• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

नेपालमा १३ जनामा देखियो नयाँ प्रजातिको कोरोना

  • खबरदाता

नेपालमा १३ जनामा देखियो नयाँ प्रजातिको कोरोना

युके भेरिएन्ट अहिले देखिएको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने गरेको छ ।

फागुन २,२०७७
नेपालमा पनि १३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस भेटिएको छ । बेलायतमा देखिएको नयाँ युके भेरिएन्ट भाइरस नेपालमा पनि समुदायस्तरमा देखिन थालेको छ । अहिलेसम्म १३ जनामा यस्तो भाइरस देखिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलका अनुसार दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं आएका एक नेपालीमा कोरोना परीक्षण गर्दा नयाँ प्रकारको भाइरस पत्ता लागेको थियो । उनमा ‘एस जिन’ देखिएको थिएन । ती व्यक्तिको सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा भने सबैमा नयाँ भाइरस पुष्टि भएको हो।

युके भेरिएन्ट भाइरसमा पनि ‘एस जिन’ देखिँदैन । त्यसैले उनीहरूमा अहिले देखिएको भाइरस पनि युके भेरिएन्ट हुन सक्ने चिकित्सकहरूको अनुमान छ । नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरू सबै बेलायतबाट फर्किएका थिए । नयाँ प्रजातिको कोरोना भाइरस पहिचान गर्ने प्रयोगशाला नेपालमा छैन । त्यसैले विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा उनीहरूको जिनोम सिक्वेन्सिङ गरिएको थियो ।

केही हप्ताभित्रै केन्द्रीय प्रयोगशालामा जिनोम सिक्वेन्सिङ गर्न मिल्ने उपकरण जडान गरिने निर्देशक पौडेलले बताए । अहिले नेपालमा ‘एस जिन’ पोजेटिभ वा नेगेटिभ के छ भनेर मात्रै हेर्न सकिन्छ ।

स्वास्थ्य मन्त्रालयले नयाँ भाइरस देखिए पनि सार्वजनिक गरेको थिएन । युके भेरिएन्ट हो वा होइन भन्ने यकिन भइनसकेका कारण सार्वजनिक नगरिएको स्वास्थ्यका अधिकारीहरू बताउँछन् । कोरोना परीक्षणमा ‘एस जिन’ नभेटिएपछि विज्ञहरूले युके भेरिएन्टको शंका गर्छन् । त्यस्ता नमुनाको ‘जिनोम सिक्वेन्सिङ’ गरेर मात्र नयाँ स्वरूपको भाइरस भए–नभएको छुट्याउन सकिन्छ ।

नयाँ भाइरस देखिएका १३ जनाको नमुना केन्द्रीय प्रयोगशालामा थुपारिएको छ । संक्रमितहरूको ट्राभल हिस्ट्री छैन । केन्द्रीय प्रयोगशालाका अनुसार अन्य जिल्लाबाट पनि यस्ता नमुना आउने क्रम बढ्दै छ । अब हरेक प्रदेशबाट नमुना मगाएर जिनोम सिक्वेन्सिङ गरिनेछ । सरकारले दैनिक कोरोना संक्रमित घट्दै गएको बताएका वेला नयाँ प्रकारको भाइरस समुदायस्तरमा देखिएपछि चिकित्सकहरू चिन्तित देखिएका छन् ।

बेलायतमा देखिएको युके भेरिएन्ट अहिले देखिएको कोरोना भाइरसभन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने गरेको छ । यो अहिलेसम्म विश्वका ८० भन्दा बढी देशमा पुगिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। पौडेलले नयाँ भाइरस पुष्टि भए पनि अहिलेसम्म ठूलो क्षति नगरेको बताए ।

सरकारले पौष १ गते देखि बेलायतबाट नेपाल आउनेलाई १४ दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । तर, युके भेरिएन्ट फैलिएका फ्रान्स, जर्मनी, भारत, साउथ अफ्रिकालगायत देशबाट आउने भने क्वारेन्टिनमा बस्ने गरेका छैनन्, सीधै घर वा गन्तव्यमा जाने गरेका छन् ।

विज्ञहरूले नेपालमा पनि धेरै प्रकारका भाइरस बनिसकेको हुने अनुमान गरेका छन् । हाल देशमा कोरोनाविरुद्धको खोप अभियान चलिरहेको छ । शनिबारसम्म स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनर कर्मचारी गरी दुई लाख १० हजारले खोप लगाइसकेका छन् । यो खोपले नयाँ प्रजातिको भाइरसविरुद्ध पनि काम गर्छ वा गर्दैन भन्ने अध्ययन नभएको निर्देशक पौडेलले बताए ।(पत्रपत्रीकाबाट)

  • प्रकाशित मिति : फागुन २, २०७७, आइतवार ०१:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८