यी हुन् कोभिड-१९ खोपबारे जान्नैपर्ने १० तथ्यहरु

  • फागुन १०, २०७७

 

 दीपक अधिकारी,  फागुन १०,२०७७

नेपाल सरकारले माघ १४ बाट विभिन्न चरणमा लगाउन सुरु गरेको कोभिड(१९ विरुद्धको खोप कार्यक्रमबारे मानिसहरूमा विभिन्न जिज्ञासा र संशय रहेको पाइन्छ।

नेपालमा हाल बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेर भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोगमा छ।

गत फागुन ६ गते चीनको सिनोफार्म नामक औषधि कम्पनी अन्तर्गत रहेर बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनीले विकास गरेको भेरो सेल नामको खोपलाई नेपालको औषधि व्यवस्था विभागले आपत्कालीन प्रयोगका लागि अनुमति दिएसँगै कोभिड १९ विरुद्धको अर्को खोप पनि नेपाल आउने भएको छ।

कान्तिपुरमा प्रकाशित एक समाचार अनुसार खोप ल्याउने प्रक्रिया सहज बनाउनका लागि फागुन ४ गते बसेको मन्त्रिपरिषदको बैठकले खोप खरिद सहज गर्न सार्वजनिक खरिद ऐन(२०६३ का केही प्रावधान लागु नहुने निर्णय गरेको छ। सिरम इन्स्टिच्युट अफ इन्डियाबाट कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि त्यसो गरिएको हो । सरकारले ४ अमेरिकी डलरका दरमा २० लाख डोज खोप खरिद गर्ने जनाएको छ।

मध्य फागुनसम्ममा १० लाख र मध्य चैतसम्म बाँकी १० लाख डोज खोप ल्याउने सरकारको तयारी छ।

बीबीसी नेपाली सेवासँगको कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले समेत कोभिसिल्ड खोपको थप २० लाख मात्रा सुनिश्चित गर्ने काम टुङ्गोमा पुगिसकेको र बाँकी थप मात्रा खोप सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र कोभ्यासबाट आउने बताएका छन्।

१.कोभिसिल्ड खोप क-कसलाई लगाइँदैछ  ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबै नेपालीलाई पुग्नेगरी खोपको परिमाण एकैपल्ट उपलब्ध गराउन नसकिने भएकोले प्राथमिकताका आधारमा सबैलाई चरणबद्ध रुपमा दिइनेछ।

स्वास्थकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापक, वृद्धाश्रममा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरु र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा खटिएका सेवाप्रदायकलाई पहिलो प्राथमिकतामा राखिएको छ।

दोस्रो चरणको खोप अभियान अन्तर्गत ५५ वर्ष माथिका महिला तथा पुरुषलाई प्राथमिकता दिइने जनाइएको छ।

साथै ४० देखि ५४ वर्ष उमेर समूहका दीर्घरोघ भएका व्यक्ति, दीर्घरोग भएका शरणार्थी र प्रवासी कामदारलाई पनि यसै चरणमा खोप लगाइन्छ। तेस्रो चरणमा १८ वर्षभन्दा माथि उमेर समूहकाले पनि खोप लगाउन पाउने छन् ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा खोपको उपलब्धतालाई हेरेर बढीमा फागुन २३ नभए त्यस अघि नै ६० वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई सरकारले खोप लगाइने बताएका छन् ।

२. कोभिसिल्ड बाहेक अर्को कुन-कुन खोप नेपाल आउँदैछ ?

औषधि व्यवस्था विभागले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको खोप भेरो सेललाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ।

यसअघि नै चीनले पाँच लाख डोज चिनियाँ खोप अनुदानमा दिने प्रतिबद्धता जनाएको खबरहरू सार्वजनिक भए पनि अहिलेसम्म नेपालमा चीनमा निर्मित कोभिडका खोप भने आइसकेको छैन।

नेपाल सरकारले गठन गरेको खोपसम्बन्धी विज्ञ समूहका संयोजक डा श्यामराज उप्रेतीले साउथ एसिया चेकलाई भने, “चीनको खोपलाई अनुमति दिँदैमा त्यो ल्याउनैपर्छ भन्ने छैन। प्रयोग नै गर्नपर्छ भन्ने छैन। निजी क्षेत्रले पनि ल्याउन सक्छ। अहिले प्रयोग गरिएको खोप नपाइएमा त्यो प्रयोग गर्न सकिन्छ।”

अहिले सरकारले किन्न लागेको थप २० लाख डोज कोभिसिल्ड हो।

३. कोभ्याक्स अन्तर्गत के हुँदैछ ?

कोभ्याक्सबाट पाइने खोप चरणवद्ध रुपमा देशहरूमा भित्रिन्छन्। यसबाट कुल जनसंख्याको २० प्रतिशत अर्थात् ६० लाख नेपालीलाई खोप उपलब्ध हुने बताइएको छ।

दुईवटा डोजको १ करोड २० लाख र थप १० लाख गरी १ करोड ३० लाख त्यस अन्तर्गत नेपाल आउने बताइएको छ।

डा .श्यामराज उप्रेती भन्छन्, “कोभ्याक्स संयन्त्रले जुन देशमा जुन चलाउन सजिलो हुन्छ, त्यो खोप दिन्छ। अहिलेसम्म कोभिसिल्ड नै दिने कुरा भइरहेको छ। २२ लाख मात्रा चाहिँ फेब्रुअरीको अन्तिम वा मार्चको सुरुमा आउँछ।”

गरीब राष्ट्रहरूलाई अनुदानमा खोप दिने कोभ्याक्स एउटा अन्तर्राष्ट्रिय संयन्त्र भएकाले यसमा विभिन्न कम्पनीहरूले आफ्ना उत्पादनको निश्चित हिस्सा खोप योगदान गर्छन्।

४. सरकारले लगाउने ‌खोप छनोट गर्ने अधिकार हुन्छ कि हुँदैन?

विश्वको जनसङ्ख्याको ६० देखि ७० प्रतिशतले खोप लगाउँदा मात्र कोभिड(१९ का प्रति प्रतिरोध क्षमता बन्नसक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। नेपालले समेत कुल जनसङ्ख्याको सोही आसपासमा मानिसहरूलाई कोभिड-१९ खोप दिने योजना बनाएको छ।

तर श्यामराज उप्रेतीले एकै देशमा खोपका विभिन्न छनोटका विकल्प भएमा यसले जटिलता सिर्जना गर्छ भन्ने आफूलाई व्यक्तिगत रूपमा लागेको बताउँछन्।

उनले भने, “सरकारको कार्यक्रममा एउटै खोप लगाउनुपर्छ जस्तो मलाई लाग्छ।”

विभिन्न संस्थाले विकास गरेका खोपको प्रभावकारिता भिन्न भिन्न पाइएकाले मानिसहरूको रोजाइ सोही अनुसार हुनसक्ने सम्भावना रहेको सरकारी अधिकारीहरू ठान्छन्।

सबैजसो खोपहरू आपत्कालीन प्रयोगका लागि रहेको र त्यसै पनि त्यो लगाउनेहरूले समेत आफूले कुन खोप लगाएको छु भन्ने उनीहरुले थाहा पाउनुपर्ने विज्ञहरू बताउँछन्।

तर यस विषयमा अहिलेसम्म कुनै निर्णय भइसकेको छैन।

५ .खोप कसले लगाउनु हुँदैन रु १८ वर्ष मुनिकाले किन लगाउनु हुँदैन ?

स्वास्थ्य मन्त्रालयले गर्भवती, स्तनपान गराइरहेका र गर्भवती हुने योजना बनाएका महिलाले कोभिडको खोप लिनु नहुने एक सूचनामा जनाएको छ।

स्वास्थ्य मन्त्रालयको खोप शाखा प्रमुख डा झलक गौतमले भने, “हाइपर सेन्सिटिभ समूह अर्थात् कोभिड भ्याक्सिनको एलर्जी हुने बाहेकका सबैले लगाउँदा हुन्छ ।”

उनले भने, “गर्भवती, स्तनपान गराइरहेका महिलाले लगाउनै हुन्न भन्ने होइन, हामीले सावधानीका लागि त्यसो भनेको हौँ । गर्भवती महिलामा परीक्षण नभएको र परिणाम के हुन्छ थाहा नभएकोले सावधान हुनु जरुरी छ।”

तर अहिले नेपालमा गर्भवतीलाई यो खोप लगाउन भने नदिइएको डा गौतमले बताए।

स्वास्थ्य मन्त्रालयको अनुसार १८ वर्ष मुनिका बालबालिकामा खोपको प्रभावकारिता र सुरक्षाको अनुसन्धान भइरहेकोले उक्त उमेर समूहलाई हाल त्यो खोप दिइन्न।

६. कुन कुन खोपलाई विश्व स्वास्थ्य स‌‌ंगठनले अनुमति दिएको छ ?

विश्व स्वास्थ्य संगठनले हालसम्म एस्ट्राजेनेका र अक्सफोर्डले विकास गरेको खोपका दुई संस्करणलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । त्यसमा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र दक्षिण कोरियाले उत्पादन गरेको खोप पर्दछन् । त्यसैगरी गत डिसेम्बरमै उसले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको खोपलाई पनि आपत्कालीन प्रयोगको अनुमति दिइसकेको छ ।

७. खोप लगाउनका लागि पूरा गर्नुपर्ने प्रक्रिया के छन् ?

खोप शाखाका प्रमुख डा झलक गौतमका अनुसार खोप लगाउनको लागि अहिलेको अवस्थामा प्राथमिकतामा पर्ने वर्गले नामावली तयार भएपछि परिचयपत्र देखाई खोप लगाउन सक्छन्।

“कार्यालयका कर्मचारीको हकमा कार्यालयले प्रमाणित गर्नुपर्छ। समुदायमा जाँदा पालिका र वडाहरुले प्रमाणित गर्नुपर्ने हुन्छ,” उनले भने ।

८. कोभिसिल्ड खोप लगाएपछि यसका के-कस्ता असर देखिन्छन् ?

स्वास्थ्य मन्त्रालयले जारी गरेको जानकारी अनुसार कोभिसिल्ड खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, थकाइ र आलस्य महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी हुने, मांशपेशी वा जोर्नी दुख्ने आदि हुन्छ।

९. यो खोपले कति समय काम गर्छ ?

विश्व स्वास्थ्य सङ्गठनको कन्भरसेसन इन् साइन्स नामक कार्यक्रममा डा। क्याथरिन ओ ब्रायनले यो खोपले कति समय काम गर्छ भन्ने कुरा अध्ययन भइरहेको जनाउँदै हालसम्म त्यसको परिणाम नआएकोले यकिनका साथ भन्न नसकिने बताएकी छन्। “यो खोपले प्रदान गर्ने रोग प्रतिरोधात्मक क्षमताले कति समय काम गर्छ र फेरि कोभिड-१९ ले संक्रमण हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन,” उनले भनिन् ।

१०. खोप लगाएपछि के कस्तो सावधानी अपनाउनुपर्छ ?

खोप लगाएपछि पनि सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने र ठूलो स‌ङ्ख्यामा भेला गर्नु नहुने बताइएको छ।

डा. ब्रायन भन्छिन्, “अहिले खोप सबै उमेर समूहको लागि बनिनसकेको र सबैका लागि खोप उपलब्ध नभएकाले सावधानी अपनाउनुपर्छ।” (साउथ एशिया चेकबाट)

  • प्रकाशित मिति:फागुन १०, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८