जवरजस्त घोषणा गरिएको मध्यावधी र हतारोको निर्वाचन तालिका प्रति दल र स्थानीय तहका जनप्रतिनिधिलाइ नै बोझ भएको हुन सक्छ ।
केपी शर्मा– माघ ११, २०७७
चितवन । जो अगुवा उही बाटो….. भन्ने उखान यतिवेला चितवन जिल्लामा चरितार्थ भएको छ ।
सरकारले तोकेको निर्वाचनको पहिलो मिति आउनलाई ९५ दिन बाँकी रहदा निर्वाचन कार्यालय चितवनले गरेको निर्वाचन सम्वन्धी विशेष जानकारी मूलक कार्यक्रममा चुनाव घोषणा गरेको सत्तारुढ दल नेकपाकै प्रतिनिधिहरु अनुपस्थित रहे।
आइतबार जिल्ला निर्वाचन कार्यालय चितवनले जिल्ला समन्वय समितिको सभाहलमा मतदाता नामावलीमा दावी विरोध सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरेको थियो । तर सोही कार्यक्रममा निर्वाचन हुनैपर्छ, हुन्छ नै, तयारीमा लाग्नुहोस भनेर दिनहुँ भाषण ठोकिरहने दलका प्रतिनिधिहरुनै सामेल भएनन् ।

निर्वाचन आयोगले चितवनमा सक्रिय दशवटै राजनीतिक दलहरुलाई यस कार्यशालामा उपस्थित भइदिन पत्र जारी गरेको जनाएको छ । यता सत्तारुढ दल नेकपाकै नाममा अन्तिम पटक चलानी नम्वर १०८ मार्फत पत्र काटेर पार्टी कार्यालयमा पठाएको निर्वाचन कार्यालय चितवनकी सूचना अधिकारी लक्ष्मी ढकालले बताइन् । उनले भनिन्,“चिठी मात्रै होइन हामीले पटक पटक फोनबाट समेत जानकारी गराएका छौँ ।”
नेकपाका जिल्ला अध्यक्ष यम बहादुर परियारले नेकपालाई जानकारी आएको र आफू चाहिँ कार्यव्यस्तताले उपस्थित हुन नसकेको बताए । उनले भने,“साथीहरु मध्ये कोही जाने कुरा थियो किन जानु भएन म यस बारेमा बुझ्नेछु । ”
तर यो भन्दा अघिल्लो कार्यक्रममा उपस्थित भएका परियारले आफ्नो मन्तव्य राखेपनि उपस्थिती भने नजनाएको पाइएको छ ।
यता जनप्रतिनिधि समेत रहेकी नेकपाकै पार्वती रावलले भने निर्वाचन आयोगले नेकपालाई पत्र नपठाएको बताएकी छिन् । उनले भनिन्,“म चितवनमै छु । निर्वाचन कार्यालयबाट कुनै पनि जानकारी हुने पत्र आएको छैन । साथै कसैले फोटबाट मौखिक रुपमा जानकारी पनि गराएको छैन । नत्र उपस्थिती जनाउँथे ।”
त्यति मात्रै होइन जिल्लामा रहेका स्थानीय तहका प्रमुखहरुलाई पनि निर्वाचन सम्वन्धी कार्यक्रमले छुन सकेन । हिजोका दिनमा तिनै जनताकको भोट खाएर जितेका जनप्रतिनिधिले आज निर्वाचन कार्यालयको कार्यक्रमलाई बेवास्ता गरिरहेका छन् । आजको कार्यक्रममा भरतपुर महानगरका प्रमुख उपप्रमुखको अनुपस्थिती रह्यो ।
यस्तै खैरहनी,माडी र कालिका नगरपालिकाका जनप्रतिनिधि पनि अनुपस्थिती रहे । सात वटा स्थानीय तह रहेको जिल्लामा रत्ननगर,राप्ती र इच्छाकामनाका क्रमश उपप्रमुख विमला दुवाडी, नगरप्रमुख प्रभा वराल र अध्यक्ष गिता कुमारी गुरुङको मात्र उपस्थिती रहेको देखियो ।
आजको मात्र होइन यसअघिभएका २ वटा कार्यक्रममा समेत भरतपुर महानगरपालिकाबाट कुनै पनि प्रतिनिधित्व नभएको पाइएको छ ।

यसले यो प्रमाणीत गर्छकी जनप्रतिनिधिहरुलाई सरकारले तोकेको मितिमा चुनाव हुन्छ भन्ने कुरामा विश्वास छैन । यता उनीहरु जनताप्रति उत्तरदायी छैनन् ।
यता कार्यक्रममा अनुपस्थित बारे हामीले जानकारी लिन भरतपुर महानगर प्रमुख रेनु दाहाललका वेवसाइटमा रहेका दुइवटै नम्वर ९८५५०११३११ र ९८५११६६००३ मा सम्पर्क गर्दा उनका फोन उठेनन् ।
यता उप–प्रमुख पार्वती शाहले भने आफूलाई सो कार्यक्रमबारे कुनै जानकारीनै नभएको बताइन् । उनले भनिन्,“मेयरसावलाई जानकारी भएको भए निर्देशन हुनुपथ्र्यो । र प्रतिनिधित्व जनाउनु पर्दथ्यो किनकी जनताकै मतले हामी यो ठाउँमा छौँ ।”
आजको कार्यक्रममा चितवनमा रहेका राजनीतिक दलहरु र सवै स्थानीय तहका प्रमुख उपप्रमुखहरु उपस्थित रहनुपर्ने थियो । जसले गर्दा जनताको घरघरसम्म निर्वाचन सम्वन्धी र मतदाता नामावलीको दावी विरोधवारे जानकारी पुग्ने थियो । मतदाता नामावली अद्यावधिक कार्यक्रम स्थानीय तहको केन्द्रलाई आधार मानेर संचालन गरिने निर्वाचन कार्यालय चितवनले जनाएको छ । यसका लागि पनि जनप्रतिनिधिहरुको उपस्थिती महत्वपूर्ण मानिएको हो ।
स्थानीय तहमा माघ १५ देखि २१ गते १० दिन सम्म र जिल्लामा माघ १५ देखि २६ गते १२ दिनसम्म संचालन गरिने र त्यसमा स्थानीय तहको भूमिका के हुने भन्नेबारे जानकारी गराइएको थियो । जिल्लामा पुष १६ देखि फागनु २१ सम्म संचालन हुने निर्वाचन कार्यालयले जनाएको छ ।
आजको अनुपस्थितीले निर्वाचन सम्वन्धी कार्यतालिका जनतासमक्ष पुग्ने कुरामै चित्त नबुझेको कार्यक्रममा उपस्थित नेपाली काँग्रेसका जिल्ला सचिव उत्तम जोशीले बताए । वडावडामा मतदाता नामावली नपुर्याइकन सहज रुपमा सवैले निर्वाचनमा भाग लिन पाउँछन् भन्ने कसरी ग्यारेन्टी गर्न सकिन्छ ? उनको प्रश्न थियो । केन्द्रीकृत रुपमा मात्रै कार्यक्रम संचालन गर्दा वडाको सामान्य व्यक्तिले आफ्नो नामावली प्रकाशन भएको समेत थाहा नपाउने अवस्था आउन सक्छ अनि के को दावी अनि के को विरोध ?
कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले सवैलाई खवर गरेपनि कार्यक्रममा कम उपस्थित भएको बताए । उनले समयावधि छोटो भएकाले राजनीतिक दल,जनप्रतिनिधि, पत्रकार लगायत सवै मिलेर सहज ढँगले निर्वाचन सम्वन्धी कार्यक्रमलाई गाउँ टोल सम्म पुर्याउन सहयोग गर्नुपर्ने बताए । उनले भने,“निर्वाचन निष्पक्ष हुन्छ त्यसमा हामी जिम्मा लिन्छौँ र ढुक्क हुन आह्वान गर्दछौँ ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८