• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

आफ्नै प्रदेशमा ओली कमजोर

  • खवरदाता

आफ्नै प्रदेशमा ओली कमजोर

पौष २७, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी ओलीको अवस्था आफ्नै प्रदेशमा खस्किएको आङ्कलन गरिएको छ ।

भूगोलका आधारमा प्रदेश १ मा १४ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेको १ महानगरपालिका कमिटी सक्रिय छन् । ती जिल्लामा केन्द्रीय कमिटीबाट तोकिएको जिल्ला इन्चार्जमा प्रचण्ड नेपाल पक्षको बाहुल्यता रहेको छ ।

यसरी जिल्ला इन्चार्ज तोकिएका केन्द्रीय सदस्य मध्य खोटाङका विशाल भट्टराई मात्र प्रष्ट ओली समूहमा लागेका छन् ।

यसै गरी, प्रदेश नं १ को प्रदेशको कमिटीमा पनि ओली पक्ष ज्यादै कमजोर देखिएको छ । प्रधानमन्त्री ओली पक्षले केन्द्रीय सदस्य थप गर्नु अघिको अवस्थामा प्रदेश १ बाट नेकपा केन्द्रीय कमिटीमा रहेका ६२ जना मध्य प्रचण्ड–नेपाल पक्षमा ४२ जना तथा ओली पक्षमा २० जना रहे ।

ओली पक्षमा उभिएका प्रदेशका केन्द्रीय कमिटीका नेताहरूमा सुवास नेम्वाङ, प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, प्रदेश सहइञ्चार्ज समेत रहेका मुख्यमन्त्री शेरधन राईलगायत छन् । प्रदेशका जिल्ला इन्चार्जमध्ये जम्मा एक जना खोटाङका विशाल भट्टराई मात्रै ओली पक्षमा छन् । अन्य केन्द्रीय सदस्यहरूमा भानुभक्त ढकाल, हिकमत कार्की, शिवमाया तुम्बाहाम्फे, विनोद ढकाल, गुरु बराल, राजेन्द्र गौतम, तैयव हुसेन र डम्बरसिंह सम्बाहाम्फे छन् ।

जिल्ला सहइञ्चार्जको जिम्मेवारीमा रहेकामध्ये भगवती चौधरी (सुनसरी), विजय सुब्बा (तेह्रथुम), मञ्जु चौधरी (उदयपुर), अइन्द्रसुन्दर नेम्वाङ (पाँचथर), देवेन्द्र दाहाल र हरि राजवंशी (झापा) जगदीश कुसियैत (सुनसरी) ओली पक्षमा रहेका छन् ।

१४ वटा जिल्ला अध्यक्षमध्ये ओली पक्षमा ७ जना खुलेका छन् । इलाम अध्यक्ष राम राना, राजेन्द्र राई (धनकुटा), राजकुमार भण्डारी (पाँचथर), चिन्तन पाठक (झापा), ऋषि केश पोखरेल (मोरङ), प्रेमकुमार राई (भोजपुर) र सोलुखुम्बुका अध्यक्ष मानवीर राई र विराटनगर महानगरका अध्यक्ष सागर थापा ओली समूहमा छन् । यस्तै, जिल्ला सचिवमध्ये ओखलढुङ्गाका मोहन श्रेष्ठ र खोटाङका राम दंगाल ओली समूहमा लागेका छन् ।

प्रधानमन्त्री ओलीकै गृह जिल्लामा पनि उनको समूह अल्पमतमा रहेको छ । झापामा १ सय ७७ सदस्सीय जिल्ला कमिटीमध्ये १ सय २४ जना प्रचण्ड नेपाल समूहमा उभिँदा ओली समूहमा ५३ जना मात्रै छन् ।

प्रदेश १ मा प्रचण्ड–नेपाल समूहमा झलनाथ खनाल, योगेश भट्टराई, राम कार्की, जगन्नाथ खतिवडा, पेशल खतिवडा, अजम्बर राई काङमाङ, जीवन घिमिरे, टङ्क आङबुहाङ लगायतका केन्द्रीय नेताहरू रहेका छन् । यो समूहमा प्रदेश इन्चार्ज भीम आचार्य, सहइञ्चार्जहरु सावित्रीकुमारी काफ्ले र नरेश खरेल, सचिव सुरेश किराँती प्रचण्ड–नेपाल पक्षमा रहेका छन् ।

प्रदेशका १४ मध्ये १३ जिल्ला इन्चार्ज प्रचण्ड–नेपाल समूहमा उभिएको दाबी समूहले गरेको छ ।
प्रचण्ड–नेपाल समूहमा उभिएका जिल्ला इन्चार्जमा भास्कर काफ्ले (ताप्लेजुङ), इन्द्रबहादुर आङ्बो (पाँचथर), धिरेन्द्र शर्मा (इलाम), रविन कोइराला (झापा), घनेन्द्र बस्नेत (मोरङ), धर्म निरौला (सुनसरी), राजेन्द्र कुमार राई (सङ्खुवासभा), यज्ञराज सुनुवार (ओखलढुङ्गा), बलदेव चौधरी (उदयपुर), हेमराज भण्डारी (धनकुटा), जयन्ती राई (तेह्रथुम), सुदन किराँती (भोजपुर) र हेमकुमार राई (सोलुखुम्बु) रहेका छन् । विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डल पनि प्रचण्ड–नेपाल समूहमा छन् ।

पार्टीका सहइञ्चार्जमध्ये प्रचण्ड–नेपाल समूहमा धर्मशीला चापागाईँ (झापा), पासाङ शेर्पा र तिलकुमार मेयाङ्बो (ताप्लेजुङ), महेश रेग्मी, देउमान सम्बाहाम्फे र गोपी अछामी (मोरङ), एकचन्द्र बराल, मोहम्मद महुज अन्सारी र रामकुमारी चौधरी (सुनसरी), दुर्गा चापागाईँ (तेह्रथुम), राजेन्द्र कार्की (सङ्खुवासभा), रामकुमार राई, दुर्गा जयन्ती राई, राजन राई र समिता कार्की (खोटाङ) र हरिबहादुर राई (भोजपुर) रहेका छन् ।

प्रचण्ड–नेपाल समूहका जिल्ला अध्यक्ष विजय वनेम (ताप्लेजुङ), योगेन्द्र मण्डल (सुनसरी), देवान चाम्लिङ (खोटाङ), मोहनकुमार खड्का (ओखलढुङ्गा), विनोद कटुवाल (उदयपुर), लछुमन तिवारी (तेह्रथुम) र हेमराज घिमिरे (सङ्खुवासभा) रहेका छन् ।

प्रदेशका १४ जना जिल्ला सचिवमध्ये १२ जना प्रचण्ड–नेपाल समूहमा छन् । बलबहादुर साम्सोहाङ (ताप्लेजुङ), रमेश बस्नेत (सुनसरी), ईश्वरमणि राउत (उदयपुर), होम जवेगु (पाँचथर), सोममाया राई (इलाम), मणिकुमार साम्पाङ (झापा), ऋषिराम ढुङ्गाना (धनकुटा), इन्द्रबहादुर इम्सुङ (तेह्रथुम), कृष्ण याख्या (सङ्खुवासभा), विमल खड्का (भोजपुर,) गोम्बु शेर्पा (सोलुखुम्बु) रहेका छन् भने विराटनगर महानगर सचिव हेम कार्की पनि प्रचण्ड–नेपाल समूहमा रहेका छन् ।

त्यसो त एमालेको नवौँ महाधिवेशनमा समेत ओली पक्ष पूर्वाञ्चलमा कमजोर देखिएको थियो । पछि माओवादीसँग पार्टी एकता भए पछि दाहाल नेपाल एका तीर ओली अल्पमतमा पर्नुलाई स्वभाबिक मानिएको छ ।

  • प्रकाशित मिति : पुस २७, २०७७, सोमवार १२:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८