सौराहाका हात्ती व्यवस्थापनमा मन्त्रीको आश्वासन

  • चैत ०९, २०७७

 केपी शर्मा– चैत ९, २०७७

चितवन । कोभिड १९ का कारण थला परेको सौराहाको पर्यटन व्यसायप्रति सरकारले मौखिक चासो देखाएको छ ।
कोभिड ले व्यवसाय ठप्प भएसँगै आफ्ना निजी हात्तीहरु बचाउन समस्या परेको र हात्ती व्यवस्थापन गरिनुपर्ने माग गरिहेका व्यसायीहरुको मागलाई सम्वोधन गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले निजी हात्तीलाई स्वदेशमै व्यवस्थापनमा सरकारले सहयोग गर्ने बताएका छन् ।

चितवनको सौराहामा आयोजित गैँडा गणना उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले आफूहरुले व्यवसायिहरुको उक्त गुनासो सुनेको र केहि शुल्क तिरेर निश्चित समयावधिका लागि हात्ती व्यवस्थापन सरकारले गरिदिने गरी छलफल भएको बताएका हुन् ।

हात्ती पाल्न कठिन हुने तथा महिनाकै एक लाख सम्म खर्च लाग्ने भन्दै मन्त्री आलेले सो को व्यवस्थापनका लागि आफूले पहल थाल्ने बताएका हुन् ।

कोभिड १९ अघि सिजनका समयमा ७० को हाराहारीमा रहेका निजी हात्तीहरु अहिले घटेर ४७ मा झरेको व्यवसायिहरु बताउँछन् । हात्तीको खर्च धान्न पनि अहिले समस्या रहेको उनीहरुको भनाई छ । प्रति हात्ती माउतेलाई मात्रै २० देखि २५ हजार दिँदा ११ हजार खाना खुवाउदा खर्च ठूलै आउने देखिन्छ ।

तर विदेशी पर्यटक नआएपछि सस्तोमा बोकिएका आन्तरिक पर्यटकले यो खर्च धान्न नसक्ने उनीहरुको गुनासो छ । साथै व्यवसायीहरुले निकुञ्जभित्रको घाँस हात्तीका लागि उपलब्ध गराउन पनि माग गर्दै आइरहेका छन् । यस विषयमा निकुञ्जले भने कानून विपरीत भन्दै उक्त कुरालाई इन्कार गरिरहेको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८