• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

‘संकटकाल’को झल्को दिने प्रधानमन्त्रीको चितवन भ्रमण


‘संकटकाल’को झल्को दिने प्रधानमन्त्रीको चितवन भ्रमण

केपी शर्मा–माघ १८, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई समूह देखापरेपछि प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक शनिवार चितवन आए । निर्धारित समयभन्दा करिव दुई घण्टा ढिला गरी ओली भरतपुर विमानस्थलमा अवतरण गरेका थिए ।

प्रधानमन्त्री विवादीत दुई वटा कार्यक्रमको शिलान्यास गर्ने कार्यक्रम सहित चितवन आएका थिए । ती मध्ये पहिलो थियो पुल्चोक गोन्द्राङ ६ लेन सडक खण्ड र दोस्रो निर्माणाधीन २ हजार क्षमताको सिटी हल ।

उनी चितवन आउने भएपछि केही दिन अघिदेखिनै जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । समसाँझै भरतपुरका गल्ली र चोकहरुमा प्रहरीको वाक्लो उपस्थिती हुनुका साथै चेकजाँचकमा समेत कडाइ गरिएको देख्न सकिन्थ्यो । उनी चितवन एक्लै आएनन् । राजशी ठाँटका साथ गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ र शहरी विकास मन्त्री प्रभु शाह लगायतको जम्बो टोलीनै थियो उनीसँग । उप–प्रधानमन्त्री इश्वर पोखरेल समेत आउने चर्चा गरिएपनि उनी भने आएनन् ।

त्यसो त ओली चितवन आउनुको उद्देश्य शिलान्यास मात्रै थिएन, प्रचण्डको गृहजिल्ला त्यसमाथि आफ्नो पार्टी दुई समूहमा विभाजन भइसकेको अवस्था । यो वीचमा उनले उनीपक्षका नेता तथा कार्यकर्तालाई अझै बढि आस्वस्त पार्नुपर्ने दबाव थियो । त्यसैले पनि उनको चितवनको भ्रमण उनीहरुकै भाषामा महत्वपूर्ण र फलदायी पनि ।

ओली आएसँगसँगै चितवनको सुरक्षा व्यवस्था हेर्दा अन्य समयमा भन्दा असामान्य देखिन्थ्यो । प्रत्येक पाइलामा सुरक्षाकर्मी, प्रत्येक चोकमा चेकजाँचमा कडाई । त्यतिमात्रै होइन प्रत्येक घरका छतहरुमा शसस्त्र प्रहरीका तीन तीन जना जवानहरु । लाग्दथ्यो यो सुरक्षा व्यवस्था देख्दा प्रधामन्त्री ओली संकटकालको समय चितवन आइरहेका छन् ।

सुरक्षाका चारवटै निकायले तदारुकताका साथ सुरक्षा प्रदान गरिरहेको थियो । भरतपुरको चौविसकोठी देखि केन्द्रीय वसपार्कमा उनकै समूहले आयोजना गरेको सभास्थलको आसापास सम्मका करिव ८० वढि घरका छत र वारदलीमा दुई सय ४० वढि शसस्त्र प्रहरीका जवानहरुले पहरा दिएका थिए । त्यतिमात्रै होइन संकटकालमा समेत प्रयोग नगरिएको अस्पतालको छत समेत सुरक्षाकर्मीले प्रयोग गरेको देखिन्थ्यो । भरतपुर विमानस्थल अगाडि रहेको सेन्ट्रेल अस्पतालको छतमाथि प्रसस्तै मात्रामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखियो । त्यतिमात्रै होइन करिव दुई घण्टा सम्म उक्त अस्पतालको मुख्य प्रवेशद्धार च्यानलगेटबाट आवतजावतमा समेत पूर्ण रोक लगाइएको थियो ।

यस्तो खालको सुरक्षाप्रणाली हेर्दा सामान्य जो कोहीले पनि संकटकालको झझल्को आएको बताउँथे । यीनै सुरक्षाकर्मीको दौडधुप देखेर विमानस्थलको आसपासमा धेरै सर्वसाधरणको भीडभाड देख्न सकिन्थ्यो ।

सुरक्षा त्यति मात्रै होइन, करिव २ घण्टा सम्म चौविसकोठी देखि केन्द्रीय बसपार्क सम्मको राजमार्गलाई सुरक्षाकर्मीले आफ्नो कब्जामा राखेका थिए । उनीहरुले उक्त स्थानमा राजमार्गसँग जोडिने साना देखि ठूला सडकहरुमा पनि पूर्ण रुपमा सर्वसाधरण तथा सवारी साधनलाई आवतजावतमा रोकनै लगाएका थिए । चौविसकोठीको त मुख्य सडकमानै सुरक्षाकर्मीले तारवार लगाएको देख्न सकिन्थ्यो । जहाँ सर्वसाधरणहरु जान पाउनुपर्ने माग गरिरहेका थिए ।

दुई समूहमा विभाजित भएपछि आफ्नो पक्षमा जनमत देखाउन उनी लगायत उनको संगठनलाई धेरै ठूलो दबाब थियो । त्यसैले शनिवार भएपनि चितवनका सम्पूर्ण सरकारी कर्मचारीहरुलाई उक्त शिलान्यास तथा आमसभामा उपस्थितीको लागि उर्दी जारी गरिएको समेत उपल्लो तहकै सरकारी कर्मचारीले हामीसँग बताएका छन् ।

उनले ६ लेन सडक खण्डको वीचमागमै शिलान्यास गरे । जुन क्षेत्रमा अहिले सम्म ठेकेदार कम्पनीले सडक बनाउन सुरु समेत गरिसकेको छैन । प्रायस कुनैपनि आयोजनाको सुरु या अन्तिम स्थानमा शिलान्यसा गर्ने प्रचलन रहेको छ । तर विमानस्थलबाट निस्कनासाथ शिलान्यास गरिने व्यवस्था मिलाइनुले सुरक्षा अवस्थाको दृष्टिकोणलाइ हेरेर नजिकै गरिएको होकी भनेर पनि अनुमान गर्न सकिन्छ ।

सुरक्षाकै दृष्टिकोणले ओलीले शिलान्यास गरेका सिटी हल निर्माण क्षेत्रमा सीमित चार पाँच जना पत्रकार भन्दा वाहेक अरुलाई प्रवेश निषेध गरिएको थियो । तर सर्वत्र विरोध भएको र हुने थाहा पाएपछि सुरक्षा संयन्त्रले प्रेस कार्ड हेरेर झोला कडा रुपमा चेक गर्दै भित्र प्रवेश गर्न दिएको थियो ।

त्यसका अलवा उनले आफ्ना कार्यकर्तालाई सम्वोधन गर्ने सभास्थल केन्द्रीय वसपार्कको खाली जमिनमा करिव पाँच सात दिन अघि देखिनै निगरानी बढाइएको थियो । त्यहाँ निर्माणाधीन मञ्च तयार पार्दा सुरक्षाकर्मीले त्यस स्थानको बारम्वार निरीक्षण समेत गरिरहेको थियो । दिनमा एक पटक जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मी सहितको भ्यान उक्त स्थानमा सहजै देख्न सकिथ्यो ।

No description available.

सुरक्षाको कारण देखाउँदै मञ्च तयार गर्दा पनि प्रशासनसँग समन्वय गरी उनीहरुले भने मुताविक गरिएको सोही समूहका कार्यकर्ताले बताएका छन् । उक्त सभास्थलमा शनिवार विहानै देखि तालिम प्राप्त दुई वटा कुकुर समेत प्रहरीले परिचालन गरेको देखिन्थ्यो । सुरक्षाको दृष्टिकोण भन्दै सयौँको संख्यामा सुरक्षाकर्मी आमसभा स्थलमा तैनाथ थिए । त्यतिमात्रै होइन आमसभामा प्रवेश गर्नेलाई उच्च प्रविधिबाट कडा चेक गरिएको थियो ।

चितवनमा प्रधानमन्त्री आउने भएपछि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यहाँका सर्वसाधरणले करिव ७ घण्टा सम्म समस्या झेल्नुपर्यो । तीन घण्टा त सर्वसाधरणले एक ठाउँबाट अर्को ठाउँसम्म जाने सडकनै पाएनन् । त्यो वाहेकको समय पनि चेकजाँचका लागि प्रहरीकै लागि छुट्याइदिनुपर्यो ।

मुलुकमा संकटकाल सकिएपछि कुनैपनि प्रधानमन्त्री या उच्च पदस्थ व्यक्तिहरु चितवन आउँदा यति ठूलो सख्यामा प्रहरी तथा सुरक्षाकर्मीहरु परिचालन गरिएको यो पहिलो भएको सेवा निवृत्त भएका उच्च पदस्थ सुरक्षाकर्मीहरुनै बताउँछन् ।

त्यतिमात्रै होइन समाचार संकलनका लागि विमानस्थल बाहिर पुगेका पत्रकारहरुलाई समेत उच्च निगरानी गरिएको थियो । कति सम्म भने परिचय पत्र देखाउदा समेत घाँटीमा झुण्ड्याउन भन्दै आदेश गरिएको थियो । यसैवीचमा पत्रकार शान्ता अधिकारीलाई कालो सल लगाएको देखेर सुरक्षाकर्मीले सल नलाउन भनेका थिए ।

आफ्नो परिचय पत्र देखाउँदा पनि सल भने निकालेर झोलामा राख्न वाध्य बनाए । यसवाट प्रष्ट हुन्छ विपक्षिहरुले कालो झण्डा देखाउँछन् भन्ने सुरक्षाकर्मीलाई अनुमान थियो ।

तर त्यति धेरै चारै निकायका सुरक्षाकर्मीहरु परिचालन गरेपनि उनकै पार्टीको अर्को दाहाल नेपाल समूहको विद्यार्थी तथा अन्य भातृ संगठनले चितवनमा व्यापक रुपमा विरोध गरे । विहानै देखि उनीविरुद्ध सडक सडकमा पर्चा पम्प्लेटिङ मात्रै गरेनन् टायर समेत जलाए ।

अचम्म लाग्दो त यो देखिन्थ्यो कि जव प्रधानमन्त्री विमानस्थलमा झरे तव उनकै टाउको माथि आकाशबाट कालो बेलुनको झुप्पोमा ‘प्रतिगमन मुर्दावाद’ लेखेको फ्लेक्स उडीरहेको थियो । त्यो वेला त प्रधानमन्त्रीतिर भन्दा पत्रकार तथा सर्वसाधरणको ध्यान त्यहि ‘प्रतिगमन’ लेखिएको व्यानर लिएर उडीरहको बेलुनमा केन्द्रीत देखिन्थ्यो । त्यहाँ मात्रै होइन उनले शिलान्यास सकेपछि आमसभालाई सम्वोधन गरिरहदा समेत यस्ता बेलुनका झुप्पाहरु आमसभा स्थलमाथिनै प्रष्ट देखिने गरी उडीरहेका थिए ।

No description available.
आयोजकलाई सर्वसाधरणको ध्यान त्यसैमा केन्द्रीत होला भन्ने कुरामा वहुत ठूलो चिन्ता रहेको सहजै अनुमान गर्न सकिन्थ्यो । आयोजकले चितवन जिल्लाको मात्रै कार्यक्रम रहेको जनाएपनि कार्यक्रमस्थलमा भने प्रदेश नम्वर २ देखि प्रदेशनम्वर ४ सम्मका सर्वसाधरणहरु सहजै नियाल्न सकिन्थ्यो ।
आफूलाई प्रत्येक समय ओलीले जनताको विकासप्रेमी, निडर प्रधानमन्त्री बताइरहदा चितवनमा उनी आउने हुँदा यस्तो राजशी ठाँटको व्यवस्थापन किन गरिएको होला आमसर्वसाधरणले अहिलेसम्म उत्तर खोजिरहेका छन् । साथै कालो बेलुन उड्छ की भनेर छत छतमा गएर सुरक्षा दिएका सुरक्षाकर्मीहरुले आकाशमा प्रतिगमन लेखिएको व्यानर उडिरहदा अझ नजिकबाट नियालिरहेको दृश्य कम्ता रोचक थिएन ।

  • प्रकाशित मिति : माघ १८, २०७७, आइतवार १२:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८