• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

बकाइनोको रुखमा अल्झिएको हाम्रो जिन्दगी


बकाइनोको रुखमा अल्झिएको हाम्रो जिन्दगी

 

सरकारले यस्ता परम्परागत मौलिक बाजाहरु बचाइराख्ने यो समुहकै संरक्षण गर्नुपर्ने बेला आएको छ ।

केपी शर्मा – फागुन ६,२०७७

एउटा हातमा सारंगी , काधमा मइलो पुरानो तर ठूलो झोला बोकेर टडिङ…..टिडिङ…..बजाउँदै मुग्लिङ बजारको चोकमा घुमिरहन्छन् उनी ।

जता गाडी रोक्यो सारंगीको मीठो धुन निकालेर बजाउँदै र केही गुनगुनाउँदै त्यतै लाग्छन् उनी र सारंगीको वखान गर्दै ग्राहक फकाउन थाल्छन।

लमजुङ राइनोसका सुनील गन्धर्वको मुग्लिङको बजारमा दिन वित्न थालेको भने धेरै भएको छैन । कोरोना सँगै लागेको लकडाउन केही खुकुलो भएर यातायातका सवारी साधन जसो तसो चल्न थालेपछि उनी यहाँ झरेका हुन । मुग्लिङको लागि नयाँ भएपनि सारंगी वेच्ने पेशा भने पुरानै हो उनको ।

लकडाउन लाग्नु भन्दा अगाडी सम्म धेरै बर्ष काठमाण्डौको ठमेलमा सारङीको व्यापार गर्थे सुनिल। तर कोरोनाका साथसाथै ठमेल जव पूर्ण रुपमा बन्द भयो तव उनी पनि विस्थापित भए । केही समय त ठमेल खुल्ने आसमा तेतै बसे जब लामो समय बन्द भयो र खुल्ने अनिश्चित भयो तब उनी भोको पेट पाल्न गाउँ तिर लागे ।

सुनिलको व्यापारको कुनै सिमा छैन । यतिनै बिक्री हुन्छ भन्ने पनि छैन । कहिले काहिँ ३,४ वटानै विक्रि गर्छन भने कहिले १ हप्ता सम्म विना विक्रि डुलीमात्र रहन्छन् । तर पनि दैनिक पन्ध्र सय दुई हजार भने कमाइने गरेको बताउँछन उनी।

सारंगी विशेष गरी खमारीको रुखबाट बनाउने गरिन्छ तर अहिले सो प्रजातीका विरुवा लगाउन र पाउन छाडिएपछि विकल्पमा बकाइनो प्रयोग गर्ने गरेको सुनील बताउँछन् ।त्यति मात्र हैन बाख्राको छाला र जाल बुन्ने तार पनि प्रयोग हुन्छ यसमा । उनी भन्छन् ,“वकाइनो पनि पाउन छाडियो । वाख्रा पाल्ने चलन हराएसँगै घाँसका लागि प्रयोग गरिने बकाइनो पनि हराउँदै गयो ।

बकाइनो पाउन पनि निकै समस्या छ अहिले। बकाइनोको खोजीमा गाउँगाउँ सम्म पुग्ने गर्छन उनी लगायत केही समुह । तर पछिल्लो समय भने उनीहरुले आफै बकाइनोको विरुवा लगाउन थालेका छन। सारंगी बनाउन सिँगो बकाइनो चाहिन्छ । एउटै ठेकोलाई काटेर ताछेर बनाउने गरिन्छ । सारङी बनाउन सजिलो भने छैन । निकै मिहिनेत र परिस्रम गर्नु पर्छ । सामान्य खालको सारंगी बनाउन पनि लामै समय लाग्छ । राम्रो बुट्टा भरेर वनाउने हो भनेत एउटै तयार गर्न २,३ दिननै लाग्छ।

मुग्लिङ बजारमा सुनिल एक्ला गन्धर्व भने होइनन् । उनी सहित ७,८ जनानै छन् सारंगी बनाएर बच्ने । अझ त्यतिकै संख्यामा छन् गाडी, गाडीमा गएर सारंगी रेट्ने पनि । सुनिलका माइलो,साइलो र काइलो बुवा पनि सोही क्षेत्रमा सोही पेशामा छन। यो उनको खान्दानी पेशा नै हो । भन्छन्,“मेरो परिवार पुरै यसै पेसामा छ । वास्तवमा भन्नुपर्दा बकाइनोको रुखमा अल्झिएको हाम्रो जिन्दगी जस्तै छ ।अब त बिना बकाइनो नो जिन्दगी जस्तै भैसक्यो।”

उनको बुवा र दाजुले त समुन्द्र व्याण्डनै खोलेर सारंगी बनाउन देखि बजाउन समेत सिकाउने गरेका छन् । दया र मायाको भरमा चलेको छ व्यापार । सवैले यो किन्दैनन् । किनकी धेरैलाई साँरगी के हो भन्ने सामान्य ज्ञान पनि छैन । दुई प्रकारले यसको व्यापार हुने गरेको अनुभव छ उनको । पहिलो दया हुने जसले गरिखान वसेको रहेछ भनेर खरिद गर्छन् । उनीहरु सँग मायाको भाव पनि पाइन्छ । अर्कोथरी भने लोप हुन लागेको वाजालाई संरक्षण गर्नुपर्छ भन्ने र घरमा सजाएर राखौँ भन्नेले खरिद गर्छन् ।

उनले बनाएका सारंगीमा विभिन्न आकृति समेत दिने गरेका छन् । कुनैमा भगवानको चित्र छ भने कुनैमा राष्ट्रिय झण्डा समेत अंकीत गरेका छन् । सारंगीको आकार हेरेर एक हजार देखि २ हजार रुपैया सम्ममा विक्रि गर्ने गर्छन। तर सडकको ब्यापार भएकोले बार्गेनिङ धेरै हुने गरेको बताउँछन सुनिल। कसैकसैले भने दया मायाले २५ सय तीन हजारनै दिने गरेको पनि सुनाए उनले।

आफ्नो मौलिक बाजालाई अहिले सम्म बचाएर राख्न सएकोमा आफूप्रति गर्बछ सुनिललाई । उनी भन्छन्, सरकारले पुरानो वस्तुकला बचाउन अन्य क्षेत्रमा करोडौ खर्च गर्छ तर हामीले यतिका सयम सम्म मौलिक बाजा बचाइराख्दा कुनै मतलव छैन । सरकारले यो बाजाको संरक्षणप्रति उदासीनता देखाएको उनको बुझाई छ ।

  • प्रकाशित मिति : फागुन ६, २०७७, बिहीवार ०५:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८