ओली र प्रचण्ड मिलेर चुनावमा जानुहुन्छ – रघुवीर महासेठ

  • माघ २०, २०७७

माघ–२०, २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुवीर महासेठले वैशाख १७ र वैशाख २७ गते तोकिएकै मितिमा निर्वाचन हुने दाबी गरेका छन् । साथै केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उनले दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले अध्यक्षद्वय ओली र प्रचण्ड मिलेर नै चुनावमा जाने दाबी गरे ।

उनले भने,‘उहाँ मिलेर नै चुनावमा जानुहुन्छ, उहाँहरू नमिली सुखै छैन । पार्टी फुट्दैन । वामदेव गौतमको एकता प्रस्ताव पनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन । उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ ।’

साक्षात्कारमा बोल्दै उनले आफूहरूलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे ।

उनले भने,‘चुनाव त एक सय प्रतिशत हुन्छ । म मित्रहरूलाई भन्न चाहन्छु कि चुनावका लागि हामी त तयारीमा जुटिसक्यौं । तपाईंहरू पनि जुट्नुहोस् । हामी अदालतको निर्णय मान्छौं । संसद पुनर्स्थापना भनेको पनि उहाँ प्रधानमन्त्री ओलीनै प्रधानमन्त्री बन्ने हो । यदि निर्वाचनको हकमा पनि निर्णय लियो भने हामी आत्मसात गर्छौं । संवैधानिक इजलासको निर्णय पर्खेर बसेका छौं । छिटोभन्दा छिटो इजलासबाट निर्णय आउँछ ।’

उनले नेकपा एकता हुँदा बखत नै सही तवरले नभएको गुनासो पोखे ।

उनले विगत सम्झिँदै भने, ‘हाम्रो पार्टीको एकता जुन प्रकारले सुरू भयो, त्यो राम्रो तवरले भएको भए दुर्घटना हुने थिएन । एकता प्रक्रियाको धेरै कुरा मलाई थाहा छ । नेकपाका दोस्रो अध्यक्ष प्रचण्डले जुन राजनीतिक अभियोगपत्र भन्नुभयो, त्यसमा पनि यो एकता प्रक्रिया फलानोको भरमा, फलानोलाई साक्षी राखेर भन्नुभएको छ । एकता प्रक्रियामा सूर्य छापमा चुनाव लड्ने भन्ने सहमति थियो, तर त्यो सहमति २४ घण्टा नबित्दै सूर्य छापमा चुनाव लडे राम्रो हुँदैन भनेर हाम्रै पार्टीका नेताहरूले भनेर प्रचण्डजी ब्याक हुनुभयो । तर, हामी मोर्चाबन्दी गरेर चुनाव लड्यौं । चुनाव सकिए पनि हाम्रो पार्टीको नेतृत्वमा करिब दुई तिहाइको सरकार बन्यो । प्रधानमन्त्री ओली बन्नुभयो । यो बीचमा सरकारले धेरै राम्रा काम गर्दागर्दैपनि पार्टीभित्रबाट सहयोग प्राप्त भएन् । प्रतिपक्षमा कांग्रेस थियो, तर उहाँहरुले प्रतिपक्षको भूमिका खेल्नुभएन । हाम्रै पार्टीभिबाट प्रतिपक्षको भाषा बोल्न थाल्नुभयो । ऐतिहासिक काम गर्दागर्दै पनि आफ्नै पार्टीबाट असहयोग भयो ।’

आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दा पनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन भनेर आफ्नै पार्टीका साथीहरू लागेको पनि उनले आरोप लगाए ।

उनले भने,‘उल्टै सरकारले काम गर्न सकेन भनेर ओलीले राजीनामा दिनुपर्छ भनेर माग गरियो । विशेष संसद अधिवेशनको लागि माग गर्नुभयो । संसदको विशेष अधिवेशन बोलाउने माग गर्दै राष्ट्रपतिसमक्ष हाम्रै साथीहरू जानुभयो । यो प्रकरणले प्रधानमन्त्री झस्किनुभयो । सरकारविरूद्धको मोर्चाबन्दी र घेराबन्दी निरन्तर भयो । एकपछि अर्को श्रृंखलाले यो संसद भंग भयो । यो कुनै खराब उद्देश्यले भएको होइन । कांग्रेस र राजपाले आफ्ना योजना हाम्रो पार्टीभित्रैबाट कार्यान्यवन गर्न खोजेपछि प्रधानमन्त्रीज्यूले यो कदम चाल्नुभएको हो । उहाँले कि प्रधानमन्त्री छोड्नुपर्दथ्यो या निर्वाचनमा जानुपर्दथ्यो । देश जुन बाटोमा गैरहेको थियो, त्यसमा निरन्तर जानको लागि एउटै बाटो थियो–त्यो संसद विघटन हो । उहाँले देशलाई नयाँ जनादेशमा लैजानको लागि उहाँले निर्वाचन मिति घोषणा गर्नुभएको छ । संसद भंग भएपछि ६ महिनाभित्र चुनाव गराउनैपर्छ । ६ महिनाभित्र भएन भने सरकारको औचित्यमाथि प्रश्न उठ्छ । पुस ५ गते संसद विघटन भएको छ । असार ५ गतेभित्र चुनाव गराउनैपर्छ ।’

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८