• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

चितवनमा टमाटर टिप्ने किसानको हातमा हतकडी !


चितवनमा टमाटर टिप्ने किसानको हातमा हतकडी !

किसानका मागप्रति सरकार सधैँ किन उदासीन ?

केपी शर्मा–माघ १८, २०७७
चितवन । चार वर्ष अघि विदेशी भूमि इजरायलबाट नेपाल फर्किएका दिपक गुरुङको हातमा अहिले हतकडी छ । उनी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । उनी चोरी डकैतिले हिरासतमा परेका होइनन् , उनी त भारतबाट आयातित विषादी हालेको तरकारी नेपाल आउन वन्द गरिनुपर्छ भन्दै गर्दा पक्राउ परेका हुन् ।

उनी विगत चार वर्षदेखि चितवनमा जग्गा भाडामा लिएर व्यवसायिक तरकारी खेती गर्दै आइरहेका किसान हुन् । उनले अहिले धेरै ठूलो क्षेत्रफलमा टमाटर उत्पादन गरिरहेका छन् ।
उनको टमाटर बारीमै कुहिँरहदा भारतबाट आयात गरिएको विषादीयुक्त टमाटर लगायत तरकारीजन्य वस्तुले भने नारायणगढमा बजारमा मनग्य बजारभाउ पाएको छ ।

आफ्नो पसीना बगाएर विषादी विना फलाएको टमाटरले आफ्नै जिल्लामा बजार नपाउने तर विषादी सहितको भारतीय टमाटरले बजार पाउँदा त्यसलाई रोक्न माग गर्दा उनी प्रहरी हिरासतमा परेको किसानहरुले बताएका छन् । अहिले उनको रिहाईको माग गर्दै विरोध प्रदर्शनमा तरकारी किसानहरु उत्रिएका छन् ।

चितवनमा किसानहरुले अहिले मात्र भारतबाट आयात गरिने फलफूल तथा तरकारी रोक्न खोजेका होइनन् । विगत ४/५ वर्षदेखि उनीहरु यो काममा लगातार लागिरहेका छन् । तर उनीहरुको प्रयास वालुवामा पानी सरह भइरहेको छ । प्रशासनले वेवास्ता गर्दा आफ्नो कदम पुरा हुन नसकेको किसानहरुको आरोप छ । साथै चितवन जिल्लामा पुर्याएर अन्य जिल्लामा समेत तरकारी निर्यात गर्न सक्ने हैसियत हुँदा समेत सरकारले चितवनका तरकारी किसानहरुको आवाज नसुनेको उनीहरुको गुनासो छ ।

भारतीय विषादीयुक्त टमाटर रोक्न माग गरेपनि चितवनमै रहेका केही विचौलियाहरुले त्यो प्रयासलाई असफल बनाउन खोजीरहेका छन् । नेपाली उत्पादन भन्दा भारतबाट ल्याएको उत्पादनबाट नाफा कमाउन सकिने भन्दै स्थानीय उत्पादनलाई वेवास्ता गरिरहेको किसानहरुको आरोप छ ।

चार दिन अघि जिल्ला प्रहरी कार्यालय चितवन किसान दिपक गुरुङलाई पक्राउ गरेपछि जिल्लाभरका किसानहरुले विना शर्त रिहाइको माग गरिरहेका छन् । आइतवार उनीहरुले भरतपुरको चौविसकोठी देखि हाकीम चोक जिल्ला प्रशासन हुँदै जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा कोणसभा समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै किसान केशव आचार्यले भने,“टमाटर टिप्नुपर्ने समयमा किसान सडकमा छ । किसानले ऋण लिएको छ । अहिले प्रत्येक पाइला चाल्दा बैँकमा ऋणको व्याज बढिरहेको छ तर हाम्रो उत्पादन टमाटर भने बारीमै कुहिरहेको छ । ”
उक्त पीडा पोख्दै आचार्यले थपे,“भारतीय गुणस्तरहीन र विषादीले भरिएको टमाटर सहित तरकारीहरु बजारमा खुलेआमा विक्रि भइरहदा प्रशासन के हेरेर बस्छ ? प्रशासन त यो हेर्छ की त्यो भारतीय टमाटर कसले रोक्छ अनि त्यसैलाई समात्ने ”। उनले भने ,“हामी हाम्रा किसान दिपक गुरुङको रिहाइको लागि जोडदार माग गर्दछौँ । यदी हाम्रो माग पुरा नभए र भारतबाट विषादीयुक्त टमाटर आयात भइरहे टमाटर ल्याउने ट्रक र त्यसका चालक सहित विचौलियालाई गाडीभित्रै राखेर आगो लगाउन हामी तयार छौँ । ”

No description available.

सभामा बोल्दै अर्का किसान हरिप्रसाद अधिकारीले किसान कसैको दलाली नभएको स्पष्ट पारे । उनले भने,“किसानलाई पाँच वर्षमा एक पटक मतदान गर्ने दिनमात्रै नेताहरुले सम्झन्छन् । अरु वेला हाम्रा समस्या कसैले सुन्दैनन् ।” उनले थपे,“राणा शासन, पञ्चायत, राजतन्त्र किसानले नै फालेको हो । हेक्का रहोस जावो विचौलिया फाल्नलाई हामीलाई कुनै ठूलो कुरो होइन । हामीले त आफ्नै दाजु भाई मानेर मात्रै सम्झाइरहेका छौँ । ”

उनले यदि गुरुङको रिहाई नभए किसानले प्रयोग गर्दै आएको ट्याक्टर प्रशासनको भित्तामा बजारिने चेतावनी दिए । त्यसको क्षतिपूर्ति किसानले होइन प्रशासनले तिर्नेछ, उनले भने ।

किसान अधिकारीले यदि प्रशासन समेत मौन वस्ने र विचौलिया मौलाउँदै जाने भयो भने विचौलियाको सटरनै लगेर नारायणीमा बगाइदिने बताए ।

नेपाली किसान संघर्ष समिति चितवन नाम दिएर सुरु गरिएको आन्दोलनका संयोजक किसान लेखनाथ भुषालले अहिले वर्ता चलिरहेको बताए । उनले वार्ता सकारात्मक रहेको र क्षतिपूर्तिको बारेमा कुरा मिलेमा सहमति हुने जनाए । खासमा किसानका तीन वटा माग रहेको प्रष्ट पारे । पहिलो माग थुनामा रहेको गुरुङलाई विना शर्त रिहाइ गरिनुपर्ने, दोस्रो उक्त ट्रकले दावी गरेको क्षतिपुर्ति किसानले कुनै पनि हालतमा नतिर्ने र अन्तिममा अव उप्रान्त चितवनमा भएको उत्पादन व्यापारीले प्रयोग गर्ने र चितवनमा नभए मात्रै अन्य स्थानबाट मगाउने।

उनले क्षतीपुर्ति वाहेकका शर्तहरुमा लगभग सहमति भइसकेको बताए । यता भारतीय ट्रक पक्षले ६ लाख बरावरको क्षतिपुर्ति माग गरेपनि ३ लाखमा झरिसकेको उनले बताए । तर किसानहरु कत्तिपनि क्षतिपुर्ति तिर्न तयार नुहने उनको भनाई छ । राज्यले तिरे हाम्रो दुख मनाउ छैन हामी भने तिर्दैनौँ , उनले भने ।

जिल्ला प्रहरी कार्यालय अगाडि भएको विरोध सभालाई किसान सुमन सुवेदीले संचालन गरेका थिए भने अनुप सुवेदी लगायत अन्य धेरै किसानहरुले आफ्नो धारणा राखेका थिए ।

No description available.

तर यस विषयमा खवरमुलुकले प्रहरीसँग सम्पर्क गर्दा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले दिपक गुरुङ भन्ने व्यक्ति हिरासतमा रहेको बताए । उनले घटना किसानले भने जस्तो सहज नभएको बताए । उनका अनुसार दिपक गुरुङ लगायत दुई चार जनाको समूहले भारतबाट टमाटर, भेँडे खुर्सानी लगायत तरकारी जन्य पदार्थ बोकेर आएको ट्रकलाई भरतपुरकै गणेश टोलमा नियन्त्रणमा लिएका थिए ।

त्यसपछि उक्त भारतीय ट्रकको चालकलाई आफ्नो कारमा राखि सो ट्रकलाई गुरुङमध्येकै एक जनाले चलाएर गितानगर सम्म लगि ट्रकमा भएको सम्पूर्ण सामाग्री नष्ट पारिदिएका थिए । त्यसपछि रित्तो ट्रक प्रहरीको सम्पर्कमा आएको हो । ट्रक चालकको निवेदनको आधारमा प्रहरीले दिपक गुरुङलाई पक्राउ गरिएको र अहिले तारखेमा छाडेको थापाले बताए ।

  • प्रकाशित मिति : माघ १८, २०७७, आइतवार १०:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८