प्रधानमन्त्रीका तीन बर्ष : राज नेता कि भङ्जा खेलाडी !

  • खबरदाता
  • फागुन ०४, २०७७

फागुन ४,२०७७

प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री भएको आज तीन वर्ष पुगेको छ । तीन वर्षअघि लगभग दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री बनेका केपी ओलीले अहिले भने प्रतिनिधिसभा विघटन गरेर निर्वाचन गराउने तयारीमा छन् । उनी प्रधानमन्त्री हुँदा पूर्वएमाले र पूर्वमाओवादी पार्टीको दह्रो गठबन्धन बनेको थियो। केपी ओली एकीकृत नेकपाको शक्तिशाली अध्यक्ष बन्ने तयारीमा थिए ।

अहिले भने नेकपा फुटेर एउटा टुक्रा मात्रै लिएर अघि बढ्ने कसरतमा छन् । यो बीचमा उनको सक्रियता, उनले गरेका काम र व्यवहारलाई हर्दा उनी कुन स्तरको नेता होलान् रु राजनेता कि आफू जित्न जे पनि गर्न तयार हुने चतुर खेलाडी मात्रै ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको गुटमा रहेका नेता–कार्यकर्ताले राजनेता भन्न रुचाउँछन् । उनी ऐतिहासिक राजनेताको कोटीमा पर्ने नेता हुन् भन्ने गर्छन् । उनको गुटबाहेकका राजनीतिक दलका नेताहरू, बौद्धिक जगत, साहित्यकार, पत्रकार, लेखक, कानुनविद्हरूले भने आफ्नो जितका लागि जे पनि गर्न पछि नपर्ने, हठी र लहडी नेताका रूपमा हेर्न थालेका छन् । केपी ओली २०७२ मा पहलो पटक प्रधानमन्त्री भएका बेला भारतले लगाएको नाकाबन्दीको विरोध गरेकाले उनको छवि राष्ट्रवादी बन्न पुग्यो । उनले त्यही बेला चीनको भ्रमण गरेर पारवहनसम्बन्धी विभिन्न सहमति र नेपालका लागि चीनबाट इन्धान आपूर्तिको समेत सहमति गरेकाले पनि उनको छवि अझ उज्यालिएको थियो । हुन त चीनसँग गरिएका कुनै पनि सहमति अहिलेसम्म कार्यान्वयनमा आएका छैनन् ।

केपी शर्मा ओलीलाई राजनेता बन्ने अवसर त आएकै हो तर उनले त्यो अवसर गुउँदै गएको आमबुझाइ छ । पछिल्लो समय त उनी राष्ट्रिय र पार्टीको समस्यासँग भागेर आफ्नो स्वार्थपूर्तिका लागि जे पनि गर्ने नेताका रूपमा चिनिन थालेका छन् । अब पनि उनी आफू कमजोर हुने अवस्था आए जुनसुकै निर्णय गर्न सक्छन् भन्ने जनधारणा बन्न थालेको देखिन्छ । ओली प्रधानमन्त्री हुँदा उनको पक्षमा लगभग दुई तिहाई बहुमत थियो । प्रतिपक्षी दल कमजोर थियो । उनले नै प्रतिपक्षी दल कहाँ छ भन्दै कटाक्ष गर्थे, त्यस्तो बेलामा उनले नेपालको शासन सत्ताको कायापलट गर्न सक्थे ।उनको कदमको बाधक काही पनि हुने अवस्था थिएन । प्रधानमन्त्री ओली त्यसमा पूर्णरूपमा असफल देखिए ।

प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै भनेका छन्– पार्टीभित्रैबाट समानान्तर सत्ता चलाउने प्रयत्न गरियो त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गर्न बाध्य भएँ । यहाँनिर उनी राजनेता हुने अवसर गुमेर भगौडा र लहडी प्रधानमन्त्री बन्न पुगे । उनले कहिल्यै समर्थन नगरेको विद्रोही माओवादी पार्टी एकीकरण गरेका थिए। सो पार्टीका शीर्ष नेतासँग सम्झौतार्म अघि बढ्ने बाध्यता त थियो नै, उनले त्यसलाई बेवास्ता गरे । उनमा राजनेताको गुण भएको भए त्याग गरेर पार्टी अध्यक्ष वा प्रधानमन्त्री छाडेर भए पनि सो पार्टीका नेतालाई सँगै हिँडाउन सक्नुपथ्र्यो । पार्टीले बनाएको समस्या समाधान कार्यदलको सुझव अनुसार चलेको भए पनि अहिलेको अवस्था आउने थिएन । उनले कुनै पनि त्याग गर्नु त परै जाओस् आफूले जे भन्छु त्यो सबैले मान्नुपर्छ भन्ने व्यवहार देखाए । जसले गर्दा माओवादीका नेता पुष्पकमल दाहाल बिच्किन पुगे ।

राजनेता बन्ने हैसियतका नेताले अक्रोश, आवेग, कटाक्ष होइन संयम, सालीनता, इमान्दारिता सद्भाव र सुझबुझ देखाउन सक्नुपर्छ । ओलीले लगभग दुई तिहाई बहुमतका साथ प्रधानमन्त्री भएपछि प्रमुख प्रतिपक्ष दल कांग्रेसलाई लगातार कटाक्ष गर्ने र लल्कार्ने गरे । पार्टीभित्रैका नेताहरूलाई पनि लल्कार्न बाँकी राखेनन्। प्रधानमन्त्री केपी ओलीले आफूले घोषणा गरेका कार्यक्रम मात्रै पनि इमान्दारीका साथ पूर्णरूपमा कार्यान्वयन गर्न सकेको भए उनलाई औंला ठड्याउन कठिन पथ्र्यो । ओली प्रधानमन्त्री भएपछि आफ्नो सरकारको मुख्य लक्ष्य सुशासन भएको बताइरहे तर अहिलेसम्म सामान्य सुशासनको पनि कसैले महसुस गरेन ।

बरु वाइडबडी, सेक्युरिटी प्रेस खरिद, बालुवाटार जग्गा प्रकरण, नेपाल ट्रस्टको जग्गा भडा प्रकरणजस्ता काण्डको ढाकछोपमै प्रधानमन्त्रीले शक्ति खर्च गरे । कोरोनाको बेला स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र नागरिकको बेवास्ताले उनको सुशासनको छवि उदांगो बनाइदियो । ट्रान्सपरेन्सी इन्टरनेसनल रिपोर्टले पनि सुशासन घटेको र भ्रष्टाचार बढेको स्पष्ट गरेको छ । अहिले सरकारले खरिद गरेका सामग्रीको बिल सार्वजनिक गर्ने र मन्त्रीको सम्पत्ति पनि सार्वजनिक गर्ने अघिल्ला सरकारका नीति उनको सरकारले बन्द गरेको छ ।

प्रधानमन्त्री ओलीका यी सबै काम, व्यवहार र स्वभावका कारण उनलाई राजनेता हुन दिएनन् । उनले आफूले समाधान गर्न सकिने र गर्नैपर्ने राष्ट्रिय समस्याको त कुरै छाडौं पार्टी समस्याबाट पनि भागेर प्रतिनिधिसभा विघटनलाई अन्तिम समाधान मान्न पुगे । हेरौ उनी अहिले पनि आफ्नो योजनामा दौडिरहेका छन्, मन्त्रीहरूले साथ दिएकै छन्, कस्ता नेता बन्ने हुन् ? समयले देखाउला ।

  • खबरदाता
  • प्रकाशित मिति:फागुन ०४, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८