• वैशाख ७, २०८१, शुक्रवार Friday, 19 April, 2024

भरतपुरमा चार दिनदेखि उडान ठप्प, करोड बढि घाटा


भरतपुरमा चार दिनदेखि उडान ठप्प, करोड बढि घाटा

दैनिक एक हजार यात्रुको आवतजावत हुने भरतपुर विमानस्थल ठप्प रहदा यात्रुलाई मार पर्ने त छँदै छ आर्थिक रुपमा पनि विमानस्थल र विमान कम्पनीहरु मारमा परेका छन् । समग्रमा यो मार भने मानविय गल्तीका कारण भएको प्रष्ट छ । जंगलमा लगाइएको डढेलोको कारण मौसममा खरावी आएको विज्ञहरुले बताउँदै आएका छन् ।

केपी शर्मा, चैत १६, २०७७

चितवन । विगत चार दिनदेखि भरतपुर विमानस्थलमा उडान हुन सकेको छैन । उडान ठप्प हुँदा विमानस्थल र विमान कम्पनीलाइ एक करोड भन्दा बढि घाटा भएको छ । भरतपुरबाट दैनिक १५ वटा उडानहरु हुने गरेका छन् ।

तर बनजंगलमा लागेको डढेलोका कारण देशभरनै आकाशमा तुँवालोले ढाकेपछि भिजिविलिटी कमजोर हुँदा उडान प्रभावित भएको हो । यही चैत १३ गतेदेखि उडान पुरै ठप्प भएको हो ।

चितवनबाट बुद्ध एयरले काठमाण्डौका लागि दैनिक ८ र पोखरा एक गरी कुल ९ वटा उडान भर्दै आएको छ । यता यती एअरलाइन्सले भने काठमाण्डौका लागि मात्रै दैनिक ५ वटा उडान भर्ने गरेको छ । यसरी दैनिक १५ वटा उडानबाट एकातर्फी करिव पाँच सय जना यात्रुहरु प्रभावित भएका छन् ।

दुईतर्फी गरी करिव १ हजार यात्रुहरुले उडान गर्न नपाउँदा भरतपुर नागरीक उड्यन कार्यालयलाई दैनिक १ लाख १५ हजार रुपैया घाटा भएको छ । दुवैतर्फ गर्दा दैनिक कुल २ लाख ३० हजार घाटा हुन जान्छ ।

चार दिन सम्म विमानस्थलमा उडान हुन नसक्दा भरतपुर नागरीक उड्यनलाई मात्रै रु. ४ लाख ६० हजार रुपैया घाटा भएको देखिन्छ भने दुवै तर्फ गरी कुल ९ लाख २० हजार आम्दानी गुम्न पुगेको छ ।

यता विमान कम्पनीहरुलाई पनि दैनिक २८ लाख रुपैया घाटा भएको देखिन्छ । दुईतर्फी गरेर दैनिक एक हजारको हाराहारीमा यात्रुहरुले भरतपुर विमानस्थल प्रयोग गर्दा सो घाटा हुन पुगेको हो ।

भरतपुरबाट काठमाण्डौका लागि प्रति यात्रुले सरदर २ हजार ८ सय तिर्नुपर्ने हुन्छ । यसरी भरतपुरबाट जाने र भरतपुरसम्म आउने एक हजार यात्रुको २८ लाख रुपैया दैनिक कारोवार हुने गर्दछ । चार दिन सम्म विमानस्थल वन्द हुँदा १ करोड १२ लाख रुपैया विमान कम्पनीहरुले मात्रै गुमाउन पुगेका छन् ।

यसरी हेर्दा चार दिनको अवधिमा विमानस्थलले र विमान कम्पनीहरुले गरेर करिव १ करोड २१ लाख ६० हजार रुपैया घाटा भइरहेको हो ।

भरतपुर विमानस्थल प्रमुख योगेन्द्र कुँवरले भने,“ देशको अर्थतन्त्रमा हवाई क्षेत्रले ठूलो योगदान दिइरहेको छ । तर प्राकृतिक कारणबाट यसरी क्षती हुँदा कोरोनापछि तङ्ग्रीदै गरेको अर्थतन्त्रमा यसले असर गरेको छ । ”

आकाशमा देखिएको तुँवालो कहिले सम्म हट्ने हो निश्चित नहुँदा विमान कम्पनीहरुले पर्याप्त टिकट काट्न पाएका छैनन् । यात्रुहरु कहिले विमानस्थल खुल्छ भनेर एकीन नहुँदा एअरलाइन्स कम्पनीसम्म कमै मात्रामा पुग्ने गरेका छन् । तर विमान कम्पनीहरुले भने उडान खुल्ने आशमा दैनिक अग्रिम टिकटहरु भने काटिरहेको बताएका छन् ।

  • प्रकाशित मिति : चैत १६, २०७७, सोमवार ११:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८