• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

भरतपुरमा भूकम्प,चार घाइतेको सेनाले गर्यो उद्दार !


भरतपुरमा भूकम्प,चार घाइतेको सेनाले गर्यो उद्दार !

२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७ चितवनको भरतपुरमा मनाइरहदा २०७२को भूकम्पले क्षतविक्षत बनाएको जिल्लाका ग्रामीण भेगका जनताहरु भने यो दिवसबारेनै अनविज्ञता प्रकट गरिरहेका छन् ।

केपी शर्मा – माघ २, २०७७
चितवन । चितवनको भरतपुर १० (गेष्टहाउस चौर) मा गएराति भूकम्प गएको छ । उक्त भूकम्पमा दुई वटा घर पूर्ण रुपमा क्षतीग्रस्त हुँदा ४ जना घाइते भएका थिए । घाइतेहरुको बिहानको साँढे ११ बजे उद्दार गरिएको थियो । राति देखि भत्किाएको घरभित्रै रहेका घाइतेहरु विहानसम्ममा अचेत अवस्थामै पुगिसकेका थिए ।
भूकम्प पश्चात जिल्ला स्थित आपतकालिन कार्ययोजना केन्द्रले नेपाली सेनालाई खोज तथा उद्दारका लागि खटाएको थियो । तालिमप्राप्त दक्ष जनशक्ति सहित आएका उनीहरुले नेपाली सेनाको विपद व्यवस्थापन कार्यविधि २०६६ र राष्ट्रिय विपदप्रति कार्य ढाँचा २०७५ अनुसार खोज तथा घाइतेको उद्दार गरेका थिए । साथै उद्दार कार्यमा नेपाल रेडक्रस,नेपाल प्रहरी, स्थानीय र एम्बुलेन्सहरुले घाइतेहरुको उद्दारमा सहयोग गरेका थिए ।
भूकम्पमा परी क्षतीग्रस्त दुई वटा घरबाट चार जना घाइतेलाई रगताम्य अवस्थामा नेपाली सेनाले उद्दार गरेको थियो । उद्दार पश्चात प्राथमिक उपचार गराई उनीहरुलाई थप उपचारका लागि एम्वुलेन्सको सहयोगमा विभिन्न अस्पताल लगिएको थियो ।

उल्लेखित घटना वास्तविक नभई २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७ का अवसरमा भरतपुर १० गेष्टहाउस चौरमा नेपाली सेना श्री नम्वर २ विपद व्यवस्थापन गण रसौली ब्यारेक चितवनले गरेको भत्कीएका संरचनामा खोज तथा उद्दार सम्वन्धी डेमोस्ट्रेशन प्रर्दशन थियो ।

उक्त डेमोस्ट्रेशनमा सांकेतिक रुपमा क्षतीग्रस्त भएका दुई वटा घरबाट नेपाली सेनाको उद्दार टोलीले चारजनालाई उद्दार गरेको देखाइएको थियो । भूकम्प जाँदा कसरी बच्न सकिन्छ र भूकम्पले घर भत्कीदा घरभित्रै च्यापिएर रहेका अर्थात् थुनिएकालाई कसरी उद्दार गरिन्छ भन्ने कुराको पूर्ण जानकारी गराइएको थियो ।


यस्तो थियो सेनाको उद्दार

भूकम्प गइसकेपछि जिल्ला स्थित विपद व्यवस्थापन समितिले सेनालाई दुई वटा घर भत्कीएको र सोही स्थानमा केही मानिसहरु च्यापिएर उद्दारको पर्खाइमा रहेको जानकारी गराएपछि सेनाको तालिमप्राप्त उद्दार टोली सो स्थानमा पुग्दछ ।

टोलीले सो कार्यका लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु लिएर घटनास्थल पुग्दछ । साथै टोली नेताले उनीहरुलाई उद्दार गर्दा अपनाइनुपर्ने सावधानी तथा प्रयोग गर्नुपर्ने सामाग्रीको बारेमा सामान्य सचेतना गराउँछन् । त्यसपछि उक्त टोलीले आफूले बोक्नुपर्ने औजारहरु लिएर भत्कीएको घर छेउमा पुग्दछन् । उनीहरुले बाहिरबाट ढोका अर्थात आवाज आउने ठाउँमा ट्याक ट्याक हिर्काउँदै सेना भन्दछन् :

सेना : भित्र कोही हुनुहुन्छ ? हामीलाई सुन्दै हुनुहुन्छ ?

घाइते : सानो स्वरमा , सुनिराखेको छु । हामी एकदमै अप्ठेरो अवस्थामा छौँ ।

सेना : नआत्तिनुहोस् हामी उद्दार गर्न आइसकेका छौँ । तपाईले कति दिन भयो पानी पिउन नपाउनु भएको ? तपाई नजिक अन्य कति जना हुनुहुन्छ ? (आदि इत्यादी कुरा सेनाले सोध्छ ।

घाइते : पानी खान पाएका छैनौँ । हामी दुई जना यहाँ घाइते अवस्थामा छौँ ।

सेना : ल हामीले आवाज दिएको ठाउँलाई पहिचान गरी त्यसको २ मिटर टाढा बस्नुहोस है ।

सेनाले उद्दारका लागि आफ्नो प्रकृया सुरु गर्छ र बन्द भएको ठाउँ खुलाउन स्केलले नाप गरी त्रिभुज आकारमा रेखांकन गर्छ र सोही स्थानलाई हतियारको सहायताले काटेर आफू पस्न मिल्ने र घाइतेलाई निकाल्नपनि मिल्ने ठाउँ बनाउँछ ।

त्यसपछि सेनाले स्टेचर सहित घाइतेहरुको उद्दार गर्छ । सँगै रहेको नेपाल रेडक्रसको टिमपनि प्राथमिक उपचारका लागि तयारी अवस्थामा रहेको हुन्छ । सो टोलीले प्राथमिक उपचार गरिसकेपछि साइरन सहितको एम्बुलेन्सको सहायतामा थप उपचारका लागि विभिन्न अस्पतालमा पठाउँछ ।

भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले चितवन पनि भूकम्पको उच्च जोखिमममै रहेको हुनाले यसबाट कसरी बचाउन र बच्न सकिन्छ भन्नेबारेको ज्ञान हुन जरुरी भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भूकम्पीय सुरक्षामैत्री भवनहरु मात्रै निर्माण गर्न जोड दिए । त्यसको कार्यान्वयनका लागि जिल्ला समन्व समितिबाट खेल्नुपर्ने भूमिका आफूले निभाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।  कार्यक्रममा नेपाली सेना,शसस्त्र, नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीयहरुको उपस्थिती रहेको थियो । हरेक वर्षको माघ २ गते नेपालमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरीन्छ ।

 

स्मरण रहोस्, भूकम्पीय हिसावले जोखिम मानिएको चितवन जिल्लामा गत २०७२ सालमा गएको भूकम्पमा ७ हजार ८ सय ६६ घरमा क्षती पुगेको थियो ।

  • प्रकाशित मिति : माघ २, २०७७, शुक्रवार ०८:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८