नेकपा दुई समुहका अपाच्य सडक शब्द

  • माघ ३०, २०७७

 

माघ ३०,२०७७

लामो समयदेखि आन्तरिक द्वन्दमा रुमलिदै आएकोछ नेकपा । सत्तामा रहेको सो पार्टीको अर्को समुह दाहाल – नेपाल (दाने)  पौष ५ गतेदेखीनै सडक आन्दोलनमा रहँदै आएको छ । त्यसोत सरकारमै रहेको नेकपा ओली समुह पनि लगभग सडकमै छ । उनीहरु जनतालाई सडकमा बोलाएर एकले अर्काको हुर्मत सुनाउन ब्यस्त छन अहिले।

यतिबेला उनीहरुले दिने गरेका अभिव्यक्ति सभ्य समाजअनुकूल देखिदैनन। तिनको उदेश्य भनेको एकले अर्कोको पोल खोलाखोल गर्ने अनि गालीगलौज गर्ने भन्दा अर्को देखिदैन । आज एक समुहले दिएको अभिव्यक्तिलाई भोलीनै अर्को समूहले सडकबाटै प्रतिउत्तर दिइहाल्छन। उनीहरुले प्रयोग गर्ने त्यस्ता शब्द तथा अभिव्यक्तिको पछाडि ताली पिट्नेको भिड पनि त्यतिकै छ । तर दुबै समुहका त्यस्ता शब्द तथा अभिव्यक्तिहरु मन नपराउनेको संख्या पनि होला भन्ने तिनलाइ अनुभुतीनै छैन। उनीहरु त आफ्नोपछी ताली बजाउनेलाई मात्र जनता देखिरहेका छन। लाग्छ राजनैतिक दलका नेतामा हुनु पर्ने गुण त्यतिनै होला।

एक थरीले त्यसलाई आफ्नो पक्षको जित भएको बुझीरहेका छन भने बिचमा रहेका धेरैले भने पछिल्लो समय नेपाली राजनीतिमा बढ्दै गएका उत्तेजक अभिव्यक्ति र व्यवहार प्रति चिन्ता लिइरहेका छन।

तर आम नागरिक र बुद्धिजिबिहरुले यी दुबै समुहका यस्ता असोभनिय र अपाच्य शब्द तथा अभिव्यक्तिलाई नियालीरहेका छन। उनीहरुलाइ दिनहुँ तौलीरहेका छन।हरेक दिन सामाजिक संजालमा उनिहरुका कमेडिहरु भाइरल बनाइरहेका छन र मजाक मानीरहेका छन।

कांग्रेसले त पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुई समूहले व्यक्त गरेका अभिव्यक्ति सभ्य र सुसंस्कृत समाजअनुकूल नभएको भन्दै संयम अभिव्यक्तिका लागि आग्रहनै गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संंयमतापूर्वक समस्याको समाधान पहिल्याउन अपिल गरेका छन।

नेपाली राजनीतिमा बढ्दै गएको उत्तेजक अभिव्यक्ति र व्यवहारको शृंखलाप्रति उसले गहिरो चिन्ता प्रकट गरेको छ । खासगरी नेकपाका दुई समूहको नेतृत्वपंक्तिबाट व्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाजअनुकूल बिलकुलै छैनन भन्ने काङ्ग्रेसले ठहर गरेको छ । अहंकारयुक्त, अमर्यादित र अशोभनीय अभिव्यक्तिहरू जो जसबाट प्रकट भएका हुन् सबै आलोच्य छन्, यस्ता अभिव्यक्तिले त्यस्ता दल र व्यक्तिप्रति समाजमा नकारात्मक प्रभाव त पार्छ नै सिंगो राजनीतिप्रति वितृष्णा जन्माउन योगदान गर्छ भन्ने काङ्ग्रेसको बुझाइ छ ।

आफ्नो आन्तरिक घर झगडालाई सडकमै आएर सबैलाइ सुनाउनुले नेतालाई राम्रै भएपनि भोलीका दिनमा कथमकदाचित घरझगडा साम्य भयोभने तिनका पछी तालीबजाउने कार्यकर्ताको बिचमा भने तुस रहिरहने छ । त्यसैले पनि नेकपाका दुबै समूहले यस्ता शब्द तथा अभिव्यक्ति दिन तत्काल बन्द गर्नुपर्छ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८