चलचित्र पत्रकार संघ चितवनले चार जनालाई गर्‍यो सम्मान

  • खबरदाता
  • माघ २५, २०७७

माघ २५ ,२०७७
चितवन । चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ ।

संघले भरतपुरमा आयोजना गरेको साधारण सभामा तीन जना पत्रकार सहित एक जना कलाकारलाई सम्मान गरेको हो ।

चितवनमा रहेर कलाकारिता मार्फत नेपाली कला क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संघले कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्काबाट सम्मान गरेको हो। श्रेष्ठलाई नगद पाँच हजार ५५५ रुपैयाँ, सम्मान पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।

त्यसैगरी मोफसलमा रहि पत्रकारितामार्फत चलचित्र क्षेत्रमा पुर्‍याए बापत संघले पत्रकार विजय आवाजलाई सेन्ट्रल कलेज राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार, किशोर खनाललाई एजर एभियसन सक्रिय चलचित्र पत्रकारिता पुरस्कार र सुशील पन्तलाई नन्दप्रसाद–सुशीला युवा चलचित्र पत्रकारिता पुरस्कारबाट सम्मान गरेको थियो।
सम्मानीत सबैलाई पाँच हजार ५५५ रुपैयाँ नगद, प्रमाण तथा दोसल्लाबाट सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले चितवनका रङ्ग पत्रकारहरुले कलाकारिता सँगै धेरै क्षेत्रमा कलम चलाएको बताए । कलाकार र पत्रकारहरु सहकार्य गर्दै अगाडि बढेको क्षेत्रमा नेपाली कालाकारिता क्षेत्रको शीर उँचो हुने उनको धारण थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले रङ्ग पत्रकारहरु पनि नेपाल पत्रकार महासंघको एशोसिएट सदस्य भएको उल्लेख गर्दै सहकार्य गरेर नेपाली पत्रकारिता क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली, प्रेस सङ्गठन चितवनका संयोजक प्रकाशमणि ज्ञवाली, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले शुभकामना दिदै मन्तब्य राखेका थिए।विट पत्रकारिताको विकास हुँदै गएको उल्लेख गर्नुभयो ।

साधारणसभाको बन्द सत्रमा चलचित्र पत्रकार संघ चितवनका सचिव आनन्द पोखरेलको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रवीन सुवेदीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो। साधारणसभाले यसै वर्ष २० जना पत्रकारहरुलाई चलचित्र पत्रकार संघ चितवनको साधारण सदस्यता वितरण गर्ने निर्णयसमेत गरेको सचिव पोखरेलले बताए ।
कार्यक्रमको अध्यक्षता चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रवि अधिकारीले गरेका थिए ।

  • खबरदाता
  • प्रकाशित मिति:माघ २५, २०७७

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८