• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

राष्ट्रिय सभाको अधिवेशन अन्त्य

  • खबरदाता

राष्ट्रिय सभाको अधिवेशन अन्त्य

पौष २६,२०७७

चितवन । राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पौष १७ देखि शुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्यको लागि पठाएको पत्र पढेर सातौँ अधिवेशन आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने बताए । अधिवेशन जम्मा दश दिन चालु भएर अन्त्य भएको हो । यस अधिवेशनमा जम्मा ४ वटा मात्रै बैठकहरू भए ।

सातौँ अधिवेशनमा संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७७, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७७, औषधि तेस्रो संशोधन अध्यादेश २०७७, यौनिक हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ गरी ७ वटा अध्यादेश सभामा पेस भएका थिए ।

अधिवेशन अवधिभरमा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा वक्तव्य दिएका थिए भने राष्ट्रिय सभा अध्यक्षले जारी गरेको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश २०७७ सर्वसम्मत समितिबाट अनुमोदन भएको थियो ।

त्यसै गरी राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनीत गरिएको थियो भने मधेसी आयोगको वार्षिक प्रतिवेदन २०७६र०७७ र थारु आयोगको वार्षिक प्रतिवेदन २०७६ र ०७७ सभा समक्ष पेस भएको थियो ।

दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६ र ०७७ र विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६ र ०७७ सभा समक्ष पेस भएका थिए ।

सातौँ अधिवेशनमा प्रतिनिधि सभा सदस्यहरू सानु शिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र राममान श्रेष्ठ, संविधान सभा सदस्यहरू भिमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधि सभाका पूर्व सदस्य ओमकार प्रसाद गौचन र वीर बहादुर लामा र २०६३र०६४ को अन्तरिम व्यवस्थापिका संसद्को पूर्व सदस्य कमानसिंह लामाको निधनको शोक प्रस्तावहरू पारित गरिएका थिए ।

  • प्रकाशित मिति : पुस २६, २०७७, आइतवार १०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८