फागुन २६,२०७७
प्रधानमन्त्री केपी शर्मा ओली अचेल पुनस्र्थापित संसद बैठकका लागि भन्दै लगातार संसद भवन पुग्ने गरेका छन् । पुनःस्थापना अगाडिका बैठकमा प्राय नदेखिने गरेका प्रधानमन्त्री ओली पुनस्र्थापनापछि भने लगातार रुपमै बैठकमा जाने गरेका छन् ।तर, उनी बैठक सुरू नहुँदै फर्कने गरेका छन् ।
यही फागुन २३ गते पनि प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका थिए ।आखिर किन उनले यसो गरिरहेका छन् भन्ने कुरा प्रष्टसँग बुझ्न सकिएको छैन । स्वास्थ्यमा समस्याले गर्दा हो भनौ भने पनि उनी अरू भन्दा अगाडि नै संसद भवन पुग्छन् । त्यो पनि हैन ,तसर्थ सम्भावित कारणमा सभामुखसँगको पानी बाराबारको सम्बन्धले गर्दा प्रधानमन्त्री ओली बैठकमा बस्न खोज्दैनन् भन्ने स्रोतको दावी पनि एक हदसम्म ठीकै पो हो कि भन्ने लाग्छ ।
एक त आफूले विघटन गरेको संसद बैठकमा बस्नुपर्दा उनलाइै आफैं अप्ठारो महसुश पनि हुन सक्छ, अर्को कुरो सभामुखसँगको पानी बाराबारको सम्बन्धले गर्दा पनि उनी बैठकमा बसेर कुरा सुन्न सक्दैनन् भन्ने कतिपयको बुझाइछ । आखिर यिनै कारणहरु हुन् भने पनि सरकार प्रमुखले जनताका प्रतिनिधिको थलोलाई बेवास्था गर्दै हिड्न मिल्दैन । बैठकमा बसेर कुरा सुन्ने र उठेका प्रश्नको उनले जवाफ दिनैपर्छ ।
सर्वोच्च अदालतको आदेश मान्ने भनेपनि वर्तमान संसद पुनःस्थापनाप्रति उनलाई त्यति रुची देखिदैन । मध्यावधि निर्वाचन मार्फत दुईतिहाइ बहुमत ल्याउने सपना बोकेर हिडेका प्रधानमन्त्री ओलीलाई संसद पुनःस्थापना मन नमर्नु पनि स्वभाविकै हो ।पुनःस्थापनापछिको पहिलो बैठकमा भएको दृष्यलाई उनले पहिलो गाँसमै झिँगा परेको जस्तो भनेर टिप्पणी गरेका थिए । पहिलो बैठकमा साविकको प्रचण्ड समूह र विपक्षी दल कांग्रेसले नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई हटाएर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने भनेर हिडे्का प्रचण्ड र माधव दुबैलाई सर्वोच्चले अलग पारिदिएको छ । अहिले सत्तासमीकरणका लागि विभिन्न शक्तिहरुबीच जोडघटाउ भईरहेको छ । सत्ताको भर्याङ बन्न तयार भएको जसपाले सुरक्षाकर्मीको हत्याको अभियोगमा जेल परेका रेशम चौधरीको रिहाई र संविधान संशोधनको माग अघि सारेको छ । राजनीतिकका चातुर खेलाडी ओलीले सत्ता उम्कन नदिन जसपाको माग पनि पूरा गर्छु भन्न बेर लगाउँदैनन् ।अहिले सत्ता गठबन्धनका लागि जसपा,कांग्रेस,एमाले र माओवादी केन्द्र विशेष रुपले दौडमा रहेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८