• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

गैंडा गणकका हात्तीमाथि जंगली हात्तीको आक्रमण , गणना स्थगित

  • खबरदाता

गैंडा गणकका हात्तीमाथि जंगली हात्तीको आक्रमण , गणना स्थगित

चैत्र २०,२०७७
चितवन । गैंडा गणनामा प्रयोग भएका घरेलु हात्तीमाथी जंगली हात्तीले आक्रमण गर्दा पाँच जना गणक घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी बेल्टको गैंडा खासा भन्ने स्थानमा गणकहरु सवार हात्तीलाई घेरा हाली जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

आक्रमणमा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत विनोद श्रेष्ठ गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि साँझ ५ बजेतिर हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको बरालले जानकारी दिए । श्रेष्ठको घाटी कम्मर, खुट्टा र हातमा गम्भीर चोट लागेको छ ।

बरालका अनुसार गैंडाको गणनाका लागि शुक्रबार निकुञ्जको टोली पश्चिम सेक्टरको गैंडाखासा भन्ने ठाउँमा पुगेको थियो । गणनामा ३० वटा हात्ती प्रयोग गरिएको थियो । ती मध्ये तीन हात्ती सम्पर्क बिहिन भएको समेत बरालले जानकारी दिए । उनले भने  गणनामा प्रयोग भएका तीन वटा हात्ती सम्पर्कमा छैनन् । सायद भोलि सम्ममा भेटिन्छन होला ।

चैत ९ गतेबाट गैंडा गणना सुरु गरिएको थियो । हाल बर्दिया निकुञ्ज र शुक्लाफाँटा निकुञ्जमा पनि गणना चलिरहेको छ ।

‘जंगली हात्तीले टोलीलाई लखेट्न थालेछ, भागाभाग हुँदा पाँच जना कर्मचारी घाइते भएका छन्,’ बरालले भने ।
उनका अनुसार चार जनालाई सामान्य चोट लागेको छ । गम्भीर घाइते श्रेष्ठलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको बरालले बताए । समान्य घाइते चारजना उपचार पश्चात् घर फर्कीसकेका छन।

  • प्रकाशित मिति : चैत २०, २०७७, शुक्रवार १५:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८