ट्राफिक प्रहरीलाइ घुस दिने चालक ‘च्याप्पै’

  • माघ ०७, २०७७

उपल्लो देखि तल्लो तह सम्मका सवै ट्राफिक प्रहरीहरुलाई घुस लिए दिए वापत कारवाहीको प्रकृया चलाउन थालिएपछि अहिले ट्राफिकहरुले घुसको सट्टा राजश्व उठाउन थालेका छन् ।

केपी शर्मा, माघ ७, २०७७
चितवन । सवारी साधन उल्लघंनमा सक्रिय रहेका चालकहरु पछिल्लो समय ट्राफिक प्रहरीबाट च्याप्पै समातिन थालेका छन् ।

ट्राफिक नियम पालना नगरी जताभावि सवारी साधन हुँइक्याएपनि दुई पाँच सय रुपैया ट्राफिकलाई फाल्दीएपछि सहजै जान पाइन्छ भन्ने सवारी चालकहरु अहिले धमाधम ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।

चालु आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेशका १० वटा जिल्लाका हरेक इकाइहरुले १ हजार ५३८ जना चालकहरुलाई कारवाही गरेका छन् । उनीहरुले लगातार रुपमा ट्राफिक नियमको उल्लघंन गर्ने गरेको पाइएको छ । उनीहरुलाई यो आत्मविश्वास छ की ट्राफिकलाई कार्यक्षेत्रमै पोको पारेर दुई चार सय दिएपछि उम्किन पाइन्छ ।

बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले दिएको जानकारी अनुसार यो आर्थिक वर्षका पछिल्लो ६ महिनामा १ हजार ५३८ जना सवारी चालकले आफ्नो गल्ती छुपाउन सडकमा खटिएका ट्राफिक प्रहरीलाई २ लाख ६१ हजार ४२३ रुपैया बरावर रकमले प्रभावित पार्न खोजेका थिए । तर ट्राफिक प्रहरीले सो रकम इन्कार गरेको छ ।

त्यति मात्रै होइन उसले ती सवारी चालकहरुलाई कारवाही गरी १६ लाख २१ हजार रुपैया जरिवाना समेत असुल गरेको छ । कोइरालाका अनुसार यदि ट्राफिक प्रलोभनमा परेको भए २ लाख ६१ हजार ४२३ रुपैया त बुझ्नेनै थियो तर त्यो रकम व्यक्तिको गोजीमा जान्थ्यो । तर उल्टै कारवाही गर्दा १६ लाख २१ हजार नेपाल सरकारको राजश्वमा जम्मा भएको छ ।

राजश्व असुली मात्रै होइन घुस दिने ७ जना चालकविरुद्ध प्रहरीले मुद्दा समेत चलाएको छ । अन्यलाई भने जरिवाना तिराएर आइन्दा यस्ता गल्ती नदोहोर्याउने शर्तमा छाडिएको छ ।

‘सडक सुधारपछि चितवनमा सवारी दुर्घटनामा कमी’

चितवन जिल्लामा सडक सुधारपछि सवारी दुर्घटनामा कमी आएको छ । दुर्घटनामा कमी आएसँगै अकालमा ज्यान गुमाउनेहरुको संख्यामा समेत कमी आएको छ ।

बागमती ट्राफिक प्रहरी कार्यालय रामनगरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नारायणगढ मुग्लिन सडक विस्तार हुनुपूर्व आर्थिक वर्ष २०७४/०७५ मा ४ सय वटा सवारी दुर्घटनामा परेका थिए जसमा ७४१ जना घाइते भएका थिए भने सो दुर्घटनाहरुमा ९९ जनाले आफ्नो ज्यान गुमाएका थिए ।

तर सडक सुधार भएपछि आर्थिक वर्ष २०७५/०७६ मा जम्मा ५५ वटा सवारी दुर्घटनामा १८७ जना घाइते र २८ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । यसबाट के देखिन्छ भने सडक सुधारपछि अघिल्लो वर्षको तुलनामा ३४५ वटा सवारी दुर्घटनामा कमी आएको देखिन्छ । त्यस्तै घाइते हुनेको संख्यामा पनि सोही अनुसार ५५४ जनाले कमी आएको छ भने दुर्घटनामा मृत्यु हुनेको संख्या पनि ७१ जनाले कमी आएको देखिन्छ ।

यो तथ्याङ्कबाट प्रमाणित हुन्छकी प्राविधिक रुपले व्यवस्थित सडकमा दुर्घटनाहरु कम हुन्छ । त्यस्तै चालु आर्थिक वर्षको ६ महिनामा नारायणगढ मुग्लिन सडकखण्डमा जम्मा १९ वटा सवारी दुर्घटना भएको र ती मध्ये ४४ जना घाइते भई ४ जनाको ज्यान गएको बागमती ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भर जम्मा ५७ वटा सवारी दुर्घटना भएकोमा ११४ जना घाइते भई २४ जनाले ज्यान गुमाएका थिए । यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा ५५ वटा सवारी दुर्घटना हुँदा २८ जनाले ज्यान गुमाएका थिए भने १८७ जना घाइते भएका थिए ।

तथ्याङ्क प्रस्तुत गर्दै एसपी कोइरालाले भने,“प्राविधिक रुपले सही सडक निर्माण गर्न सकेमा सवारी दुर्घटना भारी रुपमा न्यूनिकरण हुन्छ । यो कुरा पूर्वी चितवनमा दैनिक जसो हुने सवारी दुर्घटनाले देखाउँछ । किनकी सो क्षेत्रमा सडक अत्याधिक सानो र सवारी चाप बढि भएका कारण दुर्घटनाको जोखिम धेरै छ ।”

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८