माघ २१, २०७७
चितवन । पूर्व प्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खतरनाक तानाशाहको संज्ञा दिएका छन् । उनकै पार्टी जनता समाजवादी चितवनले आयोजना गरेको भेटघाट कार्यक्रममा डा. भट्टराइले सो कुरा बताएका हुन् ।
प्रकृति हेर्दा संसद विघटन त गरेको हो नी भन्ने जस्तो सामान्य लाग्न सक्छ तर पौष ५ गते ओलीले लोकतन्त्रनै विघटन गरिसकेको भट्टराइको आरोप थियो । ओलीको उक्त पौष पाँचको कदमलाई विद्या भण्डारीको लाहछापले सो कुराको पुष्टि गरिसकेको उनको ठोकुवा थियो ।
ओलीले पौष ५ गते चालेको कदमलाई महेन्द्रको १७ साल र ज्ञानेन्द्रको २०६१/०६२ भन्दा कम नभएको भन्दै डा भट्टराइले घोषित चुनाव हुनै नसक्ने बताए । इतिहासमा हेर्दा तानाशाहहरुले यसैगरी चुनाव घोषणा गर्ने तर चुनावनै नगराइ शासन गरिरहने प्रवृत्ति रहेको देखिन्छ । ओलीले पनि सोही कदम उठाएको उनको भनाई थियो । अदालतले संसद पुनस्र्थापना गर्नेमा आफू विश्वस्त रहेको बताउँदै अदालतले संसद विघटनलाई सदर गरेमा देश थप अस्थिरतामा जाने बताए ।
५ वर्षसम्म संसद विघटननै गर्न नमिल्ने गरी संविधान जारी गरिएको भन्दै डा. भट्टराइले अव यसलाई जनताको ठूलो आन्दोलनको आधिवेहरी वा अदालतको सहयोगले मात्रै सही ट्रयाकमा ल्याउन सकिने बताए । आन्दोलनका लागि आफ्नै पार्टीले नेतृत्व लिने र काठमाण्डौमा आफू पुगेपछि वृहत छलफल गरी कुन तरिकाले कस्तो खालको आन्दोलन गर्नुपर्ने त्यसको खाका तय गरिने उनको भनाई थियो ।
अवको परिस्थितीमा युवाहरुले आन्दोलन छेड्नुपर्ने बताउँदै उनले भने,“ म ६७ वर्षको भएँ, तर पनि यो असवैधानिक कदमको विरुद्धमा देशदौडाहामा छु भने युवाहरुले त ओलीको कदमविरुद्ध हातमा दही जमाएर वस्ने कुरै भएन ।”
सत्तारुढ दलका दाहाल नेपाल समूहलाइ सुझाव दिँदै डा भट्टराइले भने,“एक्ला एक्लै समूहगत सभा र आन्दोलने ओली सच्चिने छैनन् । त्यसैले सवैसँग मिलेर वृहत आन्दोलनको तयारीमा लागौँ ।”
सेनाको बख्तरवन्द गाडिको प्रसंग जोड्दै डा भट्टराइले भने,“ओलीले संकटकाल लगाउनका लागि सेना समेत तयारी अवस्थामा राखेको छनक हामीले पाइसकेका छौँ ।”
अरु पार्टीहरु टुटफुट भइरहेको अवस्थामा जनता समाजवादी पार्टी एकजुट हुँदै आउनुले आफ्नो पार्टी वैकल्पिक शक्तिको रुपमा निर्माण भइरहेको उनको दावी थियो । साथै चाँडै एकता प्रकृयालाई टुंग्याउने भन्दै नेता कार्यकर्तालाई विचलित नहुन आग्रह उनले आग्रह गरे ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८