आज नेकपाको फैसला , संसदमा मुठभेडको सम्भावना !

  • खबरदाता
  • फागुन २३, २०७७

फागुन २३,२०७७

आज निकै पेचिलो दिन, नेकपाको आधिकारिकता फैसला हुने, संसदमा मुठभेडको सम्भावना
बहुप्रतीक्षित नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । राष्ट्रिय राजनीतिको गतिरोधसँग जोडिएको एक महत्त्वपूर्ण मुद्दाको फैसलाले ठूला दल र नेताहरूको राजनीतिक भविष्यको समेत फैसला गर्नेछ ।

सत्तारुढ दल नेकपाका दुई खेमाको आधिकारिकताको संघर्ष संसद र निर्वाचन आयोगमा चलिरहँदा सर्वोच्चमा विचाराधीन बेग्लै मुद्दाले पनि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासमेतको भाग्यको फैसला गर्नेछ ।

२०७५ जेठमा दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्र मिलाएर नेकपा बनाइएको थियो, जसको नेतृत्व क्रमशः प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेका थिए । तर उनीहरुले जुन नाममा एकीकृत दल निर्वाचन आयोगमा दर्ता गरेका थिए, त्यही नामको अर्को दल आयोगमा पहिला नै दर्ता भइसकेको थियो ।

ऋषि कट्टेलको नेतृत्वमा दर्ता गरिएको उक्त दलको नामसँग भिन्न देखाउन नेपाल कम्युनिस्ट पार्टीको छोटकरी रुप कोष्ठभित्र (नेकपा) लेखिएको थियो । जुन ठूला दलले गरेको बलमिच्याइँ र निर्वाचन आयोगको लाचारी भन्दै कट्टेल सर्वोच्च अदालत पुगेका थिए ।
कट्टेलको उक्त मुद्दा सुनुवाइ सकिएर अब फैलाका लागि परिपक्व भएको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले गर्ने फैसलाले हालको सत्ता राजनीति र नयाँ समीकरणका खेललाई समेत प्रभावित पार्न सक्नेछ ।

यस मुद्दामा निवेदक कट्टेलको मागबमोजिम नाम कट्टेलकै पार्टीको हुने र अरुले प्रयोग गर्न नपाउने फैसला भएमा नेकपाको एकीकरण खारेज हुनेछ । एकीकरण प्रक्रिया नै पूरा नभएको भन्दै पूर्वदुई पार्टी एमाले र माओवादी अलग हुन पाउनेछन् । अर्थात्, ती दुवै अलगअलग पार्टी नै रहेको ठहर हुन सक्नेछ । यसो भएमा हाल दुई चिरा भएका ओली र दाहाल आआफ्नो बाटो लाग्न सहज हुनेछ । माधव नेपाल र झलनाथ खनाल समूह भने अलपत्र पर्नेछन् । उनीहरु दलीय हैसियतमा बस्न चाहे ओलीसँगै पूर्वएमालेमा बस्नुपर्नेछ । नभए दलीय हैसियत त्यागेर सांसद समेत नरहने गरी दाहालको माओवादी पार्टीको सदस्यता लिनुपर्नेछ ।
यस्तै आजै पुनर्स्थापित संसदको पहिलो बैठक बस्दै छ । एकअर्कालाई जसरी पनि सिध्याउने मनसुवामा रहेका नेकपाका दुई खेमाबीच संसदमै मुठभेड हुन सक्ने देखिएको छ । संसद बैठकमै कुनै अप्रिय घटना पनि हुन सक्ने कतिपयको आकलन छ ।
यता निर्वाचन आयोगले पनि आज साँझसम्म कुनै निर्णय सार्वजनिक गर्न सक्ने सम्भावना छ । नेकपा आधिकारिकता विवादमा सर्वोच्च न्यायालय र निर्वाचन आयोगले दिने निर्णयले संसदका गतिविधि पनि प्रभावित हुने भएकाले आजको दिनलाई निकै सकसपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८