नवलपुरमा बजेट छ बिकास छैन

  • खबरदाता
  • माघ २४, २०७७

नारायणगढ बुटवल सडक खण्डमा १ प्रतिशत पनि बिकाश खर्च भएको छैन।

माघ २४, २०७७
नवलपुर । नवलपुरमा विकास खर्च कछुवाको गतिमा छ । देशकै कान्छो जिल्ला भएकाले विकासका गतिविधि धमाधम हुनुपर्नेमा खर्चको अंकले भने सुस्त गति देखाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको जम्मा ६ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यो तथ्यले असारे विकास दोहोरीने देखिएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा २३ वटा संघीय, १० वटा प्रदेश कार्यालय र ८ वटा स्थानीय गरी ४१ वटा कार्यालय तथा स्थानीय तहले बजेट खर्च गर्नुपर्ने हो । तर प्रमुख कोष नियन्त्रक राम बहादुर केसीका अनुसार चालु आवको ६ महिनामा जिल्लाको कूल पुँजीगत खर्च जम्मा ६ प्रतिशत भएको छ । यसको तुलनामा चालु खर्च भने ६ गुणाले बढि अर्थात ३७ प्रतिशत खर्च भएको छ । जिल्लामा चालु आर्थिक वर्ष २०७७ /०७८ को पौष मसान्त सम्म जिल्लाको कूल वार्षिक बजेट मध्ये २८ करोड ७ लाख मात्रै विकास खर्च हुँदा चालु तर्फ भने १ अर्ब ९३ करोड ९५ लाख रुपैया खर्च भएको छ ।

प्रदेशबाट प्राप्त बजेटमध्ये पुँजीगत तर्फ १६ प्रतिशत अर्थात १५ करोड ६८ लाख र संघीय सरकारबाट प्राप्त पुँजीगत बजेटको जम्मा ४ प्रतिशत मात्र अर्थात १२ करोड ३९ लाख बजेट खर्च भएको हो । संघको चालु तर्फ ३९ प्रतिशत अर्थात १ अर्ब ८३ करोड ३८ लाख खर्च हुँदा प्रदेशको चालुतर्फ २३ प्रतिशत अर्थात १० करोड ५७ लाख खर्च भएको कार्यालयले जनाएको छ।

संघीय सरकारले नारायणगढ बुटवल सडक आयोजना पूर्वी खण्ड निर्माण गर्न ३ अर्व ९ करोड ५० लाख बजेट दियो तर हालसम्म उक्त आयोजनाको काम बजेट लिनसक्नेगरी सम्म नभएको पाइएको छ । आयोजनाले यति प्रतिशत काम भयो भनेर वील पेश गर्न सकेको छैन जसका कारण बजेट खर्च हुन पाएको छैन ।

प्रमुख कोष नियन्त्रक केसीले पनि यही बजेट ठूलो अंकमा भएको र खर्च हुन नसकेकाले विकास खर्च न्यून देखिएको बताए । आयोजनाका प्रमुखलाई उनले ताकेता गरिसकेको र १ प्रतिशत काम सम्पन्न नहुँदासम्म रकम निकासा गर्न नपाईने नियमले उक्त खर्च रोकिएको छ। पछिल्लो समय मजदुरहरुको आन्दोलन र कोरोनाले यो सडक खण्डको कार्य हुन नपाएको बताइएको छ । अहिले १ प्रतिशतभन्दा बढि काम भइसकेको र रकम निकासाका लागि प्रकृयामा रहेको ठेकेदार पक्षले बताएको छ ।

त्यस्तै संघ सरकारले जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षालाई १६ करोड १३ लाख बजेट दिएको छ तर ९ करोड ७१ लाख मात्रै पौष मसान्तसम्म खर्च भएको छ । सोही कार्यालयको अनुदानतर्फ ५ करोड ४३ लाख बजेट दिएकोमा ४७ लाख मात्रै खर्च भएको छ । त्यस्तै संघ सरकारले देवचुली नगरपालिका र वौदीकाली गाउँपालिकालाई समान ३ करोड २३ लाख बजेट दिएपनि अहिलेसम्म एक रुपैया खर्च गर्न सकेका छैनन् ।

जिल्लामा गण्डकी प्रदेशबाट पनि बजेट प्राप्त भएको छ । सडक पूर्वाधार विकास कार्यालयका लागि ६९ करोड ८८ लाख बजेट आएपनि पौष मसान्त सम्म जम्मा १७ प्रतिशत अर्थात ११ करोड ६१ लाख मात्रै खर्च भएको छ । जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका लागि २१ करोड ६७ लाख बजेट भएपनि ११ प्रतिशतले हुने २ करोड ४८ लाख मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशले मध्यविन्दु जिल्ला अस्पताललाई ५ करोड २ लाख रुपैया बजेट दिएपनि जम्मा २८ प्रतिशतले हुन आउने १ करोड ४२ लाख मात्रै खर्च भएको छ। डिभिजन वन कार्यालयलाई प्राप्त १ करोड ८४ लाखमध्ये जम्मा १३ लाख अर्थात् ७ प्रतिशतमात्रै खर्च भएको छ ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८