• चैत १६, २०८०, शुक्रवार Friday, 29 March, 2024

कुनै बेलाको डम्पिङसाइड, अहिले बन्यो पुष्प वाटीका


कुनै बेलाको डम्पिङसाइड, अहिले बन्यो पुष्प वाटीका

उ बेलामा गाडी रोकेर शौच गर्दै हिँड्ने चालक र यात्रुहरु अवका दिनमा सोही स्थानमा सेल्फि खिचेर हिँड्नेछन् ।

केपी शर्मा– माघ १, २०७७
चितवन । २०५९/०६० ताका यो पंक्तिकार चितवन काठमाण्डौ यात्रा गर्दा रामनगरमा चिया खाजा खाने गर्दथ्यो ।

पंक्तिकार मात्रै होइन त्यो बाटो भएर काठमाण्डौ पोखरा, गोरखा, तनहुँ लगायतका ठाउँमा यात्रा गर्ने यात्रुहरुलाई खाना खुवाउन समेत रोकिन्थ्यो र अहिले पनि रोकिन्छ ।

जुन बेला सडकका छेउछाउमा सार्वजनिक शौचालयहरु बनेकै हुँदैनथे । त्यो बेला भरतपुर १ स्थित सतनचुली सामुदायिक वन रामनगरको सानो जंगल नै यात्रुहरुलाई शौच गर्ने थलो बनेको थियो ।

यो क्रम लामोसमय सम्म चलिरह्यो । त्यही ठाउँ आज आएर पुष्पवाटीकाको रुपमा उद्घाटित समेत भयो ।

कसरी बन्यो त पुष्प वाटीका ?

रामनगर बाक्लै बस्ती भएको ठाउँ हो । एकताका त व्यापारिक हवकै रुपमा परिणत भइसकेको थियो । जव कोभिड १९ को संक्रमण सुरु भयो तव देशनै सुनसान हुन थालेको अवस्थामा रामनगर खुल्ने कुरै भएन ।

केही काम नभएपछि रामनगरमा भएका केही व्यक्तिहरुको समूहले सोही स्थानको सडकमा अलपत्र परेका पैदलयात्रुहरुलाई खाना खुवाउने काम गर्यो । यति गर्दागर्दै सो समूहलाई सामाजिक कार्यप्रति आफू उत्तरदायित्व बहन गर्ने समुदायमा परिणत हुने कल्पना समेत पलाएको अहिले तयार गरिएको रामनगर पुष्प वाटीकाका संरक्षक एवम समाजसेवी तारा कुँवरले बताए ।

हुनत यस स्थानलाई हरियाली पार्क नै बनाउने सोचाई २०६९ सालदेखिकै भएको उनले बताए । तर समय नमिल्दा सवै आफ्नै काममा व्यस्त रहदा कामले गति लिन सकेको थिएन । जव कोभिड १९ मा फुर्सदिला बनेका रामनगरवासीले उक्त स्थानलाई पूर्णता दिने निधो गरे ।

त्यहीबेला देखि उनीहरुले रामनगरको उक्त शौचालय तथा डम्पिङ साइड बनेको जग्गालाइ एउटा आकर्षक पार्क बनाउने योजना बुने । सोही अनुसार पुष्प वाटीकाले आकार लियो ।

विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगमा लगभग १६ लाख ५० हजारमा निर्माण गरिएको उक्त पुष्पवाटीकाको आज उद्घाटन समेत गरिएको छ । उद्घाटनमा प्रमुख अतिथि रहेका पूर्व डिआइजी ज्ञानेन्द्र विक्रम महतले वाटीकालाई राष्ट्रियस्तरमा रुपान्तरित गर्न सहयोग गर्ने बताए । उनले भने,“मेरो पालामा मौलाकालिकामा पनि धेरै काम भयो । अव रामनगरको यही वाटीका लाई सहयोग गर्नेछु । ”
अहिलेसम्म दाताहरुबाट १२ लाख ५० हजार रुपैया सहयोग प्राप्त भएको छ भने बाँकी ४ लाख उधारोमै चलेको कुँवरको भनाई छ ।

कुँवर आफैले पनि सुरुमै १ लाख सहयोग गरेका थिए भने पछि बुबा आमाको नाममा करिव ३ लाख बरावरको सानो र ठूलो गरी ३ वटा वाटर फाउण्टेन समेत उनलै बनाइदिए ।

अहिले उक्त स्थानमा बाल उद्यान, लिँङ्गे पिङ, वारपार गर्ने पुल, हरेक रुखमा कलात्मक चित्र, आकर्षक प्रवेशद्धारा छन् । साथै प्रवेश गर्नेवित्तिकै बुद्ध मुर्ति र गरुढको मुर्ति देख्न सकिन्छ । वाटिका भित्र शौचालय चाँडै नै निर्माण गरिने योजना रहेको उनले सुनाए ।

अहिले प्रवेश निःशुल्क भएपनि निर्माणकार्य पूर्णरुपमा सम्पन्न भएपछि १० देखि १५ रुपैयासम्म टिकट शुल्क राख्ने की भन्ने हाम्रो छलफल भइरहेको छ , उनले भने।

जनस्तरबाट साँढे १२ लाख रुपैया सहयोग प्राप्त हुँदा स्थानीय सरकार महानगर र वडाले मौखिक आश्वासन मात्रै दिएको उनीहरुको गुनासो छ । वडानम्वर १ ले १ लाख ६० हजार, महानगरले ५ लाख रुपैया दिने आश्वासन पाएको लामो समय हुँदापनि निकाशा नहुँदा बजारमा रहेको ४ लाख बढि वक्यौता तिर्न कठिन भएको छ । जसले गर्दा अव बाँकी रहेको निर्माणकार्य गर्नका लागि अप्ठेरो हुने कुँवरले बताए ।

बिहीबार उद्घाटन कार्यक्रममा बोल्ने सवै वक्ताहरुले वाटीका निर्माणमा सहयोग गर्ने बताएका छन् । कार्यक्रम रामनगर पुष्टवाटीका निर्माण समितिकी अध्यक्ष देवकुमारी लामिछानेको सभापतित्वमा भएको थियो । सो अवसरमा आर्थिक, जिन्सी सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

तस्बिरमा रामनगर पुष्पवाटीका

   

 

  • प्रकाशित मिति : माघ १, २०७७, बिहीवार ०९:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८