• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

अहिलेको राजनीतिक अभियुक्त केपी ओली : पौडेल


अहिलेको राजनीतिक अभियुक्त केपी ओली : पौडेल

अहिलेको राजनीतिक संकटको निर्णायक भूमिकामा काँग्रेस पुग्दै गर्दा उसले सर्वोच्चको निर्णय पर्खदै थियो । सर्वोच्चको निर्णय आएर संसद पुनस्थापना भइसक्दा पनि काँग्रेस कुन मोडलमा अगाडि बढ्ने भन्ने कुरामा अहिले सम्म अनिर्णीत छ ।

केपी शर्मा–फागुन २०, २०७७
चितवन । देशमा राजनीतिक विषम परिस्थिती निर्माण भएको बेला यसको समाधानका लागि काँग्रेसको पहिलो भूमिका रहने काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । झण्डै दुई तिहाइको सरकार चलेर तीन वर्ष पार गरिसक्दा आफ्नै आन्तरिक द्वन्द्वमा पिल्सिएको नेकपाकै कारण राजनीतिमा यो अवस्था सृजना भएको उनको भनाई थियो ।

परिस्थिती जे भएपनि यसका दोषी प्रधानमन्त्री केपी ओली नै भएको पौडेलको भनाई थियो । चितवनको भरतपुरमा विहिवार प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने,“अहिलेको यो परिस्थितीको राजनीतिक अभियुक्त केपी ओली हुन् । त्यसैले अभियुक्त बाहेकसँग काँग्रेसको सहकार्य हुनसक्छ ।”

अहिलेको राजनीतिक संकट काँग्रेस बाहेक अरु कसैले पार लगाउन नसक्ने उनले दावी गर्दै भने,“विघटनबाट बचेको प्रणाली अव विकृतीबाट बचाउनुपर्ने अवस्था आएको छ । यसैका लागि म एक्लैपनि ज्यान दिएर लागिपरेको छु । ”

कम्युनिष्ट र काँग्रेसको सिद्धान्तनै फरक भएकाले उनीहरुसँगको सहकार्यमा सरकारमा जाने भन्ने कुरै आउँदैन अवको दुई वर्ष काँग्रेस प्रतिपक्षमै बस्दा राम्रो हुने उनको भनाई थियो ।

कम्युनिष्टको कुन समूहलाई सहयोग गरेर जाने भन्ने विषय पदाधिकारी र संसदीय दलको बैठकबाट नभई केन्द्रीय समितिको बैठक बोलाएर निर्णय लिनुपर्नेमा उनको जोड थियो । त्यसका लागि आफूले आज बस्ने पदाधिकारी बैठकमा प्रस्ताव लैजाने बताए ।

निर्वाचनको आयोगको निर्णय क्षमता कमजोर भएका कारण नेकपाको दल विभाजनको टुँगोमा नपुगेको उनले बताए । उनले भने,“कम्युनिष्ट पार्टी अव विधिवत रुपमा संसदबाट फुट्ने भयो । ” बेलायतमा संसदबाट पार्टी बन्छ पौडेलले भने, “नेपालमा पार्टीबाट संसद बन्ने परिपाटीछ । अहिले नेकपा बेलायको मोडमा पुगेको छ जुन अनौठो हो ।”

पत्रकारसँग कुराकानी गर्दै पौडेलले आफू कुनैपनि पदको लालची नभएको बताए । उनले भने,“मलाई पहिले पनि प्रथम राष्ट्रपतिको प्रस्ताव आएको थियो । तर मैले त्यसलाई इन्कार गरेँ । मेरो भूमिका पार्टीको लागि धेरै छ । अव म बाचुन्जेल राष्ट्रपति बन्दिन ।”

साथै पौडेलले आफूले प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि छोडेको प्रसंग उल्लेख गर्दे भने,“पहिलो पटक संविधान सभा असफल हुनुअघिको अन्तिम दिनमा प्रचण्डले बालुवाटार बोलाएर मलाई प्रधानमन्त्री प्रस्ताव गर्दा मैले मानिन । जुन वेला बाबुराम प्रधानमन्त्री थिए । प्रचण्डले १० वटा प्रदेश राखी संविधान पास गराउने गरी मलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । ”

अहिलेको सरकारले गरेको संवैधानिक नियुक्ति पूर्णरुपमा खारेजनै हुनुपर्ने उनको भनाई थियो । असवैधानिक आधारमा संवैधानिक नियुक्ति गर्न खोजिएको भन्दै उनले भने,“अध्यादेश ल्याउनुनै असवैधानिक थियो । संसद विघटन पछि दुई जना मात्रै बसेर गरिएको निर्णय असवैधानिक हो । त्यसैले ती सवै नियुक्ति खारेज हुनुपर्छ ।”

कार्यक्रम प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालको सभापतित्वमा भएको थियो ।

  • प्रकाशित मिति : फागुन २०, २०७७, बिहीवार ०३:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८