• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी

  • खबरदाता

चार पुनर्बीमा कम्पनी स्थापनाको तयारी

चैत – १ , २०७७
नेपालमा थप चार पुनर्बीमा कम्पनी स्थापनाकोे तयारी भएको छ । बीमा समितिले नै थप पुनर्बीमा कम्पनी स्थापना गर्ने विषयमा अध्ययन शुरू गरेपछि सम्बद्ध योजनाकारले कम्पनी स्थापनाको तयारीलाई तीव्रता दिएका छन् ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा छ । तर, बीमा समितिले गत फागुनको तेस्रो साता नयाँ पुनर्बीमा कम्पनीको आवश्यकताको विषयमा समिति नै बनाएर अध्ययन अगाडि बढाएको छ । त्यसपछि बजारमा अन्नपूर्ण री, काठमाडौं री, प्रुडेन्सियल री र जेन्युन री नाममा पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रस्तावित अन्नपूर्ण री इन्स्योरेन्सको तयारी करीब १ वर्षअघि नै अघि बढाइएको थियो । यसबाहेकका प्रस्तावित पुनर्बीमा कम्पनीहरू खोल्ने प्रक्रिया भने हालै अगाडि बढाइएको हो ।
यसअघि पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले नयाँ पुनर्बीमा स्थापना गर्नुपर्नेमा जोड दिँदै आएका थिए । केही योजनाकारले त्यसपछि नै पुनर्बीमा कम्पनी स्थापना प्रक्रिया अगाडि
बढाएका थिए ।

प्रस्तावित अन्नपूर्ण री इन्स्योरेन्सको आवश्यक प्रक्रिया साकार ल फर्मले आगडि बढाएको छ । उक्त ल फर्मले सम्बद्ध लगानीकर्तालाई कम्पनीको प्रबन्धपत्र, नियमावलीलगायत कागजपत्रको मस्यौदा पठाइसकेको छ । लगानीकर्ताबाट पारित भएर आएपछि यस विषयमा विस्तृत रूपमा खुलाइने उसले बताएको छ ।

प्रुडेन्सियल री इन्स्योरेन्स नामक कम्पनी स्थापनाको प्रक्रिया पनि अगाडि बढाइएको छ । यसमा विशेषगरी आईएमई र विशाल ग्रूपको लगानी हुने स्रोतले बताएको छ ।

यसैगरी काठमाडौं री इन्स्योरेन्सतर्फ बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप शाह, नेपाल पुनर्बीमा कम्पनीका पूर्वअध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट महेश गुरागाईं, महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई र ज्योति विकास बैंकका सीईओ श्रीचन्द्र भट्ट मुख्य योजनाकार रहेका छन् ।

योजनाकार भट्टराईले काठमाडौं री नाममा पुनर्बीमा कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाइएको बताए । कम्पनी स्थापनाका लागि प्रबन्धपत्र, नियमावली बनाउने लगायत कानूनी कागजपत्र तयार भइसकेको जानकारी उनले दिए ।

‘हामीले योजना बनाएको २ हप्तामै आवश्यक कागजपत्र तयार पारिसकेका छौं । साथै, लगानीको प्रतिबद्धता पनि आइरहेको छ,’ उनले भने, ‘बीमा समितिले आवेदन खुला गर्नासाथ आवदेन दिन सक्ने अवस्थामा छौं ।’

उनका अनुसार कम्पनीको चुक्ता पूँजी १२ अर्बदेखि १५ अर्ब रुपैयाँसम्मको हुनेछ । त्यसमा ४० प्रतिशत शेयर संस्थागत लगानी हुनेछ भने ३० प्रतिशत शेयर व्यक्तिगततर्फ को हुनेछ । बाँकी ३० प्रतिशत शेयर भने सर्वसाधारणबाट उठाइनेछ । हाल कम्पनीका लागि व्यक्तिगततर्फबाट ६ अर्ब बराबरको लगानी प्रतिबद्धता आइसकेको भट्टराईले बताए । ‘बैंक तथा बीमा कम्पनीलाई पनि लगानीका लागि प्रस्ताव पठाएका छौं ।

तर, उनीहरूको बोर्ड बैठकबाट यस सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ उनले भने, ‘हामी इन्स्योरेन्ससम्बन्धी जानकार तथा अनुभवी व्यक्ति नै यसमा लागेका छौं । त्यसअनुसार अन्य क्षेत्रबाट पनि लगानी जुट्नेमा ढुक्क छौं ।’

कम्पनीले यसअघि १० अर्बको चुक्ता पूँजीमा कम्पनी स्थापना गर्ने भनेको थियो । अन्तरराष्ट्रिय रेटिङ कम्पनीहरूले १०० मिलियन डलरको पूँजी भएको कम्पनीलाई राम्रो ग्रेड दिने गर्छन् । १० अर्बलाई डलरमा रूपान्तरण गर्दा सो बराबरको पूँजी पुग्दैन । सोही विषयलाई दृष्टिगत गर्दै चुक्ता पूँजी बढाउने निर्णय गरिएको भट्टराईले बताए ।

जेन्युन री नामको कम्पनीको योजनाकारमा भने बीमा समितिका पूर्वकार्यकारी निर्देशक श्रीमान कार्की, बीमाविज्ञ रवीन्द्र घिमिरे लगायत छन् । उक्त पुनर्बीमा कम्पनी स्थापनाको तयारी अगाडि बढाइएको कार्कीले बताए ।

कम्पनीको चुक्ता पूँजी १० अर्बको बनाउने योजना छ । त्यसमा ३० प्रतिशत शेयर सूचीकृत कम्पनीहरूलाई दिइनेछ भने ४० प्रतिशत शेयर निजीक्षेत्र तथा व्यक्तिलाई दिने बताइएको छ । ३० प्रतिशत शेयर भने सर्वसाधारणबाट उठाउने योजना रहेको कार्कीले बताए । यसमा व्यक्तिगत लगानीकर्ताले न्यूनतम २५ लाख लगानी गर्नुपर्ने प्रावधान राखिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने थप पुनर्बीमा कम्पनी आवश्यक भए-नभएको सन्दर्भमा अध्ययन भइरहेको बताए । अध्ययनको प्रतिवेदन तयार भएपछि यस सम्बन्धमा उचित निर्णय गरिने बताए ।

प्रस्तावित पुनर्बीमा कम्पनीले पूर्णता पाउन सर्वप्रथम बीमा समितिले निश्चित कोटामा लाइसेन्स दिनेगरी आवेदन खुला गर्नुपर्नेछ । त्यसपछि प्रस्तावित कम्पनीले सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा आवेदन दिनुपर्ने हुन्छ । समितिको सैद्धान्तिक स्वीकृतिपछि सम्बद्ध कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता हुन सक्नेछन् । त्यसपछि आवश्यक पूर्वाधार तयार भएपछि समितिले कारोबारको अन्तिम स्वीकृति दिन सक्नेछ । यता योजनाकारहरूले भने बीमा समितिले नयाँ पुनर्बीमाका लागि लाइसेन्स खुलाउनुपर्नेमा जोड दिएका छन् । ‘पुनर्बीमा आफैमा अन्तरराष्ट्रिय स्तरमै व्यवसाय गर्ने क्षेत्र हो,’ जेन्युन री इन्स्योरेन्सका योजनाकार कार्कीले भने, ‘यस अवस्थामा बीमा समितिले लाइसेन्स खुलाउन कन्जुस्याइँ गर्नु हुँदैन ।’

  • प्रकाशित मिति : चैत १, २०७७, आइतवार ०१:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८