फोन नम्बर चितवन प्रहरीको – उठ्छ होटलमा

  • माघ १३, २०७७

फोन गरेको दश मिनेटमा घटनास्थलमा उपलब्ध हुन्छु भन्ने प्रहरीले आफ्नै कार्यालयको टेलिफोन नम्वर तीन महिना देखि कुनै अर्को निजी संस्थाले प्रयोग गरिरहदा के हेरेर बसेको छ ? सर्वसाधरणले पाउलान त समयमै शान्ति र सुरक्षा ?

केपी शर्मा– माघ १३, २०७७
चितवन । कुनैपनि घटना होस वा दुर्घटना, थाहा पाउने वित्तीकै सर्वसाधारणले सवैभन्दा पहिला नजिकको जिल्ला प्रहरी कार्यालयको नम्वर खोज्ने गर्दछन् ।

यदि नम्वर नभेटे सामाजिक संजालमा कार्यालय खोजी गरी उसको फेसबुक पेजबाट लिने प्रयास गर्दछन् । जिल्ला प्रहरी कार्यालय चितवनको फेसबुक पेज खोल्दा भेटिन्छ ०५६ ५२०१५५ । अनि सवैले यसैमा फोन गर्छन् । तर उक्त नम्वरको फोन भने जिल्ला प्रहरी कार्यालयमा नभई भरतपुरकै कुनै होटलमा उठ्ने गरेको पाइन्छ ।

शान्ति सुरक्षामा प्रत्यक्ष सरोकार राख्नुपर्ने प्रहरी जस्तो संवेदनशील इकाइले प्रयोग गर्ने टेलिफोन नम्वर कुनै होटलमा कसरी उठ्छ ? गम्भीर प्रश्न यहाँनेर छ ।

धेरै क्षेत्रका सर्वसाधरणबाट जिल्ला प्रहरी कार्यालयमा गरेको टेलिफोन अन्तै उठेको भनेर व्यापक जनगुनासो आएपछि हामीले यस वारेमा बुझ्ने प्रयास गरेका हौँ । जिल्ला प्रहरी कार्यालयको आधिकारिक फेसबुक पेजमा आजका मितिसम्म ०५६ ५२०१५५ नम्वर राखिएको छ । त्यतीमात्र हैन जिल्ला प्रहरी कार्यालय चितवनको गेटमा पनि सोहि फोन नम्बर उल्लेख छ ।


धेरैले सामाजिक संजाल मार्फत जिल्ला प्रहरी कार्यालयको फेसबुक पेजमा गएर सोही नम्वर प्रयोग गर्ने गरेका छन् भने धेरैले चितवन प्रहरी भन्नेवित्तिकै सोही नम्वरलाई सम्झने गरेको पाइन्छ । किनकी यो फोन जिल्ला प्रहरी कार्यालयले सुरुदेखिनै प्रयोग गर्दै आएको हो ।

यति विघ्न प्रयोगमा आउने प्रहरीको नम्वर अन्त कतै निजी प्रयोजनका लागि कसले उपयोग गर्न दियो ? प्रहरीको सवंदेनशीलता माथि गम्भिर प्रश्न उब्जिएको छ । अहिले उक्त नम्वरमा फोन गर्दा भरतपुर १० स्थित सिनर्जी रोडमा रहेको चितवन बेकरी उद्योगमा उठ्ने गर्दछ । हामीले फोन गर्दा पनि सोही पसलका कर्मचारी सनम लामाले फोन उठाए । यो नम्वर लिएपछि उनलाई पनि हैरानी परेको रहेछ । दिनमै सयौँ फोनहरु आउने गरेको उनले बताए । लामाले भने,“फोन आउँछ, अर्डर आयो होला भनेर फोन उठायो , गाडि दुर्घटना भयो ! मान्छे मर्यो ! मोटरसाइकलले मान्छे हान्यो  ! जस्ता कुराहरु मात्रै आउँछन् । व्यापारको त कुरै आउँदैन । ”

आजका मितिसम्म उक्त नम्वरको ल्याण्डलाईन फोन जिल्ला प्रहरी कार्यालय चितवनकै नाममा रहेको नेपाल टेलिकमको सहयोगि नम्वर १९७ ले जनाएको छ । यो प्रहरीको फोन नम्वर कुन प्रयोजनको लागि कसले होटललाई प्रदान गर्यो ? यदि कसैलाई नम्बर प्रदान गरियो भने चितवन प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेजमा अहिलेसम्म किन यही नम्वर राखिरहन्छ ? यसलाई प्रहरीको लार्पावाही भन्ने वा मिलेमतो ।

कुनैपनि सामान्य देखि ठूलो घटनाहुने वित्तिकै सर्वसाधारणलाई सूचना पुर्याउन आतुर रहने जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो नाममा भएको नम्वर कम्तिमा ३ महिना सम्म अरुले प्रयोग गरिरहदा के हेरेर बसेको छ ?

यता जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले आफूलाई उक्त नम्वर दिन आग्रह गर्दै थप बुझ्ने बताए ।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८