• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

असार ५ गते निर्वाचन गर्ने कसरत !

  • खबरदाता

असार ५ गते निर्वाचन गर्ने कसरत !

फाल्गुन ७,२०७७

वैशाख १७ र २७ गते गर्ने भनिएको मध्यावधि निर्वाचन करिब टरेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा निर्वाचनको अडानबाट भने पछि हटेका छैनन् ।

निर्वाचन आयोगले नेकपाको विवाद निरुपण र चुनावी तयारीबाट करिब हात झिकिसकेको छ । प्रधानमन्त्री ओलीले नै नियुक्त गरेका आयुक्तहरुको बाहुल्य रहेको आयोग किन निर्वाचन कार्यक्रमलाई गति दिइरहेको छैन भन्ने पक्षचाहिँ आश्चर्यजनक छ ।

जे भए पनि संसद विघटन एउटा यथार्थ हो । यसको ठाउँमा अर्को संसद नआएसम्म ओली विस्थापनको सम्भावना छैन । तर, नयाँ चुनाव हुने वातावरण पनि छैन ।

मुलुकको राजनीतिलाई कता डोर्याउने भन्नेमा अब सर्वोच्च अदालतको मुख्य हात देखिन्छ । त्यसमा पनि प्रधानमन्त्री चोलेन्द्रशमशेर राणाको भूमिका विशेष छ ।

राणाले के गर्छन् भन्ने कुरा अहिलेसम्म अनुमानकै विषय छ । शुक्रबारसम्म एमिकस क्युरीका सबै सदस्यको बहस सकिनेछ । पक्ष विपक्षको बहस सकिइसकेको छ । अबको एकदेखि डेढ हप्ताको बीचमा विघटन मुद्दामा फैसला आउने अपेक्षा गरिएको छ । अदालतको मुड बुझ्दा पनि त्यही देखिन्छ ।
यता उच्च राजनीतिक तहमा भने असार ५ गतेसम्म भए पनि चुनाव गर्नैपर्ने छलफल भइरहेको छ । यस छलफलमा चुनाव पक्षधर सबै दल र अन्य राजनीतिक पक्षहरु सामेल छन् । अदालतले विघटन सदर गरिदिएमा निर्वाचन आयोगकै अनुरोधमा सरकारले चुनावका लागि असार ५ को नयाँ तिथि घोषणा गर्ने प्रबल सम्भावना छ ।

चुनाव भए पनि नभए पनि मुलुक अब रणमैदान हुनेचाहिँ निश्चित । फरक यत्ति हो कि, संसद पुनर्स्थापना भएमा संसद नै रणमैदानमा परिणत हुनेछ । अदालतले विघटन सदर गरिदिएमा सडक रणमैदान बन्नेछ । सडकलाई रणमैदान बनाउने कि सदनलाई भन्ने निर्क्योल गर्ने भूमिकामाचाहिँ अहिले अदालत रहेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापना भएमा नेताहरु आपसमै मारमुंग्री गर्नेछन् भने चुनाव भएमा जनताका छोराछोरीले टाउका फुटाउनेछन् । पुनर्स्थापना भएमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी नैतिक रुपमा पदमा रहन मिल्ने छैन भने विघटन सदर भएमा नेकपाको दाहाल खेमालाई राजनीतिक रुपमा पत्तासाफ हुन सक्नेछ । चुनावको विरोध र बहिष्कार गर्ने क्रममा यो खेमा आफै बहिष्कृत र किनारीकृत हुनेछ । यो बाटो भनेको प्रचण्डका दुई राजनीतिक गुरु मोहनविक्रम सिंह र मोहन वैद्यमध्ये एक बन्ने बाटो हो ।

तर रोचक के छ भने प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्दा राजीनामा दिएका छैनन् । केही गरी सदन फर्केर नै आयो भने पनि या त उनका विरुद्धमा बहुमत प्रमाणित गर्नुपर्नेछ, या त फेरि राजीनामाको माग गर्दै अहिलेको जस्तै किस्ताबन्दीको आन्दोलन गर्नुपर्नेछ । नभए लुरुलुरु उनले बोलाएको संसदीय दलको बैठकमा गएर धारे हात लगाउनुको विकल्प हुने छैन ।

संसदीय दलमा बहुमत पुर्याउन नसकेसम्म ओलीलाई प्रधानमन्त्रीबाट हटाउन पनि मुस्किल छ । संसद फर्केर आएमा दाहालहरु पार्टीबाट बाहिरिए या त प्रधानमन्त्री ओलीलाई देउवाले भरथेग गरिदिन सक्नेछन् । या त न ओलीले विश्वासको मत प्राप्त गर्ने, न त नयाँ सरकार बन्ने अवस्था सिर्जना भई पुनः प्रतिनिधि सभा विघटनको अवस्थासम्म मुलुक पुग्नेछ । त्यस अवस्थाको विघटन वैधानिक र युक्तिसंगत पनि हुनेछ । तर, आफैले विघटन गरेको संसद फर्केर आएमा त्यही संसदमा बस्ने र प्रधानमन्त्री खाइरहने नैतिकता भने ओलीले गुमाउनेछन ।

  • प्रकाशित मिति : फागुन ७, २०७७, शुक्रवार ००:५५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८