• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एमालेभित्र ओली थप शक्तिशाली

  • खबरदाता

एमालेभित्र ओली थप शक्तिशाली

चैत्र ८ ,२०७७

सत्तारूढ नेकपा एमाले एमालेभित्र पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको छ । केपी शर्मा ओली पक्षको शनिवार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको हो ।

बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेका नाम हटाउने, राख्ने या हेरफेर गर्ने अधिकार केपी शर्मा ओलीलाई प्रत्यायोजन गरिएको छ भने त्यस्तै, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई नै प्रत्यायोजन गरिएको छ ।

अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय पनि गराइएको छ ।

पार्टीभित्र शक्तिशाली बन्दै गएका र विपक्षी समूहको आवाजलाई बेवास्ता गर्दै अघि बढेका ओलीलाई थप शक्तिशाली बनाइएको हो । समानान्तर गतिविधि गर्दै आएका माधवकुमार नेपाल–झलनाथ खनाल पक्षलाई ओलीबाट कारबाहीको धम्की आउने गरेको थियो ।

एमाले केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ । उनीहरूलाई पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइल्याउन र सरकारको बदनाम गर्न गुट्गत भेला गरेकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवाली बैठकपछि जानकारी दिए ।

त्यस्तै सोही बैठकले ओली र महासचिव ईश्वर पोखरेललाई पदाधिकारी र स्थायी कमिटी सदस्य प्रस्ताव गर्ने अधिकार दिएको छ । एमालेको शनिवार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीको स्थायी कमिटी र पदाधिकारीका विषयमा प्रस्ताव ल्याउन अध्यक्ष र महासचिवलाई जिम्मा दियो ।

यसअघिका बाँकी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूलाई खारेज गर्दै नयाँ प्रस्ताव ल्याउने जिम्मेवारी दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रबाट थपिएका २३ जनासमेत गरी २६४ जनालाई महाधिवेशन कमिटीमा रूपान्तरण गरेको हो ।

आयोजक कमिटीका २६४ सदस्यलाई कार्य विभाजन गर्न र प्रस्ताव तयार संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा टोपबहादुर रायमाझी सदस्य भएको समिति बनाइएको छ ।

  • प्रकाशित मिति : चैत ८, २०७७, आइतवार ०१:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८