• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मन्त्री नेम्वाङले गरे चितवनमा तौल पुलको उद्घाटन

  • खबरदाता

मन्त्री नेम्वाङले गरे चितवनमा तौल पुलको उद्घाटन

माघ १८, २०७७
चितवन । चितवनको भरतपुर महानगरपालिका १ स्थित पूर्व पश्चिम राजमार्गको आँपटारीमा नव निर्मित तौल स्टेशन (तौल पुल) आजबाट संचालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले आज उद्घाटन गरेसँगै संचालनमा आएको हो ।

राजमार्ग सँगै रहेको उक्त तौल पुलको क्षमता ८० टनको रहेको छ । १८ मिटर लम्वाइ रहेको उक्त पुलसँगै कार्यालय तथा आवास प्रयोजनका लागि तीन कोठाको भवन, कन्ट्रोल रुम, सार्वजनिक शौचालय, विद्युत, टेलिफोन खानेपानी तथा सीसी क्यामेरा समेत जडान गरिएको छ ।

उक्त तौल पुल निर्माणका लागि दुई वटा ठेक्का सम्झौता भएको थियो । एउटा ठेक्काबाट ६७ लाख ८४ हजार ७५८ रुपैयामा तौल पुल तथा भवनको निर्माण गरिएको थियो भने अर्को ठेक्कबाट ५३ लाख ८८ हजार ९०७ रुपैयाका सामान आयात गरिएको थियो ।

उक्त तौल पुल लगायत सम्पूर्ण भौतिक सामाग्रीहरु तयार पार्न कूल १ करोड २१ लाख ७३ हजार ६६५ रुपैया लागेको यातायात व्यवस्था विभागले जनाएको छ ।

राजमार्गमा हिँड्ने मालवाहक सवारी साधनले क्षमता भन्दा वढि लोड बोकेमा सडकको आयू घट्ने र दुर्घटना हुने सम्भावना भएकाले त्यस्ता बढि भार बोक्ने सवारी साधनलाई नियमन तथा निन्यत्रणमा ल्याउनका लागि यस्ता तौल पुलले महत्वपूर्ण भूमिका खेल्न गर्दछ ।

यातायात व्यवस्था विभागले सन् २०१६ मा धार्के, हेटौँडा र गैँडाकोटमा गरेको सर्वेक्षणले पनि ७५ प्रतिशतभन्दा वढी मालवाहक सवारी साधनले तोकिएको भन्दा वढि ओजन बोकेको तथ्याङ्क छ ।

यसले नयाँ सडकलाई चाँडै ध्यवस्त पार्ने र संरचना दिगो नहुने भएकाले तौल पुलको व्यवस्था अन्य ठाउँमा पनि स्थापना गर्दै जाने मन्त्री नेम्वाङले बताए । उनले भने,“यो देशकै मध्य भाग हो । यो सडक भएर हजारौँ मालवाहक सवारी साधन गुड्छन् । अहिले नयाँ प्रविधिको प्रयोग सहित सडकहरु निर्माण भइरहेका छन् ।

तोकेको भन्दा बढी भार बोकेमा सडकको आयू घट्ने हुन्छ । साथै दुर्घटनापनि निम्तिने गर्छ । यस्ता पुलले यी कार्यलाई नियन्त्रणमा ल्याउने काम गर्छ ।” सरकारले नयाँ सडक निर्माण गरिरहेको ठाउँमा तौल पुल निर्माणलाई पनि प्रथामिकतामा राखेको उनले बताए ।

नेपालमा मालवाहक सवारी साधनले प्रति एक्सल १०.२ टन भन्दा बढी वजन बोकेर चलाउन नपाईने व्यवस्था रहेको छ । यसैको प्रभावकारी कायान्वयनका लागि नेपाल सरकार आफैले यसको निर्माणका लागि अग्रसर भएको थियो ।

तौलपुल संचालनका लागि यातायात व्यवस्था विभाग, प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय सँग मंसिर १२ गते समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । सोही समझदारी अनुसार सवारीको भार मापनका लागि आवश्यक प्राविधिक जनशक्ति यातायात व्यवस्था विभागले उपलब्ध गराउने र अनुगमन ट्राफिकले प्रहरीले गर्ने जिम्मेवारी समेत तोकिएको छ । आवश्यकता अनुसार उक्त पुल चौविसैघण्टा संचालनमा ल्याइने व्यवस्था गरिएको छ ।

  • प्रकाशित मिति : माघ १८, २०७७, आइतवार ०९:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८