• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

प्रतिगमनविरुद्ध संयुक्त प्रतिरोध


प्रतिगमनविरुद्ध संयुक्त प्रतिरोध

माघ २६, २०७७ –प्रा.डा. गोपाल शिवाकोटी
राणाशासनमा जस्तै संवैधानिक व्यवस्थालाई मिचेर जबर्जस्ती रुपमा चाकडीवाललाई पजनी गरेको शैलीमा नियुक्ति गरी संविधानलाई मिचिएको विरुद्धमा प्रचण्ड–नेपाल पक्ष नेकपाले गरेको आमहड्तालले गर्दा जनतामा ओली सरकारको प्रतिगामी, संविधानविरोधी, जनविरोधी, मनपरी र सामाजिक फाँसीवादी कदमको विरुद्ध जनचेतना बढाउन सफल भएको छ । यसैले गर्दा आमहड्तालले जनताले दुःख पाए भनि जनविरोधी काम गर्ने ओली पक्षले नियोजित रुपमा विरोध गरी यो कार्यलाई कमजोर बनाउने र संविधान कार्य गर्ने आफ्नो अधिकार हो भनि देखाउने चेष्टा गरिरहेको छ । ओली सरकारको कामहरु विरुद्ध जनता उत्रिएका छन् तथा आम हड्तालमा सहभागि भएका छन्, त्यसले प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका छन् । आफ्नो गतिविधि विरुद्धमा जनता ओर्लिएको हुँदा र स्वयं उनको अभिव्यक्तिलाई बुझ्दा ओली पराजित मानसिकता पुगेको अनुभव गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरी संविधानविरोधी

लोकतन्त्रविरोधी र जनताले ७० वर्ष लगाएर प्राप्त गरेको संघर्षबाट प्राप्त गरेको उपलब्धिलाई नष्ट–भ्रष्ट गर्न ओली लागि परेकाले त्यसका विरुद्धमा जनता सडकमा उत्रिन थालेका हुन् । यसले गर्दा आफ्नो समर्थकको टोली लिएर हिजोको पञ्चायत व्यवस्थाको पतनको समयमा मरिचमानआदिले पञ्च भेला गरेजस्तै गत शुक्रबार ओलीले आफ्नो पञ्च भेला गरी आफूले गरेको कामको फेहरिस्ता नारायणहिटी दरबारको आडमा बसी जनतालाई सुनाउने काम गरे । साथै, त्यस क्षेत्रको सम्पूर्ण खम्बाहरुमा आफ्नो बढेमान्को ठूलो तस्बिर झुन्ड्याएर उनी यो पञ्च भेलामा सेलिब्रिटीको रुपमा प्रस्तुत भए । उनका वरिपरि बस्नेहरुले ओलीमा दैवत्व रहेको झैं प्रस्तुत गरि राखेका छन् । ओलीले जे गरेपनि हुन्छ, ओलीनै मुलुक हुन्, संविधान हुन्, ओलीको बोलीनै कानून हुन् भन्ने रुपमा प्रस्तुति उनीहरुको देखिएको छ । ओलीमा हिजो राजामा देवताको अंश रहेजस्तै ओलीमा पनि देवांश रहेकोले उनले भनेको कुराहरु मान्नुपर्ने जस्ता कुरा गरेर उनका गलत क्रियाकलापलाई बचाउने अभिव्यक्ति सुन्न पाइन्छ ।

प्रतिनिधिसभा विघटन गर्ने, संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी विभिन्न पदमा नियुक्ति गर्नेजस्ता कार्यहरुले ओलीे बोली, कार्यशैलीप्रति आम जनमानसमा घृणा उत्पन्न भएको छ । यो आफ्नो कार्यशैलीप्रति जनतामा फैलिएको घृणाले गर्दा ओली स्वयं नै विभिन्न खालका हर्कत सुरु गरेका छन् । पन्धौँ शताब्दीमा महान कूटनीतिज्ञ मेकियाबेलीले शक्तिशाली शासक हुनका लागि घृणाको पात्र नभई बरु डरको पात्र हुनु राम्रो भनेका थिए । त्यसैले गर्दा ओलीहरुले अहिले जनतामा डर पैदा गर्नका लागि बख्तरबन्द गाडीहरुमा सैनिकहरुको परेड गराएर सेनाको त्रास देखाएर राज्य गर्न सुरु गरेका छन् ।

तर, जनता सैनिकहरुले चलाएको परेडले डराउन छाडेका छन् । नेपालको सैनिक विशेषतामा राजनीतिमा प्रत्यक्ष हस्तक्षेप नगर्ने रहेको छ । अहिलेसम्म सेना राजनीतिमा सक्रिय भएको छैन । अझ, यसको उल्टो कसै सत्ताधारीहरुले जनतामाथि दमन गर्न खोजे उल्टो सेनाले सत्ताको आदेश समेत अस्वीकार गर्ने गरेको तथा सत्ता पल्टाउने काम गरेको छ । राणाशासनको विरुद्धमा चलेको आन्दोलनको समयमा मोहन शमशेरले जनताविरुद्ध सैनिक प्रयोग गर्न खोज्दा ४० जना सैनिक अधिकृतले राजीनामा दिई राणाशासन जनताको सामु घुडा टेक्न बाध्य भएको थियो । पञ्चायत कालको अन्त्यको समयमा समेत राजाले सेनालाई जनताविरुद्ध प्रयोग गर्न खोज्दा सेनाले जनतामाथि गोली प्रहार गर्न इन्कार गरेपछि राजा विरेन्द्रले घुडा टेकी जनआन्दोलनमा घुँडा टेकेपछि पञ्चायत व्यवस्थाको अन्त्य भएको थियो । यस्तै, ज्ञानेन्द्र राजा भएपछि भएको संयुक्त जनआन्दोलनको विरुद्धमा सैनिक परिचालन गर्न खोजेको थिए । तर, यसमा सेनाले प्रयोग हुन इन्कार गरेपछि ज्ञानेन्द्र सत्ताबाट बाहिरिएका थिए । यसैले गर्दा अहिले केपी शर्मा ओलीले सेनालाई बख्तरबन्द गाडीमा राखी काठमाण्डौँको चक्रपथमा घुमाएर आतंकित गर्न खोज्ने, काठमाण्डौँ देखि पाँचखालसम्म परेड गराई जनतालाई त्रसित गर्न खोजेको छन् भने चितवनमा समेत बख्तरबन्द गाडीमा सैनिक परिचालन गरी तर्साउन खोजी आफ्नो पराजित मानसिकतालाई प्रदर्शन गरेको देखिन्छ ।

जब शासक अत्यन्त कमजोर हुन्छन्, उनीहरु जब पतनको अवस्थामा पुगेको हुन्छन् त्यस्तो समयमा आफूलाई शक्तिशाली देखाउन आफूले सेना तथा अन्य शक्तिहरु अघि सार्न डर देखाउन खोजेको हुुन्छन्, जब जनता त्यससामु डराउदैनन्, त्यसबेला सत्ताधारीहरु छोडेर भाग्ने गर्दछन् । राजाहरुले शक्तिहरु प्रयोग गर्न खोज्दा नमाने पछि सत्ता छाडी हिँड्न बाध्य भएका थिए । अझ प्रधानमन्त्री केपी शर्मा ओली पनि सामाजिक, फाँसीवादी हुन खोजेको छन् र उनी मुलुकमा तानाशाही राज्य खडा गर्न सम्पूर्ण अधिकारहरु आफ्नो हातमा लिएर यसको प्रयोग गरिरहेको छन् ।, यसको साथै पहिलाका राजाहरु देश छोडी बाहिर भागेका थिएनन्, तथापि अहिलेको प्रधानमन्त्री जनताले प्रतिरोध गरेभने मुलुक छाडी कुनैपनि समयमा भाग्नसक्ने सम्भावना बढेको छ । यसैले गर्दा नै अहिले बालुवाटारको प्रधानमन्त्री निवासमा नै हेलिकप्टरको लागि हेलिप्याड बनाएका छन् केही अप्ठ्यारो परे हेलिकप्टर लिएर देश छाडी भाग्नसक्ने सम्भावना बढ्दै गएकाले यसप्रति ध्यान दिन जरुरी छ ।

अहिले नेकपाभित्रको संघर्ष ओलीको फाँसीवादी, घोर दक्षिणपन्थी, लोकतन्त्रवादी र समाजवादी पक्षका बीचको संघर्षको रुपमा रहेको छ । अहिलेको क्रियाकलाप हेर्दा यो गणतन्त्र आएको, संघीयता आएको, धर्मनिरपेक्षता र जातीय राज्यको रुपमा नेपाल विकसित भएकाले यो उपलब्धि नष्ट गर्न ओली लागि परेको छन् । उनी हिन्दुवादी राज्य बनाउन चाहन्छन्, केन्द्रीकृत सामन्ती राज्यसत्ता कायम गर्न चाहन्छन्, संघीयता नष्ट गर्न चाहेको देखिन्छन् तथा संविधानमा भएको लोकतान्त्रिक मूल्य र मान्यता नष्ट गर्न खोलेको छन् । यो कार्यमा नेपालभित्र रहेको प्रतिगमनकारी र अन्तर्राष्ट्रिय रुपको प्रतिक्रियावादीको समर्थनमा ओली उनीहरुको हतियार भएर संविधान, समाजवाद, अहिलेसम्म प्राप्त उपलब्धिमाथि प्रहार गरिरहेको छन् । यो कुरा विस्तारै प्रमाणित पनि हुँदै गएको छ । ओलीलाई समर्थन गर्नेहरु देशी प्रतिक्रियावादीहरु खुकुलो रुपमा बाहिर आएको छन् । प्रतिगमनको जगेर्नामा प्रधानमन्त्री ओलीसँगै वर्तमान धर्मनिरपेक्ष संघीय समावेशी गणतन्त्रात्मक परिपाटी भत्काउन विभिन्न देशी विदेशी शक्तिहरु पनि घोषित र अघोषित रुपमा लामबद्ध छन् ।

भारतीय हिन्दुवादी भाजपा, आफ्नो स्वार्थको लागि ओलीलाई समर्थन गरीरहेको छ । यसैको लागि नै रअको प्रमुख सामन्तकुमार गोयलको काठमाण्डौ भ्रमण, अहिलेको प्रतिगमनको कार्य रअकै इशारामा भएको हो । यही समर्थनको लागि प्रदीपकुमार ज्ञवाली भारतको भ्रमणमा गई मोदीलाई भेट्नसमेत लम्पसार लागेर बसेका थिए । तर, उपयोग गर र फाल्देउ, भन्ने नीति भएको भारतले अहिले ओलीसँग सीमा तथा सगरमाथामाथि दावा गरेर आफ्नो हात माथि पार्न लागेको छ । ओलीबाट कुनैपनि समयमा सत्ताको लागि भारतसँग कुनै किसिमको सम्झौता पनि यसमा आश्चर्य मान्नुपर्ने हुँदैन । ओलीले नेपालविरुद्धका कामहरु गरिरहेको छन् । यसैले ओलीको विरोध गर्नेहरुलाई पहिलेनै उनीहरु राष्ट्रविरोधी भनि आफूले गर्न लागेको राष्ट्रघाती कार्यलाई ढाकछोप गरीरहेको रुपमा हेरिएको छ ।

पार्टीभित्र रहेको विवादलाई हल गर्न नसकेर प्रतिनिधिसभा विघटन गरी संविधान र प्रतिनिधिसभाको हत्या गर्ने काम ओलीबाट भएको छ भने अहिले पछि सविधानविपरित, संवैधानिक अंगहरुमा असंवैधानिक रुपमा हतार–हतार नियुक्ति गर्ने काम गरेर आफ्नो भिजिलन्तेहरुलाई महत्वपूर्ण स्थानमा पु¥याउने काम गरेको छ । यो कार्य राष्ट्रविरोधी, जनविरोधी , लोकतन्त्र र कानूनीशासनविरोधी भएको रुपमा लिएर प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालमा जनता सडकमा उत्रिने कार्य भएबाट पनि ठूलो दबाब र सत्तामाथि गम्भिर प्रभाव परेको छ । साथै, यो आमहड्ताल पछि तेस्रो जनआन्दोलन सुरु गर्ने उद्घोष समेत गरिएको छ । पहिलो जनआन्दोलनले पञ्चायत व्यवस्था हटायो, दोस्रो जनआन्दोलनले राजा ज्ञानेन्द्रको सर्वसत्तावादी शासनलाई अन्त्य गरिदियो भने तेस्रो जनआन्दोलन भएमा ओली र उनको प्रवृत्तिलाई नै समाप्त गर्ने भनिएको छ । यस्तो प्रवृत्ति र कार्यमा खड्ग प्रसाद ओली मात्र नभई स–साना थुप्रै ओली चिन्तनहरु पनि विद्यमान छन् । तिनलाई समेत अबको आन्दोलनले बढार्ने छ भन्ने सबैलाई चेतना हुनु जरुरी छ ।

७० वर्षसम्मको त्याग र संघर्षबाट प्राप्त भएको उपलब्धिलाई खेर जान नदिन, सुरक्षित गर्न सडकमा उत्रिएका हुन् । अमेरिकी राष्ट्रपति जेफरसन्ले स्वतन्त्रको मूल्य जनताको सचेतनापूर्वको खबरदारी भनेजस्तै, अहिलेपनि प्राप्त उपलब्धि नष्ट हुन नदिन जनता खबरदारी गर्न सडकमा उत्रिएको हुन् । कसैको रोजीरोटी खोस्न, बाटोमा हिड्न नदिन भई आफ्नो सन्ततीको स्वतन्त्रताको रक्षा गर्न हो । यो स्वतन्त्रतालाई र व्यवसायीमध्ये कुन ठूलो हो भनि दाजेर हेर्नेलाई लागेको हुन सक्दछ । तर, व्यवसायभन्दा स्वतन्त्रता धेरै मूल्यवान हुन्छ भन्ने कुरा विर्सन हुँदैन । भनिन्छ, सय वटा सुुँगुरहरु असन्तुष्ट हुनुभन्दा एउटा सक्रेट्स हुनुनै उत्तम हो भन्ने कुरा यसमा पनि लागू हुन्छ ।

अहिलेको वर्तमान अवस्थामा प्रधानमन्त्री ओली एक पछि अर्को प्रतिगमनको कार्यहरु गर्ने गर्दैछन् । संविधानलाई च्यातेर त्यसलाई दुरुपयोग गर्न लागेको छन् । जनताले गरेको खबरदारीलाई आफ्नो केही भिजिलेन्ते र अरिङ्गाल लगाएर ओलीले जे ग¥यो, त्यही लोकतन्त्र हो भन्नेजस्ता भ्रम फैलाउने कार्य भईरहेको देखिन्छ । संविधान र कानूनमा नलेखिएको कुरा पनि ओलीको बचन भएपछि त्यो संविधानभन्दा ठूलो हो भन्ने कुराको प्रचार सुरु गरेको छन् । उनी यस प्रतिगमनकारी कार्यबाट पछि हट्न स्वीकार गरेको छैनन् । संयुक्त संघर्षमा नओर्लिएसम्म प्रतिगमनलाई परास्त गर्न सकिँदैन, कर्मकाण्डी विरोध प्रदर्शनहरुले प्रतिगमनलाई रोक्न सक्दैन ।

सँगसँगै नागरिक आन्दोलन पनि सुरु भएको छ । नागरिक आन्दोलन जब सत्ताविरुद्ध उत्रिन्छ त्यसबेला सत्ताधारीहरुको पतन निकट छ भन्ने कुरामा सन्देह रहँदैन ।

ओलीले आफ्नो पार्टीभित्रको समस्यालाई समाधान गर्न नसकी प्रतिनिधिसभा विघटन गर्ने असंंवैधानिक कार्य गरेका थिए । नेपालको संविधानमा प्रतिनिधिसभा विघटन गर्ने कुनै प्रावधान नै रहेको छैन । जहासम्म संसदीय व्यवस्था छ, त्यँहा प्रतिनिधिसभालाई विघटन गर्ने परम्परा रहेको थियो, तर, अहिले यो परम्परा विस्तारै कम हुँदै गएको छ र नेपालमा प्रतिनिधिसभा विघटन गर्न नसकीने गरी संविधानको निर्माण भएको छ । यस्तो अवस्थामा प्रतिनिधिसभा नै नष्ट गर्नु भनेको ओलीको माकुरे प्रबृत्ति हो । माकुरा जन्मिँदा आमाको पेट काटी जन्मिन्छन् र बच्चा जन्माएपछि आमा मार्दछन्, भन्ने कुरा यहाँ पनि भएको छ । प्रतिनिधिसभाले नै प्रधानमन्त्रीको जन्म दिन्छ, र यो प्रतिनिधिसभा हत्या गरेर आफूलाई जन्माउने आमा प्रतिनिधिसभाकै हत्या गर्ने काम ओलीले पनि गरेको छन् । यसलाई उनको मतियारहरुले ओलीमा रहेको अभिशिष्ट अधिकार भनि व्याख्या गरेको छ । लोकतान्त्रिक मुलुकमा कुनै अन्तर्निहित अधिकार हुँदैन । सबै अधिकारहरु सार्वभौमसत्ता जनतामा नीतिह हुने गर्दछ । हिजो राजतन्त्रमा मात्र संविधानमा नलेखिएको कुराहरु राजाको अन्तर्निहित हुन्थ्यो । तर, अहिलेपनि प्रधानमन्त्रीमा नै संविधानमा नलेखिएको अधिकार अन्तर्निहित हुन्छ भनि खोज्नु, लोकतन्त्र र संविधान विपरित हो । यो कार्य प्रधानमन्त्रीमा राजतन्त्र खोज्नु मात्र हो । साथै, यो खड्गप्रसाद ओलीको प्रधानमन्त्रीत्वको पतनको स्थिति पनि हो । आफ्नो अन्त्य समेत समीप आएको देखेर ओली पराजित मानसिकतामा पुगेको हुनुपर्छ । त्यसैले त सैनिक शासन लागू गर्न सक्छु भन्ने धम्की दिएर विरोधीहरुलाई त्रसित गर्नका लागि बख्तरबन्द गाडीहरुको परेड मुलुकभरि नै प्रदर्शन गर्न थालिएको छ । यो उत्तेजना फैलाउनका लागि गरिएको कार्य हो । अहिले ओली मुलुकमा उत्तेजना फैलाएर सैनिक शासन र आपत्काल घोषणा गर्नको लागि स्थिति निर्माण गर्न खोजिरहेको छन् । तर, यस्तो उत्तेजनाले मुलुकको भलो हुने देखिँदैन । आन्दोलन जुरमुराएको अवस्थामा देशको माया गर्ने सबैले उत्तेजनामाथि नियन्त्राराख्नुपर्छ । प्रधानमन्त्री ओलीको उत्तेजनाले देश भड्खालोतिर धकेलिरहेको छ । र यो अन्ध्याँरो इनारमाभित्र पस्न लागेको देखिएको छ । अहिले प्रधानमन्त्रीले जत्तिसुकै निर्वाचनको गफ गरेतापनि यो निर्वाचनको लागि होइन । उनी निर्वाचनमा नगई आफ्नो सत्ता लम्बाएर निरंकुशता लाद्न तत्पर रहेको देखिन्छ । राजनीतिक व्यक्तिको लगाव निर्वाचनप्रति हुने गर्दछ । यही भावनामा ब्लाकमेलिङ गर्न ओलीले पनि निर्वाचनको कुरा मात्र गरेको हुन् । तर, अहिले देशमा भएको एक पद्धतिलाई भत्काउने र भएको संविधानलाई मिचेर निर्वाचनको घोषणा गरिएको हुँदा त्यसले निर्वाचन हुने विषयमा शंका उत्पन्न गर्दछ । यो त बर्मामा सैनिक शासनको लागि आपत्तकालीन घोषणागरी एक वर्षपछि निर्वाचन गरी सरकारलाई सत्ता हस्तान्तरण गर्छु भनेजस्तै हो । अहिले नेपालमा संवैधानिक ‘कू’ भएको छ । संवैधानिक कू भएपछि निर्वाचन गर्छु र लोकतान्त्रिक पद्धतिअनुसार सत्ता हस्तान्तरण गर्छु भन्नेजस्तै भएको छ ।

अहिलेको झगडा ओली र प्रचण्डबीचको झगडा पनि होइन, द्वन्द्व पनि होइन । यो ओलीविरोधीहरुको सत्तालोलुपताको कारणले भएको हो भन्नेजस्ता दूस्प्रचार गरिँदैछ । लोकतन्त्र, संविधान र अहिलेसम्मको गणतन्त्रको लागि ओलीको स्वेच्छाचारिता, अराजकता, संविधानविरोध र मनमरितन्त्रको विरोध हो । अग्रगमन र प्रतिगमन विचको संघर्ष हो । तर, आमहड्तालमा देखिएको जनताको आकर्षण र सहभागिताले ओलीको प्रतिगमनविरोधी जनमतहरु अहिलेपनि कायम छ । माओवादी जनयुद्ध र दोस्रो जनआन्दोलनको राप अहिलेसम्म मरिसकेको छैन, भन्ने कुरा अहिले प्रमाणित भएको छ । यही हिजोको जनआन्दोलनको रापमा परेर यो प्रतिगमण ध्वस्त र खँरानी हुनेछ । हुन त खड्ग ओलीले मैले सानो दुःख अज्र्याको प्रधानमन्त्री पद होइन, सबैलाई चेतना भया भनि भन्लान तर, उनीलाई आफ्नो भूमिकाको चेतना हुनु जरुरी छ । नत्र यसबाट उनको पतन सन्निकट आएको कुरा आम हड्तालले दिएको सन्देश बुझ्न जरुरी छ ।

तर यसको लागि पनि संयुक्त आन्दोलन हुनु जरुरी छ । एक्ला–एक्लै होइन । यसैले अमेरिकन एकजना विद्वानले भनेझै कि त सँगै झुन्डिनुपर्छ, एकताबद्ध हुनुपर्छ, अन्यथा एक्ला–एक्लै झुन्ड्याइने छ र मुलुक प्रतिगमनमा जानेछ भन्ने कुरा बुझ्न जरुरी छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवामा सत्ताको महत्वकांक्षा बढे, नेपालमा संविधान र लोकतन्त्र नै नरहे देउवाको प्रधानमन्त्री हुने ज्योतिषीले गरेको भविष्यवाणी समेत सबै भर्सेलोमा पर्ने छैन भन्न सकिँदैन । त्यसतर्फ पनि देउवाहरुको सोच जानुपर्नेछ । अझै समय छ, समय छँदै संयुक्त आन्दोलनको लागि सबै सडकमा उत्रिनु आवश्यक छ ।

  • प्रकाशित मिति : माघ २६, २०७७, सोमवार १२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८