राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको जमातलाई स्कर्टिङ गर्ने प्रहरी प्रशासनले धार्मिक आस्थाका भक्तजनहरुलाई कोरोना फैलन्छ भन्दै मेला भर्न नआउनु भनेर गरेको उर्दीलाई हामीले कसरी बुझ्ने ?
केपी शर्मा, पौष २२, २०७७
देवघाट । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा यो वर्ष मकरसंक्रान्तिमा मेला भर्न नपाइने भएको छ ।
देवघाट क्षेत्र विकास समिति र सुरक्षा निकायसहितको संयुक्त बैठकले यो निर्णय गरेको हो । कोभिड १९ को संक्रमण अहिले सम्म पनि अन्त्य नभईसकेको अवस्थालाई मध्यनजर गर्दे यो निर्णय गर्नुपरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरले बताए । उनले भने,“हामीले सकेसम्म श्रद्धालु भक्तजनहरुलाई नआउन भनेका छौँ । आइहाले पनि स्नानमात्रै गर्ने उद्देश्य लिएर आउनलाई अनुरोध गरेका छौँ । ”
उनका अनुसार गतवर्षको जस्तो अघिल्लै दिन राति देखि भरिने बजार मेलालाई भने पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको हो ।
अहिले सम्मको तथ्याङ्क हेर्दा माघे संक्रान्तिको दिनमा मात्रै स्वदेश र भारतका विभिन्न स्थानबाट लगभग ५ लाख भक्तजनले मेला भर्ने गरेको देखिन्छ । त्यतिधेरै भक्तजनलाई स्वास्थ्य मापदण्ड पालना गराउन कुनै हालतमा पनि नसकिने भएकाले यो निर्णय गर्नुपरेको बताए ।
क्षेत्रविकास समितिको उक्त बैठकमा तनहुँका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको पनि उपस्थिती रहेको थियो ।
पछिल्लो समय सरकारले बन्द रहेका विद्यालय र सिनेमा घरहरु संचालन गर्ने अनुमति दिइसकेको अवस्थामा धार्मिक स्थलमा आउने भक्तजनलाई चाहिँ मेला भर्न किन रोक्नुभएको भन्ने प्रश्नमा तनहुँका प्रहरी जिल्ला अधिकारी सागर आचार्यले भने,“यो भनेको २/४ हजार मानिसको भीडभाड हुने जस्तो मात्रै होइन । सहज परिस्थितीमा कम्तिमा ५ लाख भक्तजनहरु उपस्थित हुन्छन् । त्यसले गर्दा कोभिड १९ को संक्रमण अत्याधिक बढ्न सक्छ । त्यही कारणले यो निर्णय गरिएको हो ।”
यता जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले स्नान गर्न आउनेहरुका लागि सम्पूर्ण सुरक्षाको तयारी भइसकेको बताए । उनले भने,“डीएसपीकै कमाण्डमा सुरक्षा व्यवस्थाका लागि १३५ प्रहरी तनहुँबाट मात्रै परिचालन गरिनेछ ।”
उनका अनुसार मेलाका नाममा बजार लगाउन नपाइने निर्णय भएको छ । सुरक्षाकर्मीहरु प्रत्येक चोकमा तैनाथ गरिनेछ ।यसपाली त्रिवेणी संगममा हामीले विशेष सुरक्षाको प्रबन्ध मिलाएका छौँ जसले गर्दा अप्रिय घटना नघटोस् ।
यता क्षेत्रविकास समितिको निर्णयप्रति जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले पनि आफ्नो ऐक्यवद्धता जनाउँदै सोही अनुरुप गर्ने गराउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने,“समितिले नै यस पालि हामी धान्न सक्दैनौँ भनेपछि सोही अनुरुप गर्न भनेका हौँ। ”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८