• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

पुल्चोक गोन्द्राङ सडकखण्डमा डोजर चलाउन सुरु


पुल्चोक गोन्द्राङ सडकखण्डमा डोजर चलाउन सुरु

यसअघि निर्माण सुरु गरिएको भरतपुर वाइपास सडक खण्डको अवस्था अहिले पनि जहिँको तहीँ र जिर्ण रहनुले पुल्चोक गोन्द्राङ सडकखण्डको अवस्था त्यस्तै होलाकि भन्नेमा आमनगरवासीको आशंका छ ।

केपी शर्मा,  पौष १७, २०७७
भरतपुर । सम्झौता मितिले २८ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सम्झौता भएको पुल्चोक गोन्द्राङ सडकखण्डमा निर्माण कम्पनीले डोजर चलाउदै आफ्नो कामलाई तिव्रता दिएको छ।

इण्डो सगुन जेवी कम्पनीले निर्माणको जिम्मा लिएको उक्त ६ किलोमिटर सडक खण्ड ६ लेनकै निर्माण गरिनेछ । जसमा सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लेन छुट्याइने छ । जसमध्ये गाडी गुड्ने दुवैतर्फगरी कुल १९ मिटरको सडक हुनेछ । त्यस्तै दुवैतर्फ गरी ११ मिटरको सर्भिस लेन (लोकल सवारी साधनका लागि ) बनाइनेछ भने बाँकी दुवैतर्फ करिव ४ मिटरको फुटपाथ रहने सडक डिभिजनको डिजाइनमा उल्लेख छ ।

निर्माण कम्पनीले सडकखण्डको गोन्द्राङतर्फबाट आफ्नो निर्माण कार्य सुरु गरेको छ । उक्त कम्पनीले सडकखण्डको जुन भाग खुल्ला छ अर्थात अतिक्रमण भएको क्षेत्र बाहेकमा आफ्नो कामलाई तिव्रता दिइरहेको छ । अहिले कोक फ्याक्ट्री अगाडि करिव १ सय मिटर पर्खाल लगाइसकेको छ भने मिलन चोक क्षेत्रमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ ।

उक्त सडक खण्डमा रहेका अवरोधहरु समयमै हटाउन सकिएमा २८ महिना अगावै सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ । अहिले उक्त सडकखण्डमा ६५७ वटा विजुलीका पोलहरु हटाउनुपर्ने सडक डिभिजन कार्यालय भरतपुरका सुचना अधिकारी ई.शिव खनालले बताए ।

उनका अनुसार १७५ वटा रुखहरु हटाउनुपर्ने छ । ती मध्ये २६ वटा सालका रुख गोन्द्राङ क्षेत्रमा रहेका छन् भने पाँच वटा विरेन्द्र क्याम्पस अगाडि छन् । अन्य अरुनै प्रजातिका रुखहरु रहेका छन् । (हटाइनुपर्ने रुखकको गणना ३० सेन्टिमिटर भन्दा ठूलो गोलाई भएकालाई लिइन्छ ।)

३७५ वटा टेलिफोनका पोलहरु रहेका छन् भने २२ वटा टेलिफोनकै वुथहरु छन् । हटाइनुपर्नेमा ४७ वटा होर्डिङ बोर्डहरु पनि परेका छन् । यस्तै खानेपानीका पाइपहरु पनि उत्तीकै छन् । उक्त सडकखण्डमा हटाइनुपर्ने घरको एकीन विवरण भने आइनसकेको सूचना अधिकारी खनालले जनाए । उनले भने,“अवको पाँच सात दिनभित्रमा भत्काइनुपर्ने घरको पनि एकीन हुनेछ ।” विशेषगरेर चौविसकोठी र विमानस्थल अगाडि रहेका धेरै घरहरु हटाउनुपर्ने देखिन्छ ।

यता निर्माण कम्पनीका फिल्ड सर्भेयर इश्वर नेपालका अनुसार कम्पनीले तिव्र गतिमा निर्माण कार्यलाई अगाडि बढाएको छ । सम्वन्धित निकायहरुले समयमै सडकमा रहेका अवरोधहरु हटाइदिएमा निश्चित समयमा काम सम्पन्न गर्ने उनको दावी छ ।

अहिले पहिलो चरणमा सडकको दुवैतर्फ मेशीनरीवाल लगाउने काम भइरहेको छ । कम्पनीले १ सय मिटर वाल लगाइ सकेको जनाएको छ । मिलन चोकमा रहेको गहिरो भागलाई सडकको सतहसँग मिलाउने काम धमाधम भइरहेको छ । कम्पनीले ५०/६० जना कामदार राखेर निर्माण कार्यलाई तिव्रता दिएको छ । यसपछि कल्भर्ट निर्माणको काम गरिने सर्भेयर नेपालको भनाई छ । उनका अनुसार सँगसँगै ड्रेनको पनि काम अगाडि बढाइने छ । तर ड्रेनकै काम गर्ने ठाउँमा विजुलीको पोल भएकाले काम सुरु गर्न सकिएको छैन, उनले भने ।

कम्पनीले विद्युत प्राधिकरण र नेपाल टेलिकमलाई पोलहरु यथाशिघ्र सारिदिन निवेदन गरिसकेको छ । अवरोध हटेमा सम्पूर्ण सडकको काम एकैचोटी हुनेछ । नत्र तीन वटा चरणमा काम गर्नुपर्ने वाध्यता हुन सक्ने नेपालले बताएका छन् । सम्पूर्ण अवरोध नहटेमा पहिलो चरणमा गोन्द्राङदेखि बसर्पाक सम्म, दोस्रो चरणमा बसपार्क देखि चौविस कोठीसम्म र चौविकोठीबाट पुल्चोकसम्मलाई तेस्रो चरणमा सडक निर्माण गर्नुपर्ने हुनसक्छ, उनले भने ।

महानगरभित्र बर्खायाममा निकास नभएर डुवान पर्ने समस्यालाई मध्यनजर गर्दै निकासको उचित व्यवस्थापन गरिने सडक डिभिजनको योजना छ । निकासको लागि २ वटा स्थानलाई छनौट गरिएको छ । जसमध्ये चौविकोठी देखि पुल्चोकसम्मको निकासलाई लायन्सचोकको पुँगी खोलामा मिलान गरिनेछ भने चौविसकोठीदेखि गोन्द्राङ सम्मको भागको निकासका लागि केरुङ्गा खोलालाई छुट्याइएको छ ।
प्राविधिक प्रस्तावबाट १६ कम्पनी मध्ये आर्थिक प्रस्तावका लागि कम आर्थिक लागत पेश गरेको आधारमा इण्डो सगुन निर्माण कम्पनी छनोट भएको हो । अहिले दुई लेनको सडक निर्माणपछि छ लेनको हुनेछ । ६ लेन बनाउने क्रममा सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर निर्माण गरिनेछ । सम्झौता अनुसार १ अर्ब १२ करोड लागतमा उक्त सडक निर्माण सम्पन्न हुनेछ ।

तर देशको राजनीतिक अस्थिरताका कारण निर्माण भइरहेका ठूला योजनाहरु समयमै निर्माणसम्पन्न नभएको अवस्थालाई मध्येनजर गर्दा यस आयोजना पनि समयमै निर्माण सम्पन्न होला भन्नेमा नागरिकहरु विश्वस्त देखिदैनन् ।

यसअघि निर्माण सुरु गरिएको भरतपुर वाइपास सडक खण्डको अवस्था अहिले पनि जहिँको तहीँ र जिर्ण रहनुले पुल्चोक गोन्द्राङ सडकखण्डको अवस्था त्यस्तै होलाकि भन्नेमा आमनगरवासीको आशंका छ । ।

  • प्रकाशित मिति : पुस १७, २०७७, शुक्रवार १०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८