक्तिले अर्को खेल पनि गरिरहेको छ । त्यो भनेको कांग्रेसलाई साइजमा राख्न जसपा, माओवादी र माधव नेपाल समूहलाई चुनावी गठबन्धनमा परिणत गर्ने । यसो गर्दा ओलीको पत्ताासाफ हुने, कांग्रेस पनि साइजमा अउने र आफूले चाहेको गठबन्धन पनि बलियो बन्ने नेपालमा प्रभाव राख्ने बाह्य शक्तिको बुझाइ छ ।

जे होस् अब देशमा चुनाव हुनबाट कुनै शक्तिले रोकेर रोकिने स्थिति छैन । चुनाव जति पर धकेल्यो, ओली शासनको आयु त्यति नै लम्बिने भएकाले पनि ओलीलाई एक्ल्याउन चाहनेहरु नचाहेर पनि चुनावमा जानुपर्ने मनःस्थितिमा पुगेका छन् ।

  • प्रकाशित मिति : चैत २३, २०७७, सोमवार १०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८