• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

एमालेमा नेपाल खेमामाथि कारवाहि सुरु !

  • खबरदाता

एमालेमा नेपाल खेमामाथि कारवाहि सुरु !

चैत्र ५,२०७७

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले माधव नेपाल नेतृत्वको समूहमाथि कारवाही सुरु गरेको छ । उनीहरू पार्टी पदाधिकारीबाट मुक्त भइसकेका छन् । अब माधव नेपाल र उनी पक्षधर सांसदहरु पदमुक्त हुनेछन् । त्यसपछि पार्टीको सदस्य समेत नरहने गरी निष्काशित गरिनेछ ।

आज ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् । बैठकमा राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदनका सदस्यलाई बोलाइएको छ । नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गरिरहेकै बेला ओलीले संसदीय दलको बैठक राखेकाले दुवै खेमा भिड्ने मानसिकताका साथ प्रस्तुत भएको देखिन्छ ।
बैठकमा अनुपस्थित हुने सांसदलाई स्पष्टीकरण सोध्ने ओली पक्षको तयारी छ । स्पष्टीकरण चित्तबुुझ्दो नभए अर्को बैठकबाट पदमुक्त भएको घोषणा गरिनेछ ।

संसदीय दलमा ओली समूहको अत्यधिक बहुमत छ । त्यसैले बहुमतको निर्णय सबैले मान्नैपर्ने हुन्छ । एमालेको संसदीय दलको विधानले नेता, उपनेता र प्रमुख सचेतकलाई निर्णायक अधिकार दिएको छ । राजनीतिक दलसम्बन्धी ऐनले पनि सम्बन्धित दलको विधानबमोजिम हुने भन्दै सबै कुरा दललाई छोडिदिएको छ । त्यसैले अब माधव नेपाल समूहले निर्वाचन आयोग वा अदालतबाट राजनीतिक पुनर्स्थापना पनाउने सम्भावना पनि छैन ।

एमालेबाट कारवाहीमा परेपछि माधव नेपाल समूहले नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता हुनेछ । त्यो पार्टी माओवादीसँग मिल्न सक्ने यसअघि नै जनाउ दिइसकेका छन् । यसैका निम्ति उनीहरु पेरिसडाँडामा पटकपटक छलफल गरिसकेका छन् । बरु सांसद पदै जाओस् तर ओलीसँग बस्नु नपरोस् भन्ने मनःस्थितिमा नेपाल समूहका नेताहरु पुगेको देखिन्छ । तर, केही सांसद भने पदको सुरक्षाका लागि भए पनि आफूतिर आउने ओली पक्षको आकलन छ ।

नेकपा एमाले विभाजन भएपछि राजनीतिक गतिवरोध भने अन्त्य हुन सक्नेछ । किनभने, कांग्रेस सभापति शेरबहादुर देउवा एमालेको औपचारिक विभाजन नभएसम्म सत्ता गठबन्धनको नेतृत्व लिन अग्रसर नहुने भने मौन बसेका छन् । उनी अघि सर्नासाथ मुलुकमा नयाँ राजनीतिक माहोल सिर्जना हुनेछ । त्यस्तै जनता समाजवादी पार्टी पनि एमालेभित्रैको अन्योलका कारण कुनै निर्णय लिन सकिरहेको छैन । कतिसम्म भने माओवादीले समेत ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यो अन्योलको वातावरण चिर्न पनि एमालेको कचिंगल वारपार हुनुपर्ने स्थिति छ ।

कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठकले माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीप्रतिको समर्थन फिर्ता लिइसकेको छ । त्यसमा एमालेका दुई खेमा दुईतिर देखिएका छन् । त्यसैले ओली पक्षले अर्को समूहका सांसद र मन्त्रीलाई कारवाहीको प्रक्रिया अघि बढाइसकेको छ । यो सिलसिला अब देशैभर चल्ने भएको छ । यो प्रक्रिया जति छिटो निर्णयमा पुग्छ, राजनीतिले उति छिटो निकास पाउने देखिएको छ ।

एमाले टुक्रिएपछि ओली अहिलेजस्तो प्रतिनिधि सभामा १ सय २० सिटका धनी रहने छैनन् । उनीसँग सय सिटभन्दा कम हुनेछन् । त्यस्तै माधव नेपाल समूह संसदबाहिर पर्नेछ । अब माधव नेपाल समूहको हैसियत मोहन वैद्यको बराबर हुनेछ । कम्तीमा अब एमालेका नेताहरुको निजी झगडाको बोझ संसद र सरकारले बोक्नुपर्ने छैन । कांग्रेसको नेतृत्वमा माओवादी र राजपासहितको सरकार बनेपछि त्यसले मुलुकमा तीनै तहको चुनाव गराउनेछ । नयाँ चुनावबाट नयाँ शक्तिसन्तुलन सहितको संसद बन्नेछ, जहाँ कांग्रेस सबैभन्दा बलियो बनेर आउनेछ । बलियो पार्टीमा देउवा अझै शक्तिशाली भएर उदाउनेछन् ।

  • प्रकाशित मिति : चैत ५, २०७७, बिहीवार ०३:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८