• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रचण्डद्वारा रक्तपातको धम्की , के फेरि जंगल जालान ?


प्रचण्डद्वारा रक्तपातको धम्की , के फेरि जंगल जालान ?

माघ १०,२०७७  – नारायण प्रसाद दाहाल

काठमाडौँ। विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्का मनोनीत अध्यक्ष माधव नेपाल शुक्रबार केही उत्साहित देखिन्थे । त्यो उत्साह उनीहरुले अदालतमाथि प्रहारमा परिणत गरेका थिए ।

आँखासामुन्ने जम्मा भएको भीडबाट उत्साहित भएका प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अदालतले नसच्याए सडकबाटै जनता उतारेर उल्टाइदिने धम्की दिन भ्याएका थिए । साथै, उनले शान्ति प्रक्रिया बिथोलिन सक्ने चेतावनी पनि दिएका थिए । प्रकारान्तरले उनले यो देशमा फेरि रक्तपात हुने धम्की प्रचण्डले दिएका छन् ।
प्रचण्डले यसअघि आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा शाकाहारी आन्दोलनले नतिजा नदिने भन्दै हिंसाका निम्ति उक्साएका थिए । शुक्रबारको प्रदर्शनअघि राजधानी काठमाडौँलाई अस्तव्यस्त बनाउन निर्देशन दिएका थिए । नभन्दै शुक्रबार बिहानैदेखि दिनभरजसो राजधानीको यातायात व्यवस्था अस्तव्यस्त भयो । जनजीवन पनि निकै बिथोलियो ।

प्रचण्डलाई के विश्वास भएको छ भने अब देशैभरको जनजीवनलाई यसैगरी बिथोल्न सकिन्छ । जनताको दैनिकीलाई बिथोल्न सकेमा उनीहरुमा निराशा र बेचैनी बढ्छ । जनतामा व्याप्त असन्तुष्टि र आक्रोशलाई सरकारतिर सोझ्याउन पाएमा प्रधानमन्त्री ओलीलाई कमजोर पार्न सकिन्छ र आफू नेता भइन्छ भन्ने सोच प्रचण्डमा देखिन्छ ।नेकपा एमालेभित्र हुँडलो मच्चाएर उक्त पार्टीलाई छिन्नभिन्न पार्न प्रचण्ड सफल भइसकेका छन् । यति मात्र होइन, पार्टीभित्रको हुँडलोलाई जनस्तरसम्म पुर्याउन पनि उनी सफल भएका छन् । हिजो माओवादीबाटै चोइटिएर गएका विभिन्न समूहलाई समेत ओलीको विरुद्धमा बोल्नुपर्ने स्थिति बनाउने र त्यही मौकामा आफ्नो स्वर बलियो बनाउने दाउ प्रचण्डको देखिन्छ ।

अदालतलाई हाकाहाकी धम्क्याएका प्रचण्डले अन्तर्राष्ट्रिय समुदालाई पनि जनमत आफ्नो पक्षमा रहेको देखाउन खोजेको प्रस्टिन्छ । द्वन्द्वकालीन ज्यादतीका घटनाका दोषीमाथि कारवाहीको विषय विश्वव्यापी मानव अधिकार समीक्षाका सन्दर्भमा अन्तर्राष्ट्रिय समुदायले नेपालको आलोचना गरिरहेका बेला प्रचण्डले जनता आफ्नो पक्षमा रहेको देखाउन खोजेका छन् । जनताको भीड देखाएर युद्धकालीन अपराधबाट उन्मुक्ति पाइने सोच कतिसम्मको युक्तिसंगत र यथार्थपरक छ भन्ने बेग्लै पक्ष छ ।त्यस्तै प्रचण्डले निर्वाचन आयोगलाई पनि थर्काएका छन् । सडकमा केही कार्यकर्ता उतारेर नेकपाको आधिकारिक खेमा आफै रहेको भन्दै उनले सूर्य चिन्हमाथि हकदावी जताएका छन् । यसबाट प्रचण्ड बल प्रयोगकै मनोदशामा रहेको प्रस्ट हुन्छ ।

दाहालले शान्ति प्रक्रिया बिथोलिने भन्दै जनतालाई पनि तर्साउन र घुक्र्याउन खोजेको देखिन्छ । प्रचण्ड सत्ताभन्दा बाहिर हुँदा गरी खाने वातावरण बिग्रिने, रोजीरोटी खोसिन सक्ने, लालाबालाको भविष्य असुक्षित हुने र देशमा फेरि अशान्ति छाउने भयले पनि जनता उनको पक्षमा उभिन सक्ने बुझाइ हुन सक्छ ।प्रचण्ड फेरि हतियार उठाउने, जंगल पस्ने, युद्धको दुन्दुभीमा मुलुकलाई पुनः प्रवेश गराउन सक्ने आदि सन्देश समाजमा प्रवाह गरेर नयाँ खालको भयको खेती गर्न खोजिएको छ । यसो गरिएमा शान्ति र वार्ताका लागि वातावरण बनाउन प्रधानमन्त्रीमाथि दबाब बढ्न सक्ने आकलन पनि प्रचण्डको हुन सक्छ । ओलीलाई गलाउने अरु कुनै हतियार बाँकी नरहेपछि प्रचण्ड धम्की, घुर्की र भयको खेतीमा लागेको पाइन्छ ।
तर, अब उनले विगतमा जस्तो स्वप्नील सपना युवाहरुलाई बाँडेर भूमिगत युद्धका निम्ति तयार पार्न सक्ने सम्भावना निकै न्यून छ ।

उनले विभिन्न तत्वहरुसँग मिलेर हतियारको जोहो त गर्लान् । त्यसैगरी आर्थिक व्यवस्थापन पनि गर्लान् । तर, उनका निम्ति ज्यानको बाजी थापेर युद्धमैदानमा होमिने कार्यकर्ता पाउन मुस्किल छ । उनकै सिको गर्न खोज्दा माओवादीकै नेत्रविक्रम चन्दलाई भूमिगत संघर्ष निल्न न ओकल्नु भइसकेको छ । त्यसमाथि प्रचण्ड कुन नाक लिएर कार्यकर्तालाई भूमिगत बन्न आग्रह गर्ने रु के प्रचण्डको पारिवारिक सत्ता जोगाइदिन निहत्था नेपाली नागरिक पटकपटक बलि चढिदिनुपर्ने हो रु अब प्रचण्डले भूमिगत बन्न आह्वान गरेमा जनताले पहिला यी प्रश्न गर्नेछन् ।

प्रचण्डले यसअघि पनि पटकपटक पुनः जंगल जाने र देशलाई फेरि आतंकको भुमरीमा पारिदिने धम्की दिएका थिए । त्यसै सन्दर्भमा हालका प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘पजेरो जंगल जाँदैन ।’ अहिले त झन् प्रचण्ड कुनै पनि हिसाबले जंगल जान सक्ने अवस्थामा छैनन् । प्रचण्डज्यू, ओलीलाई गलत सावित गर्न र आफू शक्तिमा उदाउन अब धम्की र भयको खेती बन्द गर्नूस् । जनताको मत जित्ने काम गर्नूस् । तपाईँको धम्की र घुर्कीले अब नेपाली जनतालाई असर गर्न छाडिसकेको छ ।

  • प्रकाशित मिति : माघ १०, २०७७, शनिवार ००:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८