• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

परालको झुप्रोबाट टिनको छानामा मुसहर परिवार

  • खबरदाता

परालको झुप्रोबाट टिनको छानामा मुसहर परिवार

चैत्र ४,२०७७

झापा । झापाको कनकाईमा मेयर आवास कार्यक्रम अन्तर्गत स्थानीय मुसहरहरुले नयाँ घर पाएका छन।मुसहर समुदायका अति विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको हो।

घरबिहिन परिवारलाई टिनको छाना सहितको घरको व्यवस्था दिलाउने अभियान अन्तर्गत कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरता स्वरुप वडा नम्बर ४ स्थित मुसहर बस्तीका १४ परिवारलाई टिनको छानो भएको शौचालयसहितको घर हस्तान्तरण गरेको हो ।

ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घरहरु निर्माण कार्य सम्पन्नपछि ह्याविट्याट नेपालकी राष्ट्रिय निर्देशक क्रिष्टी स्टीक्नी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्त रुपमा मेयर आवासको चावी परिवारजनलाई हस्तान्तरण गरेका हुन् । उनिहरुले चावी हस्तान्तरणसँगै आवास क्षेत्रको अनुगमन समेत गरेका थिए।

जन्मदै घरवार विहिन भएर वषौैंसम्म कष्टकर जीवन विताउँदै आएका मुसहर परिवारले शौचालयसहितको घर पाउँदा भगवानको नजर परेको भन्दै खुशी व्यक्त गरेका छन् । परालको झुप्रोमा कष्टकर जीवन बिताउँदै आएका मुसहर बस्तीका हरी रिसिदेव, सञ्जय रिसिदेव, चन्द्रा रिसिदेव लगायतले टिनको छानो भएको तीन कोठे घर पाएपछि आँफूहरुले नयाँ जीवन पाएको अनुभव सुनाए ।

झापाको कनकाई नगरपालिकाले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै विभिन्न दातृनिकाय र संघसंस्थाहरुसँगको सहकार्यमा २ सय १९ वटा घर निर्माण कार्य सम्पन्न गरी परिवारजनमा हस्तान्तरण गरिसकेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख पोखरेलले आगामी आर्थिक बर्षमा कनकाई नगरपालिकालाई जीर्ण घरमुक्त नगरपालिकाको रुपमा घोषणा गर्ने अभियानमा आँफूहरु लागेको बताएका छन् । पोखरेलले यसै आर्थिक बर्षमा समेत अन्य दातृ निकायसँग साझेदारीमा काम गर्नकालागि २ करोड रुपैँया बिनियोजन गरिसकिएको जानकारी दिए । नगरप्रमुख पोखरेलले आफूले अर्को बर्ष अन्य विकासको बजेट कटौती गरेर भएपनि कनकाईलाई देशकै पहिलो जीर्ण घरवास मुक्त नगर घोषणा गर्ने उद्घोष गरे । नेपालको पहिलो उज्यालो नगरी घोषणाको तयारीमा रहेको कनकाई नगरपालिका यस अघि देशकै पहिलो बिद्युत चुहावट मुक्त नगर घोषणा भएको छ ।

  • प्रकाशित मिति : चैत ४, २०७७, बुधवार ११:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८