तातोपानी भन्सारको गोदाममै थन्कियो चिनियाँ मल

  • खबरदाता
  • चैत ०५, २०७७

चैत्र ५,२०७७

छोटो समयमै चीनबाट काठमाडौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकाबाट आयात गरिएको रासायनिक युरिया मल अझै तातोपानी भन्सारको गोदाममा नै थन्किएको छ ।

चीनको सिगात्सेबाट छुटेको बढीमा १० दिनमा काडमाडौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकामा आइपुगेको मल झण्झटिलो सरकारी प्रकृयाका कारण नेपाल प्रवेश गरेको १२ दिनदेखि नाकामा नै अड्किएर बसेको हो । हरेक वर्ष रासायनिक मलको अभाव झेलिरहेका नेपाली किसानको लागि यस वर्ष अभाव हुन नदिन पहिलोपटक उत्तरी नाकाबाट मल ल्याउन शुरु गरिएपनि प्रकृयागत तयारी हुन नसक्दा भन्सारबाट मल अगाडि बढ्न सकेको छैन ।

पहिलो पटक फागुन २३ गते भन्सारमा आइपुगेको मल बढीमा एक हप्तामा काठमाडौं पुग्ने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको अपेक्षा भएपनि सो कार्यालयले भन्सारबाट मल छुटाउने अनुमति नदिँदा १२ दिनदेखी भन्सार परिषरमा मल अलपत्र परेको हो । मन्त्रालयबाट आवश्यक प्रकृया पूरा भएर आए भन्सारबाट काठमाडौंस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा पठाइने तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

चीनको सिगात्से शहरबाट ३ दिनमा मल नेपालको भन्सार गोदाममा आइपुग्छ । ‘मन्त्रालयले भन्सार प्रकृया चाँडो भन्दा चाँडो पूरा गरे मल एक हप्ताभित्र काठमाडौं पुग्छ,’ खत्रीले भने । भन्सारमा अहिले करीब ३०० मेट्रिक टन मल गोदाम भएर बसेको भन्सार कार्यालयले जानकारी दिएको छ । उत्तरी नाकाबाट पहिलोपटक रासायनिक मल भित्रिनु एकदमै सुखद् भएको बताउँदै खत्रीले भन्सार कार्यालयमा आएको सबै परिमाणको मल तुरुन्तै जाँच गरी गोदाममा राखिएको जानकारी दिए । अरनिको राजमार्ग स्तरोन्नति हुन सकेमा नाकाबाट आयात बढ्ने उनको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानीको सम्झौता गरी चीनको सिगात्से शहरबाट तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । चीनबाट नेपाल भित्रिएको युरिया मलको प्रगतिबारे जानकारी दिँदै आयात ढुवानी कम्पनी सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले एक महीना भित्र आफूहरुले जिम्मा पाएको चार हजार मेट्रिक टन युरिया नेपाल आइसक्ने जानकारी दिए ।

‘अहिले दैनिक पाँचदेखि सात ओटा ४० फुटे कन्टेनरमा मल आयात भैरहेको छ’, शेर्पाले भने ‘बीचमा अन्य कुनै समस्या नआएमा एक महीनामा सबै मल नेपाल ल्याईसक्छौ ।’ एउटा ठूलो कन्टेनरले २ मेट्रिक टन मल ढुवानी गर्ने उनले बताए ।

नेपालमा हरेक वर्ष युरिया मल अभाव हुने समस्यालाई निराकरण गर्न उत्तरी नाका चीनबाट आयात परीक्षण गरिएको कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डेले जानकारी दिए । ‘यसअघि दक्षिणी नाकाहुँदै विरगञ्जबाट मात्र रासायनिक आयात हुन्थ्यो,’ तातोपानी भन्सारमा रहेको मल गोदामको अनुगमन गर्न पुगेका पाण्डेले भने ‘केन्द्रबाट भेण्डर खोलेर आयात गर्दा समयमा आइनपुग्ने तथा आयात कर्ताले ल्याउनै कठिनाइ भइरहेको थियो ।’ चीनबाट आयात भएको युरिया मल प्रति किलो दुईदेखि तीन रुपैयाँसम्म सस्तो पर्ने उनले बताए ।

चीनबाट आयात भएको युरिया पहिलो चरणमा सिन्धुपाल्चोक सहित काभ्रे, दोलखा लगायतका नजिकका जिल्लाहरुमा वितरणको तयारी रहेको कृषि विभागका महानिर्देशक डा। गोविन्दप्रसाद शर्माले बताए । ‘चीनबाट युरिया आयातको ट्रायल शुरु भएको छ,’ शर्माले भने ‘चीनबाट छिटो र सुलभ मूल्यमा मल नेपाल आएको र नेपाली किसानले यो वर्षबाट मलको अभाव भोग्नु पर्दैन ।’

नेपालमा भारत, बंगलादेश र चीनबाट रासायनिक मल भित्रिने गरेको छ । मल अभाव नहोस् भनेर सरकारले पर्याप्त रूपमा मलको भण्डारण गर्न लागेको भनिएपनि मल भन्सारमै अड्किएर बस्नु दुःखद कुरा भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

‘किसानहरुलाई तत्काल मल वितरण गर्नको लागि भन्सार प्रकृया तुरुन्त शुुरु गर्नुपर्छ’, श्रेष्ठले भने ‘जेठदेखि भदौसम्म मलको अत्यधिक माग हुने हुँदा समयमै किसानसम्म मल पुर्‍याउन सरकारले विशेष ध्यान दिनु जरुरी छ ।’

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८