• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

देवघाटधाम : ‘कोरोना कहर, स्नान गर्ने रहर’ (फोटो फिचर)


देवघाटधाम : ‘कोरोना कहर, स्नान गर्ने रहर’  (फोटो फिचर)

कोरोनाको महामारी नसकिदा र देवघाट क्षेत्र विकास समिमतिले समेत भीडभाड नगर्न अनुरोध गर्दागर्दै पनि भक्तजनहरुको घुँइचो थियो ।

केपी शर्मा– माघ १, २०७७
चितवन । आज माघे संक्रान्ति । प्रसिद्ध धार्मिक तीर्थ स्थल देबघाट धाममा स्नान गर्ने भक्तजनहरुको प्रसस्तै भीडभाड थियो ।
कोरोना कहरकावीच पनि देवघाटन क्षेत्र विकास समितिले बजार मेला बाहेक स्नानमात्रै गर्न अनुमति दिएको थियो । सोही उद्देश्यले चितवन लगायत आसापासका जिल्लाहरुबाट आउने भक्तजनहरुको घुँइचो लागेको थियो । मेलाबजार बन्द गरेपनि भक्तजनहरुको भीड लाग्नुले धार्मिक आस्थाप्रति लगाव रहेको प्रष्ट बुझ्न सकिन्थ्यो । कावासोतीका रामलाल सापकोटा विहान पाँच बजेनै देवघाट तनहुँ र चितवनको संगमस्थल बेणीमा स्नान गर्न आइपुगेका थिए । उनीमात्रै होइन उनीसँग गाडी रिजर्भ गरेरै जम्बो टोलीनै आएको थियो ।
यस्तै इच्छाकामनाका ६२ बर्षीय श्याम बहादुर गुरुङ पनि स्नान गर्दैगर्दा वेणीमा भेटिए । परिवारको साथमा आएका उनी माघे संक्रान्तिमा देवघाट स्नान गरेपछि मोक्ष प्राप्ती हुने आफ्नो विश्वास सुनाउँदै थिए ।
बनेपाका नवराज श्रेष्ठ दम्पती अघिल्लै दिन साँझदेखि देवघाट धाममा आइ बसेका थिए । उनी यो पटक मात्रै होइन करिव १५ बर्ष लगातार आइरहेको बताए ।
भक्तजनको भीडभाड बढेसँगै चितवनतर्फबाट तनहुँ जाने झोलुङ्गे पुलमा अत्याधिक मात्रामा मानिसहरुको आवतजावत थियो । सो आवतजावतलाई केही सहज गरेको थियो नारायणीमा संचालित र्याफ्टीङले । करिव १ दर्जन बढि र्याफ्टीङ डुँगाले धेरै भक्तजनहरुलाई वारपार गराइरहेको थियो । विशेषत भक्तजनहरु संगममै स्नान गर्ने परम्परा रहेकाले पनि पारीनै जाने गर्दछन् । यात्रुहरु धेरै रहेकाले र्याफ्टीङमा आउनेजाने धेरै थिए । मापदण्ड पालना गर्न पटक पटक आग्रह गर्दापनि पालना कम भएको थियो ।
स्नान गर्न मात्रै होइन विभिन्न पूजा आज, दान दक्षिणा र ब्रतबन्ध लगायतका कार्यहरु गर्न समेत भक्तजनहरु आएको देख्न सकिन्थ्यो । पवित्र तीर्थस्थल देवघाटको वेणीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्यास आश्रमका पीठाधीश ज्ञानानन्द सरस्वती, गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरीसहित सन्तमहन्त, वटुकलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला भएर विधिवतरुपमा लिङ्गोसहित यात्रा वेणीमा पुगेको थियो ।

चिसो मोसम भएका कारणले सदाजस्तै यस वर्ष पनि विभिन्न सामाजिक संघ संस्थाहरुले निशुल्क चिया तथा खाजाको व्यवस्था समेत गरेका थिए । कोरोनाको संक्रमण कायमै रहेको भन्दै देवघाट क्षेत्र विकास समितिले भक्तजनसामु सामाजिक दूरीको अपेक्षा गर्दै माइकिङ गरिरहेको सुनिन्थ्यो ।

वारीदेखि पारीसम्मको गतिविधि तस्बिरमा

  • प्रकाशित मिति : माघ १, २०७७, बिहीवार ०७:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८