• माघ १, २०८१, मंगलवार Tuesday, 14 January, 2025

भूमाफियाको खेल : चितवनको चनौली मालपोतबाट जग्गाधनीलाइ थाहानै नदिई करोडौँको जमिन बेचियो


भूमाफियाको खेल : चितवनको चनौली मालपोतबाट जग्गाधनीलाइ थाहानै नदिई करोडौँको जमिन बेचियो

कानुनी रुपमा सम्पूर्ण प्रक्रिया पुरा गरी रजिष्ट्रेशन पास भएको उक्त जग्गा करिव ४ महिनापछि हामीलाई जग्गा विक्रि गरेको थाहा छैन भनी पीडित पक्षले भनिरहदा जग्गा विक्रि गर्ने दलाल, जग्गा किन्ने धनी, लेखनदास तथा पीडितकै आफन्तबीचको लेनदेनको कारोवार रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

केपी शर्मा, पौष १६, २०७७
चितवन । चितवनमा केही समय सेलाएको भूमाफियाको पुन चलखेल हुन थालेको छ । चितवनको चनौली स्थित मालपोत कार्यालयबाट करडौँ मूल्य पर्ने जग्गा जग्गाधनीले थाहानै नपाई पास गरिएको छ ।
भरतपुर २८ स्थित उषा दराई सहित उनको परिवारको नाउँमा रहेको करिव ४ कठ्ठा १० धुर बढी जग्गा भूमाफियाहरुले जग्गाधनीलाई थाहनै नदिई बेचिदिएका हुन् ।

जग्गा बेच्ने तयारीमै रहेका दराई परिवारले आफ्नै नाममा रहेको केरुङ्गे घोलको जग्गा विक्रि गर्नजाँदा आफ्नो नाममा रहेका साँढे ४ कठ्ठा जग्गा आफूले थाहानै नपाई विक्रि भइसकेको पत्ता पाएकी हुन् ।

जग्गा विक्रिगर्ने क्रममा मालपोत कार्यालयले लाभकरको बारेमा उनीसँग सोधपुछ गरेपछि मात्र उनले जग्गा विक्रि भइसकेको थाहा पाएको बताइन् ।

  • यस्तो थियो घटनाक्रम

उषा दराई परिवारले करिव साँढे ४ कठ्ठा जमिन ६ महिना अगाडिनै विक्रि गर्न चाहेकी थिइन् । सोही सिलसिलामा झलक हरिजन नाम गरेका भूमाफियाले जग्गा विक्रि गराइदिन्छु भनी सवै कागजपत्र लिए ।

त्यसपछि मालपोत कार्यालय चनौलीमा कागजपत्र पेश गराई रजिष्ट्रेशन तिर्ने बेलामा जग्गा किन्ने मान्छेले पुरा पैसा दिन नसकेको भन्दै केही समय रोक्नुपर्ने बताए । हरिजन पनि चिनजानकै मान्छे भएकाले उनीहरुले विश्वासमा आफूले सही छाप गरेका सम्पूर्ण कागजातहरु मालपोत कार्यालयकै हातामा रहेको ढुँगाना लेखापढी सेन्टरमा छोडेर गए । त्यसपछि उक्त जग्गा विक्रिको कुरै हरायो ।

दराईले अघिल्लो जग्गा विक्रि नभएका कारण केरुङ्गे घोलमा रहेको आफ्नो नामको अर्को जम्मा विक्रि गर्ने विचार गरिन् र सोही प्रकृयाका लागि राजीनामा पास गर्न मालपोत कार्यालय चनौली आइन् । उक्त जग्गा पास गर्ने बेलामा मालपोतका हाकीमले लाभकरको कुरा उठाएपछि उनलाई थाहा भयो की अघिल्लो पटक सहि छाप गरेर नबेचिएको जग्गा भूमाफियाले दराई परिवारलाई थाहानै नदिई उक्त जग्गा विक्रि गरिसकेछन् ।

मालपोत कार्यालय चनौलीको अभिलेखमा हेर्दा जगतपुर ५ क मा रहेको कित्ता नम्वर १४४९ को ८२० वर्गफिट क्षेत्रफलको जग्गा गएको असोज १३ गतेनै विक्रि भइसकेको देखिन्छ । त्यतिमात्रै होइन खबरमुलुकको टिमले यस सम्बन्धी कागजपत्र खोज्दै जाँदा थाहा भयो की दराईको परिवारको नाउँमा रहेको अन्य २ वटा कित्तानम्वरको जग्गा पनि विक्रि भइसकोको देखियो ।

जगतपुरकै ५ क, कित्तानम्वर १४५६ मा रहेको ४७८ वर्गफिट र जगतपुरकै ५ क , कित्तानम्वर १४६० मा रहेको २२१ वर्गफिट जग्गा पनि विक्रि भएको देखिन्छ । उक्त सवै जग्गा आँप पिपल ४ गोरखा स्थायी ठेगाना भइ अहिले भरतपुर बस्ने कमला न्यौपानको नाममा रजिष्ट्रेशन पास भएको अभिलेखमा देखिन्छ ।

पीडित दराईले सवैको मिलेमतोमा आफूलाई पीडित बनाइएको हुनसक्ने बताइन् । उनले भनिन्,“मलाई त केही थाहा छैन । म केही बुझ्दीन । जग्गा बेच्न भनेर आएका थियौँ । अन्तिममा झलक हरिजनले पैसा नपुग्ने भनेर पछि पास गर्ने भने र सम्पूर्ण कागजात पनि हरिजनले आफै राख्छु भनी हामीलाइ चाहिँ घर पठाए ।” जग्गा पासको सुसारनै भएन मलाई पैसाको खाँचो पर्यो त्यही भएर आज अर्को जग्गा बेच्न आएको थिएँ , उनले भनिन्, बल्ला पो थाहा भयो अगाडि जग्गा त बेचिखाइसकेछन् ।”
यस सम्बन्धमा हामीले जग्गा किन्ने कमला न्यौपानेका श्रीमान् कृष्ण वस्तीलाई सम्पर्क गर्दा उनले आफूले कबुल गरे बापतको सम्पूर्ण रकम बुझाइसकेको बताए । उनले भने,“मलाई जग्गा देखाउने झलक हरिजन मार्फत मैले सम्पूर्ण पैसा भुक्तान गरिसकेको छु ।” प्रमाण चाहिएमा उनले आफूसँग पैसा दिँदाको सम्पूर्ण भौचर सुरक्षित रहेको बताए ।

तर उनले सवैलाई अप्ठेरो परेको खण्डमा आफूले जग्गा फिर्ता गरिदिन तयार रहेको बताए । अव गम्भिर प्रश्न यहाँनिर छ की जग्गा किनिसकेको व्यक्तिले एकै पटकमा जग्गा फिर्ता गरिदिन्छु भन्नुले उनी पनि कतै भूमाफिया त होइनन् भन्ने प्रश्न खडा हुन्छ । साथै उनले जग्गा खरिद गर्दा जग्गाधनीलाई एक पटक पनि नभेटेको बताए । बास्तवमा उक्त जग्गा कहाँ छ सो कुराको जानकारी समेत वस्तीलाई छैन। खबरमुलुकले पैसा बुझाएको प्रमाण दिन अनुरोध गर्दा भने उनले सो कुराको इन्कार गरे ।
यता यो घटनाको मुख्य योजनाकार झलक हरिजन भएको जग्गा किन्ने कृष्ण वस्तीबाट बुझिन्छ । किनकी उनले पटक पटक गरी करोड बढी पैसा हरिजनलाई बुझाइसकेको बताएका छन् । तर उक्त पैसा पीडितले भने पाउनु त कहाँ हो कहाँ जग्गा समेत हरिजनले विक्रि गरिदिएछन् ।

यता खबरमुलुकले झलक हरिजनसँग यस बारेमा बुझ्न खोज्दा उनले धेरै समय कृष्ण वस्ती ठिक मान्छे भएको बताइरहे । हामीले सोधेको प्रश्नको सिधा उत्तर दिन सकेनन् । यहाँबाट अनुमान लाउन सकिन्छ कि कृष्ण वस्ती मार्फत उनले मोटै रकम लिइसकेका छन् ।

मालपोत कार्यालय हाताभित्रै रहेको ढुँङ्गाना लेखापढी सेन्टरले उक्त जग्गा किनबेचको कागजपत्र मिलाएको देखिन्छ । यस घटनाक्रममा आफ्नो कुनैपनि गल्ती नभएको लेखापढी गर्ने सरिता ढकाल ढुँगाना बताउँछिन् । उनी भन्छिन्,“ जग्गा बेचविखन गर्दा लेखापढीको अगाडि पैसा कारोवार गर्ने चलन छैन । हामीले त कागजपत्र मात्रै मिलाइदिने हो । अन्य प्रकृया त मालपोत कार्यालय भित्रै हुन्छ ।”

जग्गा किनबेच गर्ने प्रकृयामा लेखनदासले कागजपत्र मिलाइसकेपछि कार्यालय प्रमुखकोमा तोक लगाउन पठाइन्छ । यो पहिलो चरण हो । त्यसलगत्तै मठ भिडाउने काम हुन्छ । मठ भिडाइसकेपछि कम्प्युटरमा इन्ट्री गर्ने प्रकृया हुन्छ । जव कम्प्युटरमा इन्ट्री हुन्छ तव राजश्व बुझाइन्छ । त्यसपछि पुन कम्प्युटरमै इन्ट्री गराइन्छ र रुजु समेत गरिन्छ । त्यसपछि मात्रै अन्तिममा फाइल कार्यालय प्रमुखकोमा पुग्ने गर्दछ ।

कार्यालय प्रमुख मुकुन्द पौडेलले यसमा आफ्नो दोष नभएको बताए । उनले भने,“कोभिडको समयमा मानिसहरुको भीडभाड नहुने गरी मौखिक रुपमानै धेरै कामहरु सकाउनुपर्ने वाध्यता छ । सोही अनुसार कार्यालय भित्रनै ६ ठाउँमा कार्यासम्पन्न भई आइसकेपछि र सवै कागजपत्र सक्कली र पूर्ण भएपछि काम नक्कली हो भनेर हामीले कसरी थाहा पाउने । सवै अभिलेख हेर्दा सम्पूर्ण कामहरु कानुनसम्मत छ । जग्गा किन्नेले पैसा दिएन मलाई भनेर पनि यहाँ उजुरी गरेको देखिदैन ।”

पीडितले आफू ठगिएको जानकारी गराएपछि कार्यालय प्रमुख पौडेलले जग्गा किन्ने व्यक्तिसँग सम्पर्क गरी तुरुन्तै जग्गा फिर्ता गरिदिन आफूले भनिसकेको बताए । उनले भने,“भोलिसम्ममा जग्गा फिर्ता हुनसक्छ । ”

महानगरपालिका भित्रको मूल्यवान जग्गा भूमाफियाले जग्गाधनीलाई सुइको नदिई अर्काको नाममा विक्रि गराइनुले जिल्लामा भूमाफियाको चलखेल यथावत रुपमा रहेको बुझ्न सकिन्छ। यो घटनामा पनि जग्गा विक्रि गराउने दलाल जग्गा किन्न, सहि छाप गराउने लेखदानस सवैको मिलेमतो भएको अनुमान लगाउन सकिन्छ ।

किनकी लेखनदासलाइ जग्गा किनबेचको सम्पूर्ण कहानी थाहा थियो । तर पनि सम्बन्धित धनीलाई नसोधी कसरी जग्गा पास गराइयो ? अन्तिम समयमा कार्यालय प्रमुखले जग्गाधनीलाई तपाइले आफ्नो जग्गाको पैसा पाउनुभयो भनेर सोध्नुपर्ने नैतिकतालाई किन विर्सीए भन्ने समेत प्रश्न चिन्ह खडा हुन्छ ।

यसमा जग्गाधनीकै आफन्तको पनि मिलेमतो रहेको अनुमान गलाउन असजिलो छैन । किनकी जग्गा किन्नेले उनका आफन्तलाई पनि ९ लाख रुपैया बरावर रकम दिएको बताएका छन् । तर प्रमाण भने दिएका छैनन् ।

यता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले यदि भूमाफियाले यस्तो काम गरेको भन्ने लिखित वा मौखिक जानकारी पीडित पक्षबाट आयो भने तुरुन्तै कारवाही प्रक्रिया अगाडि बढाउने बताए ।

यस अघि पनि कालिका नगरपालिकाको पदमपुरमा एक व्यक्तिको ५० लाख पर्ने जग्गा १० हजारमै भूमाफियाले बेचिदिएका थिए ।

५० लाखको जग्गा १० हजारमा पास, दलाल फरार

  • प्रकाशित मिति : पुस १६, २०७७, बिहीवार ०७:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८