• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024

मलेसियाबाट १७ कामदारको शव ल्याइँदै

  • खबरदाता

मलेसियाबाट १७ कामदारको शव ल्याइँदै

माघ ९, २०७७
चितवन । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाजले मलेसियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज शुक्रवार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उड्दै छ ।

क्वालालम्पुरबाट शव लिएर वाइड बडी जहाज शनिवार बिहान ८ः४० बजे काठमाडौँ अवतरण गर्नेछ । सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए ।

मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याउन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

उनले भनिन्, ’निगम राष्ट्रिय ध्वजा बाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ ।’

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले वाइड बडी जहाज प्रयोग गर्न लागेको हो । वाइड बडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइड बडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

  • प्रकाशित मिति : माघ ९, २०७७, शुक्रवार १०:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८