• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

राष्ट्रिय जनगणना : चितवनमा पहिलो पटक जिल्ला स्तरीय गोष्ठी


राष्ट्रिय जनगणना : चितवनमा पहिलो पटक जिल्ला स्तरीय गोष्ठी

चैत्र १३,२०७७

चितवन । चितवनमा राष्ट्रिय जनगणना २०७८ को तयारी तिव्र पारिएको छ । जस अनुसार बिहिवार पहिलो पटक जिल्ला स्तरीय गोष्ठी सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा भएको गोष्ठीमा जिल्ला जनगणना अधिकृत यज्ञमुर्ति भण्डारीले चितवनको तयारीवारे जानकारी गराएका थिए ।

चैत १ गतेदेखि जिल्ला जनगणना कार्यालय स्थापना गरिएपछि चितवनमा तयारी सहित सचेतनालाई तिव्र पार्दै लगिएको हो । चैत १ गतेदेखि ०७८ असार मसान्तसम्म ४ महिनाका लागि कार्यालय स्थापना गरिएको र पहिलेको तथ्याङ्क कार्यालयलाइनै अहिलेको जनगणना कार्यालय बनाइएको हो ।

चितवनमा जनगणनाका लागि ८ सय ९५ गणक र २ सय ३ जना सुपरिबेक्षक खटिने भण्डारीले बताए । सात स्थानीय तह भएको जिल्लामा सात वटै सम्पर्क कार्यालय स्थापना हुने र गणकले १ महिना तथा सुपरिवेक्षकले २ महिना काम गर्नेछन् ।

जसअन्तर्गत भरतपुर, गीतानगर, चनौली, माडी, टाँडी जुटपानी र भण्डारामा कार्यालय रहनेछ । भरतपुर महानगगरपालिकामा तीन वटा, माडी नगरपालिकामा एक, रत्ननगर नगरपालिकामा एक, राप्ती नगरपालिकामा एक र कालिका नगरपालिकामा एक कार्यालय स्थापना गरिने समेत जिल्ला जनगणना अधिकारी भण्डारीले बताए । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना क्षेत्रलाई भने जुटपानी जनगणना कार्यालयले हेर्नेछ । सातवटै स्थानमा स्थानीय जनगणना समन्वय समिती गठन गर्ने तयारीमा रहेको र समितीको प्रमु्खमा स्थानीय जनगणना अधिकारी रहने व्यवस्था रहेको उनले बताए ।

कर्मचारी बाहेक पनि जिल्ला देखि वडा तहसम्म विभिन्न समिति पनि गठन गरेर जनगणनालाई सफल पारिने भएको छ । राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश २०७६ वमोजिम चितवनमा जिल्ला जनगणना संमन्वय समिती गठन गरिसकिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय समिती गठन गरिएको हो । जसमा प्रमुख कोष नियन्त्रक, प्रमुख प्रहरी उपरिक्षक, शिक्षा इकाई प्रमुख, महानगरपालिकाका अधिकृत स्तरको कर्मचारी, जिल्ला समन्वय अधिकारी र जिल्ला जनगणना अधिकारी सदस्य सचिव रहने व्यवस्था छ।

आवश्यकता अनुसार ३ जना आमन्त्रित सदस्यको रुपमा राख्न सकिनेछ । समितीको पहिलो बैठक गत चैत ४ गते सम्पन्न भइसकेको छ । जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र निमार्णको चरणमा छ । जिल्ला समन्वय समितीका प्रमुखको संयोजकत्वमा सातै स्थानीय निकायका प्रमुख तथा उपप्रमुख समिति सदस्य रहनेछन् । यस समितीको सदस्य सचिवमा जिल्ला जनगणना अधिकारी रहने छन । यस्तै प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समितीहरु बन्ने क्रममा छन ।

जिल्लामा ३ महिलासहित ३४ जना गणक प्रशिक्षक खटाइँदैछ । उनीहरुलाई हेटौडामा १५ दिनको तालिम भइरहेको छ । विभिन्न कलेजमा जनसंख्या विषय अध्यापन गराउने शिक्षक तथा तालिम केन्द्र रहेका विद्यालयका जनसंख्या र गणीत विषयका शिक्षकहरुलाई समेत प्रशिक्षकको रुपमा खटाइने छ । स्थानीय जनगणना अधिकारीको तालिम भने चैत १९ देखि २५ सम्म हुने भण्डारीले बताए ।

जिल्लामा जन गणनाका लागि आवश्यक पर्ने १ सय १५ बोरा सामाग्री आइसकेको र गणनाका लागि जिल्लाका सबै स्थानीय निकायमा पत्राचार गरिएको उनले बताए ।
१९६८ सालदेखि प्रत्येक १० /१० वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना २०७८ मा छुट्टै महत्वको हुनेछ। ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन राष्ट्रिय जनगणनाको मिति तय गरिएको हो । कोही नछुटोस् कोही नदोहरियोस् भन्ने उद्देश्यले सबैको घरमै पुगेर गणना गरिदैंछ । यसअघि २०५८ र २०६८ मा पूर्णगणना विधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्णगणना विधिबाट जनगणना हुनेछ। ‘विगतमा बहुविधिबाट जनगणना हुन्थ्यो। यसपटक एकल विधिबाट जनगणना गर्दैछौं’, जनगणना अधिकारी भण्डारीले भने , ‘पहिले ८ घरमध्ये १ घर हुन्थ्यो भने यसपटक सबै घरमा पुगेर जनगणना गरिनेछ।’

पारिवारिक विवरण तथा घरपरिवारको सूचीकरण सुपरिवेक्षकले स्थानीय तहमा पुगेर संकलन गर्नेछन्। यो काम २०७८ वैशाख २६ देखि जेठ १८ गतेसम्म हुनेछ। मुख्य प्रश्नावलीका लागि गणकहरू घरघरमा पुग्नेछन्। यो घर तथा पारिवारिक गणना जेठ २५ देखि असार ८ सम्म गर्ने तयारी गरिएको छ। जनगणनामा घरधनी बसोबास नगर्ने घर ,भवन,मल पनि गणनामा समेटिँदैछ । अर्को सामुदायिक प्रश्नावली मुख्य जनगणनाको अवधिमा भरिनेछ। सुपरिवेक्षकले नै सामुदायिक प्रश्नावली भराउनेछन् । गाउँ, सहर छुट्टयाउने गरी प्रश्नावली तयार गरिएको छ।
२०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। पुरुषको जनसंख्या १ करोड २८ लाख ४९ हजार ४१ र महिलाको जनसंख्या १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ थियो। घरपरिवार संख्या ५४ लाख ५३ हजार २ सय ९७ थियो। जनसंख्या वृद्धिदर १।३५ प्रतिशत थियो। हालको जनसंख्या ३ करोड १ लाख ८० अनुमान गरिएको छ ।

यसपटक जनगणनामा पुख्र्यौली भाषाको प्रश्न थप गरिएको छ। मातृभाषा र दोस्रो भाषा समावेश गरिएको छ।

गोष्ठीमा केहि राजनीतिक दलका प्रतिनिधि , विभिन्न संघ सस्था र सर्बसाधारणको उपस्तिथि थियो।

  • प्रकाशित मिति : चैत १३, २०७७, शुक्रवार १०:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८