• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

तलब भन्दा महँगी वृद्धि बढी


तलब भन्दा महँगी वृद्धि बढी

तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा अहिले धेरै कम ।

चैत ९ ,२०७७  – ममता थापा
काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ ।

यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले हो तर यसअवधिमा तलबको वृद्धिदर शून्य देखिएको छ ।

सामान्यतया महँगी अर्थात् मूल्यवृद्धि (मुद्रास्फीति) बढेअनुसार तलब र ज्यालाको वृद्धिदर हुनुपर्छ । कोभिड–१९ का कारण अधिकांशले जागीर गुमाउनु परेको छ भने कतिपयले खाइपाई आएको तलब कटौती हुँदा महँगीको तुलनामा तलब बढ्न नसकेको सरोकारवालाहरू औंल्याउँछन् ।

समग्रमा तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा पनि अहिले धेरै कम हो । गत माघ महीनामा उक्त सूचकांक ७ दशमलव ५१  प्रतिशतले बढेको थियो । यसअवधिमा ज्याला भने करीब मूल्यवृद्धिको नजीक आउन खोजेको देखिन्छ तर पनि सोही अनुपातमा छैन ।

मूल्यवृद्धिको तुलनामा तलब र ज्यालाको वृद्धिदर पुग्न नसकेको राष्ट्र बैंकले स्वीकार गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट जीवनस्तर कायम राख्न सिद्धान्ततः मूल्यवृद्धिसरह तलब पनि वृद्धि हुनुपर्ने भए पनि तलब वृद्धि भएन भन्नु स्वाभाविक भएको बताउँछन् । ‘अहिले प्रायः कसैले पनि जागीरेको तलब बढाएका छैनन् । सामान्यतया तलब वृद्धि भएको छैन । कर्मचारीका ग्रेड बढेको होला । हामीले सर्बे गर्ने क्षेत्रमा रिपोर्टिङ गर्ने आधारबाट यस्तो देखिएको हो,’ उनले अभियानसँग भने, ‘कोभिडका कारण धेरै व्यवसाय प्रभावित भएको छ, धेरैको जागीर गएको छ । यसअघि गत मङ्सिरमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणले तलब र ज्याला घटेको देखिएको छ ।’

उनका अनुसार गत असारसम्ममा २३ प्रतिशत र गत माघसम्म करीब १३ प्रतिशतले जागीर गुमाएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ ।

समग्र मुद्रास्फीतिभन्दा तलबको वृद्धिदर कम हुनु भनेको जीवनस्तर प्रभावित भएको अर्थात् खस्किएको संकेत गर्ने अर्थविद्हरूको तर्क छ । अर्थविद् केशव आचार्य मूल्यवृद्धि बढेसँगै लामो समय तलब तथा ज्याला बढेन भने कर्मचारी तथा श्रमिकले महँगीअनुसारको तलब बढाउन दबाब दिनसक्ने बताउँछन् । ‘कोभिडका कारण कतिपयलाई जागीरबाट हटाइयो । होटेलका कर्मचारीहरूको तलब कट्टी भयो, विद्यालयहरू बन्द भए जसका कारण मूल्यवृद्धिको हाराहारीमा तलब वृद्धि हुन सकेन,’ उनले अभियानसँग भने, ‘श्रमिकहरू काममा जान डराएको अवस्थामा थोरै बढी ज्याला दिएर भए पनि ठेकदारहरूले काममा लगाएकाले ज्यालादारीको आम्दानीमा तलबको भन्दा राम्रो वृद्धि भएको हुनसक्छ ।’

प्रायको तलब आर्थिक वर्ष शुरू भएपछि बढ्ने बताउँदै अर्थविद् आचार्यले यतिबेला होटेलमा काम गर्ने कर्मचारीहरू अहिले बेरोजगार भएर बस्नु परेको बताए ।

कतिपय स्कूलहरूले शिक्षकलाई कोभिड कालको जस्तै कम तलब दिएकाले पनि तलब वृद्धिको सूचकांक बढ्न नसकेको उनको टिप्पणी छ ।

राष्ट्रिय तलब तथा ज्यालाको सूचकांकमा सबैभन्दा धेरै अंश ज्यालामा देखिएको छ । शतप्रतिशत अंशमध्ये तलबको सूचकांक २० दशमलव ९७ र ज्यालाको ७३ दशमलव शून्य ३ प्रतिशत रहेको छ ।

  • प्रकाशित मिति : चैत ९, २०७७, सोमवार ००:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८