• कात्तिक ४, २०८३, बुधवार Wednesday, 21 October, 2026

जर्मनीमा पुनः लकडाउन थपियो

  • खबरदाता

जर्मनीमा पुनः लकडाउन थपियो

फागुन २१,२०७७

बर्लिन ।जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।

सरकारले लकडाउनको समयावधि फेरि बढाए पनि केही व्यवस्थामा भने लचकता अपनाएको अधिकारीहरूले जानकारी दिएका छन् । अत्यावश्यक सेवा सञ्चालन गर्न कुनै बाधा नरहेको र अत्यावश्यक नरहेका कामहरू भने नगर्न आग्रह गरिएको समाचारमा जनाइएको छ । तर कोरोनाको महामारी कम देखिएका क्षेत्रमा अत्यावश्यक नमानिने व्यवसायहरू पनि खोल्न दिइने भएको छ ।

चान्सलर एङजेला मर्केल र १६ राज्यका गभर्नरहरूबीच भएको छलफलको नौ घण्टा पछि लकडाउनको समयावधि थप्ने निर्णय भएको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएकाले लकडाउनको समयावधि थप गर्नु पर्ने निश्कर्षमा सबै जना पुगेको अधिकारीहरूले जनाएका छन् ।

महामारी फैलिने क्रम चलिरहेकाले जनजीवन सामान्य हुन अझै केही समय लाग्ने देखिएको उनीहरूको भनाइ छ । जर्मनीमा कोरोनभाइरसका कारण बिहीबार मात्रै नौ हजार १९ जना नयाँ सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या २० लाख ४६ हजार पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा जर्मनीमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका ४१८ जनाको मृत्यु भएको छ भने अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या ७० हजार ८८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : फागुन २१, २०७७, शुक्रवार ०१:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८