• फागुन ६, २०८१, मंगलवार Tuesday, 18 February, 2025

सविधान भत्काएर काँग्रेस चुनावमा जाँदैन : डा मिनेन्द्र रिजाल


सविधान भत्काएर काँग्रेस चुनावमा जाँदैन : डा मिनेन्द्र रिजाल

पौष २५, २०७७
चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर कुनैपनि हालतमा काँग्रेस चुनावमा नजाने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यातेर संसद भंग गर्दै चुनावको घोषणा गरेपछि त्यसको विरोधमा नेपाली काँग्रेस प्रदेश सभा कार्यसमिति क्षेत्रनम्वर १ ख चितवनद्धारा रत्ननगरमा आयोजित विरोध सभामा रिजालले सो कुरा बताएका हुन् ।

संविधानको अपव्याख्या गर्दै प्रधानमन्त्री ओलीले चुनावको नाटक गरेको उनको आरोप थियो । ओलीलाई २९८ धारा भन्दा अरु कुनैपनि कानूनका धारा थाहा नभएको उनले जिकिरे गरे । उनले भने,“प्रत्येक ठाऊँमा ओलीले २९८ धाराको मात्रै व्याख्या गरेकाले यो कुरा प्रष्ट हुन्छ की उनलाई संविधानको बारेमा केही पनि थाहा छैन ।”
“उनले चुनाव गराउन चाहेकै होइनन् । कसैको इसारामा चलिरहेका ओलीले केही समयपश्चात गणतन्त्र कसैलाई बुझाउँदैछन् । त्यही गणतन्त्र पुन जोगाउन कोरोना महामारीवीच रत्ननगरको यो सडकमा हामी अहिले कराइरहेका छौँ । ”, उनले भने ।

ओलीले चुनाव गराउन चाहेका हुन् भने चुनावको घोषणासँगसँगै आफ्नै पार्टी किन फुटाउँथे ? उनको प्रश्न थियो । ६६ वर्षको लामो संघर्ष र हजारौँको बलिदानबाट प्राप्त भएको गणतन्त्रलाई ओलीले सनकको भरमा सक्न खोज्दा काँग्रेस चुप नलाग्ने उनको भनाई थियो । संविधान बचाउन हामी सडकमा संघर्षरत छौँ।

ओलीले वर्तमान संविधानलाई सुरु देखिनै चुनौति दिन थालेको उनको भनाई छ । “काँग्रेसको विरोध हुँदा हुँदैपनि एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नपाईने कानुनी व्यवस्थालाई कुल्चदै एक कम्युनिष्टबाट सभामुख र अर्को कम्युनिष्टबाट उप सभामुख बनाएर उनले आफू कानून भन्दा माथि छु भन्ने छनक त्यहीबेला देखि दिन थालेका थिए ।”

भरतपुरको हाकीमचोकमा आयोजित काँग्रेसको विरोध सभा

‘ओली हिटलर भन्दा पनि खतरा भए । त्यसैले त हामीलाई सजिलो छ हिटलरलाई जनताले सडकबाटै लखेटेका थिए । हामी पनि अहिले सडकममै छौँ । त्यति मात्रै होइन अमेरिकामा संसद र कानून नमान्ने र हार स्वीकार गर्न नसक्ने ट्रम्पलाई जनताले कस्तो दनक दिए यदी चुनाव भयो भने अ‍ोलीको हालत अर्को हुनेछैन ।’
आउँदो चुनावमा सवै कम्युनिष्टहरुलाई एक ढिक्का बनाएर चुनावमा पराजित गराउने काँग्रेसको धोको रहेको उनले बताए ।

ओलीलाई सत्तामा पुर्याएको प्रति असन्तुष्टि व्यक्त गर्दै ओली इतरका नेताहरुलाई उनले भने,“आलु रोपेको ठाउँमा आलुनै फल्ने हो स्याउको आशा गर्नु महा मुर्खता हुन्छ । ओली पनि तिनै आलु हुन त्यही नै फल्यो । आश्चर्य मान्नुपर्ने कुरा केही पनि छैन । ”

काँग्रेस चितवनले केन्द्रीय समितिको निर्देशन अनुसार शनिवार चितवनका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध सभा गरेको हो ।

चितवनको चनौली, शिवनगर, हाकिमचोक, राप्तीमा पनि विरोध सभाहरु आयोजना गरिएको थियो ।उक्त सभाहरुमा बोल्ने वक्ताहरुले असंवैधानिक तरिकाले घोषणा गरिएको चुनावमा काँग्रेस नजाने भन्दै ओलीलाई सडकबाटै घुँडा टेकाइने बताएका थिए । 

  • प्रकाशित मिति : पुस २५, २०७७, शनिवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८